दमौली/जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले स्वास्थ्य क्षेत्रलाई ओझेलमा नपार्न सम्बद्ध सरोकारवाला कार्यालय, संघ संस्थाहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाको ३७औं साधारण सभाको उद्घाटन पछि प्रमुख अतिथिको सम्बोधन गर्दै वाग्लेले स्थानीय तहले बाटो, विजुली, पिउने पानी लगायत पूर्वाधारका सवालमा प्राथमिकता दिएको चर्चा गर्दै मानव जीवनसंग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नपारेको तर्फ संकेत गर्नुभएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले मानवीय सेवामा समर्पित रेडक्रसले स्थानीय तहको प्राथमिकतामा मानव स्वास्थ्यका कार्यक्रमलाई पार्न विशेष चासोका साथ अग्रसर हुन आव्हान समेत गर्नुभएको थियो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्थानीय सरकारसंग विपद व्यवस्थापनको बजेट भएको चर्चा गर्दै कार्य योजना बनाएर प्रमुख जिल्ला अधिकारीले दिएको सुझावलाई समेत कदर गर्दै कार्यक्रम सञ्चालन गर्न समन्वयकारी भूमिका रेडक्रसले खेलोस् भन्ने सुझाव राख्नु भयो ।
सभालाई प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेल, नेकपाका प्रतिनिधि अत्यन्द्रकेशरी न्यौपाने, नेपाली काँग्रेसका प्रतिनिधि केशबहादुर सुनार, नेरेसो तनहुँका पूर्व सभापतिद्वय परशुराम गिरी, रामनाथ भट्टराई, गण्डकी प्रदेशका उपकोषाध्यक्ष हिरा थापा, पूर्व कोषाध्यक्ष नारायणदत्त पौडेल, कोटदरबार उपशाखाका सभापति इन्द्रबहादुर आले, रक्तदाता समुन्द्र पौडेल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका सभापति कृष्णहरि वाग्लेको सभापतित्वमा भएको सो सभामा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । उपसभापति नुरचन्द्र वाग्ले धन्यवाद ज्ञापन अर्का उपसभापति ऋषिराम पोख्रेलले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन मन्त्री चिनु पोख्रेलले गर्नुभएको थियो ।