Home समाचारभोली कृष्ण जन्माष्टमी

भोली कृष्ण जन्माष्टमी

by Tanahu Awaj
4 views
दमौली/प्रत्येक वर्ष भाद्रकृष्ण अष्टमीका दिन हिन्दु धर्मावलम्बीहरु श्रद्धा एवं भक्ति पूर्वक भगवान श्रीकृष्णको जन्मोत्सव मनाउने गर्दछन् । यो पर्व केवल एउटा धार्मिक उत्सव मात्र नभई अधर्म, अत्याचार र राक्षसी प्रवृत्तिका विरुद्ध सत्य र धर्मको विजयको प्रतीक पनि हो ।
सनातन धर्ममा भगवान् विष्णुका आठौँ अवतारका रूपमा पूजा गरिने श्रीकृष्णको जीवन, चरित्र र दर्शन मानव जगत्का लागि सधैँ प्रेरणाको स्रोत रहँदै आएको छ ।
पौराणीक कथा अुनसार  कंसको अत्याचार चरम उत्कर्षमा पुगेका बेला  कारागारभित्र कंसकी बहिनी देवकी र वसुदेवका आठौँ सन्तानका रूपमा कृष्णको जन्म भएको थियो । जन्मेकै  रात यमुना नदी पार गराई गोकुलका नन्द र यशोदाको घरमा पु¥याइएका कृष्णको गोकुल, नन्दगाउँ क्षेत्रमा बाल्यकाल बितेको थियो ।
पौराणीक कथन अुनसार उनको बाल्यकाल विभिन्न अलौकिक लीलाहरूले भरिपूर्ण रह्यो । सानै छँदा उनलाई विषालु दूध चुसाई मार्न मामा कंसले पुतना नामक राक्षसीलाई पठाए । बालक कृष्णले आफ्नो दिव्य शक्तिद्वारा दूध चुस्दाचुस्दै पुतनाको प्राण नै हरण गरिदिए । त्यसपछि पनि कंसले पठाएका तृणावर्त, बकासुर  जस्ता अनेकौँ दानवहरूको वध गर्दै कृष्ण मथुरा पुगे र अत्याचारी राजा कंसको संहार गरे । कंसवधसँगै उनले आफ्ना मातापितालाई कारागारमुक्त गराए ।
महाभारत युद्धमा कृष्णले कुनै हतियार नउठाई पाण्डव पुत्र अर्जुनका सारथि बन्ने भूमिका निर्वाह गरे ।
धर्म र अधर्मको यस भीषण युद्धमा आफ्नै आफन्त विरुद्ध लड्न हिचकिचाएका अर्जुनलाई कुरुक्षेत्रको मैदानमा उनले दिएको कालजयी उपदेश नै श्रीमद्भागवत गीता हो । फलको आशा नगरी कर्म गर भन्ने कर्मयोगको सिद्धान्त र समाजमा धर्मको हानि हुँदा आफू अवतार लिने प्रतिज्ञाले आजसम्म मानव चेतनालाई मार्गदर्शन गरिरहेको छ । विद्वान, राजनीतिज्ञ, विचारक आदिको प्रिय पुस्तक बनिरहेको छ ।
जन्माष्टमीका दिन श्रद्धालुहरू दिनभर व्रत बसी मध्यरातमा कृष्ण जन्मको पूजा–आराधना गर्छन् ।
ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरगायत देशभरका कृष्ण मन्दिरहरूमा भजन–कीर्तन र झाँकीसहित भक्तजनको ठूलो उपस्थिति रहने गर्छ । नेवार समुदायले कृष्ण जात्रा प्रदर्शन गर्दछन् ।
आजको आधुनिक युगमा पनि श्रीकृष्णको जीवन दर्शन, कूटनीति र निष्काम कर्मको सन्देश उत्तिकै सान्दर्भिक छ । सामाजिक अन्याय र विकृति विरुद्ध उभिन प्रेरणा दिने जन्माष्टमी पर्वले समाजमा सत्य, न्याय र शान्तिको सन्देश प्रवाह गरिरहेको छ ।

Related Articles

Leave a Comment