20.7 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

अचम

–अधिकारी, चन्द्रमणि

१) एक जना मुर्खले सय जना विद्धानहरुबाट सिक्ने कुराहरु भन्दा धेरै बढि कुराहरु सय जना विद्धानहरुले एकजना मूर्खबाट मात्र पनि सिक्न सक्छन् ।

२) अरुबाट लिएर, खोसेर भन्दा अरुलाई दिएर, पोषेर धेरै रमाइलो वा आनन्द पाउन सकिन्छ । बुझेर ल्याउदाँ, यो संसार ऐना जस्तै छ । मान्छेले आफू जस्तो छ, यो संसार पनि उस्तै देख्छ । विद्धान मान्छेले यो संसार भरि जताततै सिक्नु पर्ने, ज्ञान प्राप्त गर्न सकिने धेरै कुराहरुको खजाना देख्छ । दुष्टले भने संसारमा दुःख दिनु पर्ने, सताउनु पर्ने मान्छेहरु मात्र देख्छ । प्र्र्र्र्र्रशव वेदना खपेर पनि ‘च्याहाँँ’ सुन्ने बित्तिकै आमाको छातिबाट एकाएक दुधका धारारुपी अमृत चुहिन्छन । बच्चालाई दुध चुसाउने आमा बच्चालाई पोषक तत्व अमृतका साथसाथै आफ्नो प्राण समेत चुसाउन चाहन्छिन् । फलेका वृक्षले आफुलाई झटारो हान्नेलाई पाकेका स्वादिला र पोषक फलहरु दिन्छन् ।

३) एउटा मानिसले जे पाउन खोज्छ, त्यहि पाउँछ । अर्कालाई मुस्कान दिनेले मुस्कान नै फिर्ता पाउँछ । अरु माथि रिस पोख्नेले रिस नै फिर्ता पाउँछ । रोजाइ तपाईको हातमा छ । तपाई जे रोज्नु हुन्छ, त्यही पाउनु हुन्छ । पिर, चिन्ता, दुःख, सुख, आनन्द, मोक्ष तपाई के रोज्नुहुन्छ, तपाई त्यहि रोज्नुहोस् ।सक्नु हुन्छ भने, आफुलाई भाग्यशाली सम्झनुहोस, साक्षात् भगवानभगवति तपाई हामी सबैको साझा पितामाता हुनुहुन्छ । एकै आमाबाबुका सन्तान भएकाले विश्वका सबै मान्छे प्राणी, वनस्पति जगत अझै यसभन्दा पर संसारका सम्पूर्ण सजिव तथा निर्जीव वस्तुहरु संसार सौन्दर्यका गहनाहरु हुन् । यसकारण पनि संसारका सबै प्राणीहरु हाम्रा साख्खै दाजुभाई, दिदीबहिनी आफन्त कुटुम्वहरु हुन् । यसरी सोच्दा हामी हाम्रो संसारलाई अझै राम्रो देख्न सक्छौं ।

४) मैले यस स्तम्भको शुरुमा साभार एउटा श्लोक उद्धृत गरेको थिएँ । नमन्त्रं अक्षरं नास्ति, नास्ति मूल महौषधम् अयोग्यं पुरुषं नास्ति, नास्ति संयोजकस्तत्र दुर्लभः सही चीजको सही स्थानमा सदुपयोग गर्ने कलाकार मात्र दुर्लभ छ ।

५) म्याग्दे साहित्य समाजको गठन (२०७५।५।९) पछि म्याग्देको प्राचीन गौरव खोतल्ने क्रममा कोषाध्यक्ष सुभद्रा घिमिरेले पशुपति घिमिरेसँग सम्पर्क बढाउन दिनुभएको सुझावलाई स्वीकार गरेर, मैले उहाँसँग भेट गरेँ । पशुपति घिमिरेमा रहेको ज्योतिष ज्ञानको झिल्कोसित परिचित हुँदाकै समयमा २०५६ सालमा पार्थिव शरीर त्याग्नु भएका ‘थान्सिङ बाबा’ को अत्यन्त श्रद्धापूर्वक नाम लिइनु भएको लाल बहादुर रानाभाटको बारेमा केही कुरा सुन्ने शुभ अवसर पाएँ ।

साधारण रहनसहन, उच्च धार्मिक आस्था र विश्वास पाल्नु हुने थानसिङ बाबालाई भेट्ने अवसर चुकाएकोमा मलाई पनि धेरै खल्लो महसुस भयो । थानसिङ बाबालाई चिन्ने महानुभावहरुले उहाँमा रहेको चमत्कारिक ज्ञानको मुग्धकण्ठले प्रसंशा र कीर्तन गान गर्नुहुन्छ । यहाँ सम्मकी उहँँलाई ईश्वरकै साक्षात् अवतार हुनुहुन्थ्यो।” भन्ने सम्म सुन्न पाएँ । थानसिङ बाबामा अद्भुत भविष्यवाणी गर्न सक्ने क्षमता थियो भनिन्छ । पशुपति घिमिरे “थानसिङ बाबाको खास बोलाउने नाम लिन पनि मेरो साहस छैन” भन्नुहुन्छ । ‘२०५८ जेठ १९ गते राजदरबारमा हुने वंशनाशको बारे थानसिङ बाबाले पूर्व जानकारी दिनु भएको थियो ।’ भन्नुहुन्छ पशुपति घिमिरे, बद्री घिमिरे जस्ता उहाँका भक्तहरु । आफ्नै बारेमा गरिएको भविष्यवाणी सत्य सावित भएको बताउनु हुन्छ पशुपति घिमिरे । योगी नरहरीनाथ, थानसिङ बाबाको घरमा दुइपटकसम्म पुग्नु भएको र उहाँले थानसिङ बाबालाई उच्च साधना तहमा पुग्नु भएको, सिद्ध हुनु भएको कुरा आफुहरुलाई बताउनु भएको कुरा बद्रीनाथ र पशुपति घिमिरेले स्तम्भकार समक्ष जानकारी दिनु भयो ।

६) पण्डित रुद्रमणि अधिकारीले ‘म्याग्दे र भीमाद’ काव्यमा म्याग्दे गाउँपालिकाका विभिन्न स्थानहरुलाई ऋषिहरुको तपस्थल एवं देवीदेवताको क्रीडास्थिलको रुपमा चित्रण गर्नु भएको छ । जैमिनी ऋषिको तपस्यास्थल जामुने भञ्ज्याङ, छागल ऋषिको तपस्यास्थल छाङ्ग, मनुषा ऋषिको तपस्यास्थल मनपाङ, हर्षपा ऋषिको तपस्यास्थल हर्षपुर, धौम्य ऋषिको तपस्यास्थल धुवाउने ढुङ्गो, दभुङको चण्डीस्थान, उमाचोक, वात्सायन ऋषिको तपस्यास्थल बतासे, भगवती उमाको क्रीडास्थल उमाचोक लगायत डम्फे पहरो, मणि बगैंचा, भंगेर र झांक्रीहरुको क्रीडास्थल, महादेवको आँगन क्रीलचोक, पुरुषेत्तमको बगैंचा, बाजेबज्यै स्थान, शिवमन्दिर, छाङ्ग, हटिया, स्थानीको स्थान पिपलछाङ्ग, भैरवस्थान क्रीडास्थलको बारेमा वर्णन गर्नु भएको छ ।

यसरी देवताहरु घुम्ने, जम्मा हुने मनोरम स्थान पहिले भावरटार भनिने पृथ्वीराजमार्गको मनहरी वरपरको स्थान, विभिन्न गुफाहरुको व्यापक विस्तारित खोजको आवश्यकता स्तम्भकारले महसुस गरेको छ र विज्ञ पाठकहरुको यस सन्दर्भमा उचित सल्लाह, सहयोग, दिग्दर्शन र सुझावको निम्ति सविनय निवेदन टक््रयाउँछ ।

७) पाठक महानुभावहरु ! अचम स्तम्भमा यहाँहरुबाट प्राप्त सूचनाहरुलाई शिरोधार्य गर्ने कोशिस गरी खास गरी म्याग्दे र यस वरपरका विभिन्न जाति, जनजाति, वर्ग, पेशा र जनताका विचार रहेको सुमधुर प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक विषय वस्तुमा केन्द्रित रही आगामी अंकहरुमा पनि तनहुँ जिल्ला र गण्डकी प्रदेशको महत्व उजागर गर्ने कोशिस यथावत रहने कुरा निवेदन चढाउँदछु ।

Related posts

१८औं सचिन स्मृति खुल्ला दौड

admin

अचम

admin

संहिता कानूनमा कठिन छ नाता कायम

admin