22.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

रवि प्रकरणमा प्रकट नागरिक विद्रोहको अन्तर्य

रमेश विकल

सिधाकुरा जनतासंग टेलिभिजन कार्यक्रमका सञ्चालक रवि लामिछानेलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा चितवन प्रहरीले पक्राउ गरेसंगै सामाजिक सञ्जालमा तिन खाले मतहरु प्रकट भएका छन् । केही समय अगाडिसम्म सोही कार्यक्रमसंग सम्वन्धित रहेर काम गरेका नुवाकोटका पत्रकार सालिकराम पुडासैनीले चितवन पुगेर आत्महत्या गरेको र आत्महत्या गर्नु अगाडि पुडासैनीले खिचेको भिडियोमा रविका कारण आफु आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका कारण रविलाई प्रहरीले छानविनका लागि पक्राउ गरेको थियो । रविलाई नेपाल प्रहरीले जसरी र जुन अवस्थामा पक्राउ ग–यो, त्यो आलोचना गर्न लाएक नै छ । तर अझ संवेदनशिल विषय भनेको मृतकसंग भएको मोवाइलमा भएको भिडियो प्रहरीको हातमा हुनु पर्नेमा कसरी बाहिर आयो भन्ने हो । गतवर्ष निर्मला पन्तको हत्या प्रकरणमा गरेको गल्तीबाट प्रहरीले पाठ सिक्न खोजेको देखिएन, यस पटक पनि । यसका कारण प्रहरीमाथि आम मानिसमा अविश्वास पैदा भएको छ । संसारमै अपराध अनुसन्धानमा सक्षम भनिएको नेपाल प्रहरीले किन बारम्बार यस्ता गल्तीहरु दोहो–याईरहेको छ ? बुझ्न सकिएको छैन । आशा गरौं आगामि दिनहरुमा आफ्नो छविलाई धमिल्याउने होइन उजिल्याउने काममा नेपाल प्रहरी लाग्ने छ । मैले माथि नै भनें कि रविको पक्राउ पछि तिन थरी मत सामाजिक सञ्जालमा प्रकट भएका छन् । त्यस मध्ये पहिलो हो, रवि गलत हुनै सक्दैनन् । रविले यति धेरै मानिसलाई सहयोग गरेका छन् कि उनले आफ्नो सहकर्मीलाई आत्महत्या गर्न दुरुत्साहन गर्नै सक्दैनन् । बेचिएका चेलीको उद्धार गर्ने देखि विदेशमा विभिन्न कारणले समस्यामा परेका नेपालीहरुको उद्धारमा उनको जुन भूमिका रह्यो यसले उनको असल मनलाई देखाउँछ, तसर्थ उनी अपराधि हुन सक्दैनन् । नेपालका अदालत , सरकार प्रमुख र राष्ट्र प्रमुखसंग न्यायमाग्न नगएर नागरिकहरु रविसामु न्यायका लागि जान्थे र रविपनि सकेको सहयोग गर्थे, त्यसैले रविको मनमा पाप छैन , उनी अपराधि हुन सक्दैनन् । यहि मत बोकेका अधिकांश नागरिकले चितवन लगाएत रविको पक्षमा प्रदर्शन गरिरहेका छन् । र भनिरहनु परेन यो मत बोकेका नागरिक नेपालमा धेरै छन् । उनीहरुमा राज्यका सञ्चालकहरुले रविलाई फसाउन खोजेको भन्ने बुझाई छ ।

सामाजिक सञ्जालमा प्रकट अर्काे मत हो, मानिस भएका कारण रविले गल्ती गरेका हुन सक्छन् । मृतक पुडासैनीले अन्तिम समयमा आत्महत्या गर्नुको कारण रवि भएको बताएकाले उनी माथि छानविन हुनुपर्छ, हामीले यसमा हस्तक्षेप गर्नु वा अवरोध गर्नु हुँदैन । यो मध्यमार्गी मतको रुपमा रहेको छ । जसले रविको मात्र होइन सालिकरामको परिवारको आँखाले पनि हेरेर घटनाका सम्वन्धमा प्रतिक्रिया वा मत प्रकट गर्नु उपयुक्त हुने ठान्दछ । तेस्रो मत पनि छ र त्यो हो, रवि सर्वथा गलत छन् । उनकै कारण सालिकरामले आत्महत्या गरेका हुन् ।

सामान्य नागरिको आँखाबाट हेर्दा दास्रो मतमा सहमत हुने ठाउँ धेरै छ । तर पहिलो मतमा पनि दम छ । पहिलो मतमा रविले गल्ती गर्दैनन भन्ने बाहेकको प्रकट अरु विचार सहि छन् । शोषण, उत्पिडनमा परेका नागरिकको पक्षमा , वैदेशिक रोजगारीमा जान तयार तर म्यानपावर कम्पनीबाट ठगिएका युवाको पक्षमा अनि भ्रष्टाचारका विरुद्धमा उनले जसरी आवाज उठाए, त्यो एउटा असाधारण मानिसले गर्न काम नै हो । उनकै सहयोगमा सयौं युवा ठगिनबाट जोगिएका छन्, विदेशमा बेचिएका चेलीको उद्धार भएको छ । काम गर्दै जाँदा रविले पनि गल्ती गरेका हुन सक्छन् तर असल नियतका साथ उनले धेरै काम गरेका छन् । तर यदि सालिकराम आत्महत्या प्रकरणमा कहि कतै रविको संलग्नता छ भने उनलाई पनि कारवाही हुनु पर्छ भन्नेमा चाहि कसैले विमति राख्नु हुँदैन ।

गत वर्ष निर्मला पन्तको बलात्कार पछि हत्या भयो । बलात्कारी हत्यारा अझै पत्ता लागेको छैन । प्रधानमन्त्री हत्यारा पत्तालाग्न दशक लाग्न सक्छ भन्छन् अनि मन्त्रीहरु हत्यारा पत्ता लागिसकेको बताउँछन् तर तेह्र महिना बित्दा सम्म हत्याराको अत्तोपत्तो छैन । कुनै पिडित नागरिक प्रहरीकोमा आफु पिडामा परेको गुनासो लिएर जाँदा सहयोगको साटो उपेक्षा भोगेर आउँछ । भ्रष्टाचारलाई राजनैतिक संरक्षण छ । अदालत जाउँ भने मनि र मसलले अदालती निर्णयलाई प्रभावित गर्ने गरेको देखिरहेको छ । उसले सुनिरहेको छ, हाम्रा अदालत फैसला दिन्छन्, न्याय दिदैनन् । त्यसैले आम नेपाली नागरिकमा आफुले संरक्षक ठानेको राज्यबाट न्याय पाइन्छ भन्ने विश्वास मरेको छ । यहि वास्तवमै न्याय पाईन्छ भन्ने विश्वास आम नागरिकमा मर्दाको तस्वीर चितवनमा अहिले देखिएको हो । राज्य संयन्त्र प्रतिको, न्यायलय प्रतिको यो हदको अविश्वास राम्रो संकेत होइन । सबैको बेलैमा चेत खुलोस् ।

Related posts

बैशाख एघारको सन्दर्भ-सम्पादकीय

admin

चौथो आदिवासी जनजाति महोत्सव सम्पन्न

admin

ओली गुटका नेताको कथन, प्रतिगमन रोक्न विघटन

admin