Tanahun Awaj
Uncategorized

सरदार वंशुका बंसज ओख्लेमा भेटघाट

ओख्ले/अंग्रेज फौजलाई एशियामा पहिलो पटक हराई सिंधुली गढीको युद्धमा नेपाललाई विजयी गराई नेपाल र नेपालीको अस्मिता जोगाउने सेनानायक
सरदार वंशुका वंशजहरुको भेटघाट कार्यक्रम पौष २० गते ओख्लेमा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सरदार वंशु गुरुङका वंशजका भाई, सन्तान एवं चेलीबेटी भेट कार्यक्रम नाम दिइएको थियो । कार्यक्रमका प्रमुख अतिथि अर्मलाकोट निवासी पूर्व मन्त्री तथा पूर्व अञ्चालाधीश स्व. लक्ष्यबहादुर गुरुङ्गका भाई खेपन्न प्रतिष्ठानका अध्यक्ष कर्णबहादुर गुरुङ्गले ‘हामी वंशु गुरुङको भाई सन्तान मिलेर धेरै योजना तयार गरी ओख्ले र अर्मलाकोट दुवै गाउँमा विकासको अभियान चलाउनु पर्दछ भन्नु भयो । कार्यक्रमका संयोजक पूर्व डिआईजी खोजबहादुर गुरुङ्गले भावी कार्यक्रम प्रस्तुत गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । पूर्व डिआईजी गुरुङ्गले प्रस्तुत गर्नु भएको भावी कार्यक्रममा नेपालअंग्रेज युद्धमा यशियामै पहिलो पटक अंग्रेज सेनालाई हराई नेपालको अस्मिता जोगाउने सेनानायक स्व. वंशु गुरुङको नाउँबाट प्रतिष्ठान स्थापना गर्ने, गुम्वा निर्माण गर्ने, बुद्धको मूर्ति स्थापना गर्ने, उपल्लो घलेछापदेखि ओख्ले गाउँसम्मको मार्गलाई सरदार वंशु गुरुङ्ग मार्ग नामाकरण गर्ने रहेको छ । साथै प्याराग्लाईडिङ्ग तालिम केन्द्रको स्थापना गर्ने, जीतपुर गढीमा भ्यू टावर निर्माण गरी पर्यटन विकास गर्ने जस्ता कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि, तेजबहादुर गुरुङ्ग, दिलबहादुर गुरुङ्ग, ना.सु. कृष्णबहादुर गुरुङ्ग, दिलबहादुर गुरुङ्ग, तेजबहादुर गुरुङ्ग लगायतका वक्ताहरुले स्व. वंशु गुरुङको योगदानबारे चर्चा गर्नु भएको थियो । कार्यक्रमका अध्यक्ष समाजसेवी गाउँ पञ्चायतका पूर्व प्रधानपञ्च, ना.सु. हर्क शम्सेर गुरुङले स्व. वंशु गुरुङको सम्मानजनक इतिहास जोगाई राख्न भाई सन्तान मिलेर अभियान चलाउने प्रतिबद्धता जाहेर गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।

कास्कीको अर्मलाकोटमा जन्मेर स्व. वंशु गुरुङले तनहुँको मिर्लुङ हालको भानु–१२ ओख्लेमा बस्ती बसाउनु भएको थियो । त्यही सम्झनामा आफ्नो पुख्यौली थलोका वंशजलाई पनि कार्यक्रममा निम्तो दिईएको कार्यक्रम सञ्चालक एवं गाउँ समितिका अध्यक्ष ओमकृष्ण गुरुङले बताउनु भयो । पुखौली थलो कास्की अर्मलाकोटबाट निम्त्याइएका अतिथिहरुलाई ओखलपानी देवीआमा समूहले स्वागत, सम्मान, जलपान एवं मनोरञ्जन गराएको थियो । फूलमाला लगाएर आमा समूहले अतिथिहरुको विदाई गरेको थियो । कार्यक्रममा कास्की अर्मलाकोट र तनहुँ ओख्लेका सरदार वंशु गुरुङका वंशज ङहोल घोताने परिवारका अन्दाजी दुई सय जना आयोजक तथा अतिथिहरुको सहभागिता रहेको थियो ।

Related posts

खचाखच कार्यकर्ता वीच जोशीको सम्बोधन

admin

विद्यालय मर्ज, समस्याको समाधान होइन

admin

सामुदायिक प्रहरी सेवा केन्द्रको साधारण सभा सम्पन्न

admin