23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

सहिदको सम्मान गर्ने व्यानपाको अनुकरणीय थालनी

देशभर यो साता सहिद सप्ताह मनाइयो । वि.सं १९९७ को यही साता जहानीय राणा शासनको विरुद्ध धावा बोलेकै कारण नेपाली आमाका चार सपुतहरुलाई राणाहरुले फाँसीको सजाय दिएर उनीहरु मार्फत स्वतन्त्रता प्रेमी अरु नागरिकलाई तर्साउन खोजेका थिए । तीनै चार नेपाली सपुत गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दहरmले हालेको विद्रोहको जगमा उभिएर नेपाली नागरिकले स्वतन्त्रताको आन्दोलन गरे र २००७ साल फागुन ७ गते अत्यास लाग्दो जहानिया शासनको अन्त्य भई देशमा प्रजातन्त्रको स्थापना भयो ।

प्रजातन्त्र प्राप्तीकै क्रममा तनहुँ साविक रिस्ती गाविसमा पर्ने पुलिमराङका धर्मध्वज गुरुङले २००७ सालमा आफ्नो ज्यान आहुती गरे । यसैगरी पञ्चायतको विरुद्धमा लडेका कारण पुलिमाराङका अन्य चार जना लालध्वज गुरुङ, शमशेर गुरुङ, सर्वसिंह गुरुङ र हस्तबीर गरुङ समेतले ज्यान गुमाउनु प¥यो । यस अर्थमा तनहुको प्रजातान्त्रिक इतिहासलाई नियाल्ने हो भने रिस्तीको योगदान सर्वाधिक भएको भन्न हिचकिचाउनु पर्नै छैन बरु गर्वका साथ नाम लिन सकिने छ ।

तिनै सहिदको सम्मान स्वरुप व्यास नगरपालिकाले गत वर्षबाट प्रारम्भ गरेको अल्ट्रा म्याराथन यस वर्षबाट सहिद दिवसको अवसरमा आयोजना गर्न थालेको छ । सहिद दिवसको दिनमा उनीहरुको प्रतिमा अगाडि उभिएर प्रतिमामा फूलमाला चढाउने कर्मकाण्डी प्रवृतिबाट माथिबाट माथि उठेर नगरपालिकाले गरेको यो थालनी अनुकरणीय छ । अझ पुलिमराङलाई म्याराथनको अन्तिम गन्तव्य बनाएर नपाले प्रसंसनिय काम गरेको छ । हाल व्यास नपाको वडा नं ८ मा पर्ने पुलिमराङमा निर्मित सहिद स्मारक पार्कको आवश्यक सुधार र विकास गर्ने, समग्र पुलिमराङ क्षेत्रको पुर्वाधार विकास गर्ने, यातायातको सहज उपलब्धता गराउने तथा खानेपानी, स्वास्थ्य लगायतका सुविधा प्रदान गर्न सक्ने हो भने हेटौंडाको सहिद स्मारक पार्क जस्तै पुलिमराङ आन्तरिक पर्यटकको आकर्षणको थलो बन्न सक्छ । म्याराथनको आयोजनाले सहिदको सम्मान त भएको छ नै त्यसको प्रचार प्रसारमा पनि सहयोग पुगेको छ र पुलिमराङमा विस्तारै विस्तारै पर्यटक आवागमन बढेको छ । यो क्रमले निरन्तरता पाइरहोस् र प्रजातान्त्रिक आन्दोलनमा तनहुँको योगदानबारे सबैले जान्ने मौका पाउन अनि पुलिमराङबासीले पर्यटनको फाइदा पनि प्राप्त गर्न सकुन हाम्रो शुभाकांक्षा ।

Related posts

वित्तिय साक्षरतामा रोट्रयाक

admin

न्याय हराएको दुई वर्ष-सम्पादकीय

admin

बन्दाबन्दी खुल्यो संक्रमण बढ्यो-सम्पादकीय

admin