Home विचार/दृष्टिकोणसमष्ट्रिगत विकासको मार्गचित्र

समष्ट्रिगत विकासको मार्गचित्र

by Tanahu Awaj
48 views
मुक्तिनाथ पण्डित
एम ए अर्थशास्त्र

नेपालको बेरोजगारीको प्रमुख कारण दोषपूर्ण शिक्षानीति हो । सरकारले व्यवसायीक, प्राविधिक शिक्षालाई भन्दा सामान्य शिक्षालाई जोड दिइएको पाईन्छ । यस्तो शैक्षिक प्रणालीमा व्यवहारिकता कम छ, स्वरोजगार अवसर छैन । उच्च शिक्षामा खुल्ला द्वार नीतिले शिक्षित वेरोजगारी थपि रहेको छ । शिक्षामा सीपको कमीको कारण युवाहरु विदेशिन बाद्यप भएका छन् । शिक्षित युवाहरु शारीरिक काम गर्न लाज मान्ने प्रबृत्ति र समाजको पनि हेर्न दृष्टिकोण पुरातनवादी शैलीले युवाहरुलाई अप्ठ्यारोमा पारेको छ ।
ग्रामिण बस्तीमा वैदेशिक रोजगारीबाट प्राप्त आन्दानीबाट परिवारको दैनिक खर्चको व्यवस्थापन गरिरहेका
छन् । रिमिट्यान्सबाट प्राप्त आम्दानीको प्रमुख स्रोत नै पारिवारिक आम्दानी बनेको छ । कृषिमा आधुनिकीकरण हुन सकेको छैन । कृषि उत्पादकत्व कम छ । पशुपालन, वागवानी, कुखुरापालन, मौरी पालन जस्ता कृषिजन्य उद्योगको विकास भएको छैन । यस तर्फ स्थानीय पालिकाले कृषि उद्यमी व्यवसायीलाई उत्पादन प्रोत्साहन नीति आफ्नो बार्षिक नीति तथा कार्यक्रम बजेट प्राथमिकताको सूचीमा राख्नु
पर्दछ । जुत्ता, भाँडाकुँडा, कृषि औजार, घरेलु सामानहरु उद्योगलाई आधुनिक उद्योगले विस्थापित गरेका छन् । हस्तकला र साना उद्योगहरु लोप हुने अवस्थामा छन् । बढ्दो बेरोजगार युवाहरुको जमातलाई सदुपयोग गर्न, श्रमशक्तिको उपयोग गर्न ठूलो उद्योगको विकास, औधोगिकीकरण अत्यावश्यक भएको छ । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न घरेलु तथा साना उद्योग स्थापना गर्न उपयुक्त हुन्छ । यद्यपी अमेरिकामा पनि घरेलु र साना उद्योग स्थापना गरी चालीस प्रतिशत उत्पादनमा यस्ता श्रमिकलाई प्रयोगमा ल्याइएको छ । साना उद्योगको विकास र विस्तार सन्दर्भमा भन्ने गरिन्छ–‘सानो सुन्दर हुन्छ, सानो सम्भव छ ।’ग्रामिण वस्ती र पालिका स्तरमा साना उद्योगको विकास गर्नुपर्दछ, परम्परागत उत्पादनलाई बदलिदो बजार माग र आवश्यकता अनुसार ढाल्नु पर्दछ र उत्पादकत्व बृद्धि गर्न उपयुक्त प्रबृधि अवलम्बन गर्नुपर्दछ । ग्रामिण क्षेत्रमा रहेको विद्यमान सीपहरुलाई विकास गर्न सरकारी सहयोगद्वारा डकर्मी, कुमाले, कपडा बुन्ने, वि.क, परियार, नेपाली, सिकर्मीलाई कामको खोजीमा शहरमा आप्रवासी बनाउनुको सट्टा साना ग्रामिण उद्यमीमा परिणत गर्न सकिन्छ । यस्ता उद्यम व्यवसाय एक वडा एक उत्पादन, एक गाउँ एक उत्पादन नीति बार्षिक बजेटमा नै गाउँपालिका, नगरपालिकाले व्यवस्था गरिदिनु पर्दछ । वास्तवमा रोजगारी विस्तारको लागि ग्रामिण औधोगिकिरण नीति घोषणा गर्नु पर्दछ ।
ग्रामिण कार्यशाला, ग्रामिण औगोधिक केन्द्र स्थापना गर्नुपर्दछ । आन्तरिक औधोगिकीकरण विस्तार गर्न ग्रामिण क्षेत्रमा आन्तरिक प्रविधि स्थानीय साधानको प्रयोग, मेसिनको सट्टा मानिसलाई रोजगारी, वनमा आधारित, खानीमा आधारित, विकास निर्माण सामाग्रीमा आधारित, उपभोग्य वस्तुमा आधारित उद्योगहरु सबै पालिकास्तरमा देशैभरमा स्थापना गर्न सकिन्छ । यस्तो कार्यका लागि योजनामा भिजन भएको नेतृत्व गर्ने व्यक्ति जनताबाट आएको खण्डमा, निर्वाचित भएमा, विकास विविधिकरणको अभियान गाउँदेखि शहरसम्म एकैसाथ जानेमा कुनै द्विविधा छैन । सक्षम, सवल, विकास प्रेमी, क्षमतावान जनप्रतिनिधि आगामि निर्वाचनमा चयन हुनेछन् त्यसैले भन्ने गरिन्छ ग्रामिण युवाहरुलाई नैराश्यताको समुन्द्रमा खस्नबाट रोक्न कितावी शिक्षा भन्दा व्यवहारिक र व्यवसायीक सीपमूलक शिक्षा दिनु जरुरी छ । वर्तमान विश्वमा यस्तो नीति लिने देशमा भारत, इजिप्ट, तान्जनीया पर्दछन् । यस्ता युवाहरुलाई रोजारीमूलक शिक्षा दिएर प्रसंसनीय कार्य गरेका छन् । वर्तमान समयमा ग्रामिण क्षेत्रबाट सहरी क्षेत्रमा बसाईसराई अत्याधिक भएको कारण शहरी क्षेत्रमा गरिवी र बेरोजगारी बढेको छ । यसलाई पालिकाले समयमै रोक्नु पर्दछ । ग्रामिण विकास कार्यक्रम व्यापक रुपमा सञ्चालन गर्नुपर्दछ । लगानि ग्रामिण क्षेत्रमा प्रवाह गर्नुपर्दछ । ग्रामिण साना शहरहरुमा ग्रामिण प्रसोधन उद्योग, भवन र सेवा उद्योग, बैंकिङ्ग विमा सेवा, बाणिज्य, सस्कृति, शिक्षा, सार्वजनिक स्वास्थ्य सुविधा विकास गर्ने नीति स्थानीय स्तरबाटै प्राथमिकताको सूचीमा राखिदिनाले शहरतर्फ जाने बसाईसराई रोक्न सकिन्छ । ग्रामिण विकास कार्यक्रमले उत्पादकत्व र आम्दानी बृद्धि गर्दछ ।
उत्पादकत्व र आम्दानी बृद्धिका लागि प्रत्येक गाउँपालिका स्तरबाटै कृषि, वन, मत्स्य पालन, वागवानी, पशुपालन, वाली विज्ञान, खाद्यान्न बाली उत्पादन, यातायात पूर्वाधारको विकास, खानेपानी, वैज्ञानिक शिक्षा, ग्रामिण विद्युतिकरण, घरेलु तथा साना उद्योग, पर्यटन सबै पक्ष समेटिएको एकिकृत ग्रामिण विकास मोडल (Integrated Rural Development Model) नै नेपालको सन्दर्भमा उपयुक्त हुन्छ । दशैभरि छरिएर रहेका नगरपालिका, गाउँपालिकामा यस्तो एकिकृत ग्रामिण विकास मोडल लागू भएको अवस्थामा छिटो छरितो विकास हुन्छ । जुन वर्तमान समय र युवाहरुको माग हो । आगामि स्थानीय निर्वाचनमा यस्तो सोंच भएका जनप्रतिनिधिको खोजी हरेक नागरिकले गरिरहेका छन् । सबैभन्दा उत्तम व्यक्तिको छनौट नै उत्तम विकासको प्रारम्भ हो ।

Related Articles

Leave a Comment