दमौली/व्यास नगरपालिकाको चौथो नगर सभा मंगलबार सम्पन्न भएको छ । सोमबार प्रारम्भ भई मंगलबार सम्पन्न भएको नगर सभाले विभिन्न पाँच विधेयक पारित गरेको छ । सभाको समापन पछि पत्रकार सम्मेलन मार्फत नगर प्रमुख वैकुण्ठ न्यौपानेले दिएको जानकारी अनुसार सभाले शिक्षा विधेयक २०७५, स्थानीय तहको प्रशासनिक कार्यविधी विधेयक २०७५, संसोधित फोहर मैला व्यवस्थापन सम्वन्धि ऐन २०७५, सहकारी ऐन २०७५ तथा विनियोजन विधेयक २०७५ पारित गरेको हो ।
चौथो नगर सभाबाट पारित विधेयकमा नगर पालिकाभित्र रहेका टोल विकास संस्थाको सहभागितामा वचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्न पाउने व्यवस्था गरिएको नगरप्रमुख न्यौपानेले जानकारी दिए । खेलकुदको विकासका लागि नगरपालिकाले यस वर्ष ४० लाख रकम विनियोजन गरिएको जनाएको नपाले होमस्टे प्रवद्र्धनकालागि १८ लाख रुपैयाँ विनियोजन गरेको छ । यस वर्षको नगरसभाले वडालाई दिने अनुदान रकममा पनि वृद्धि गरेको छ । नगर प्रमुख न्यौपानेका अनुसार अब नपाका वडाहरुले दुई करोड रुपैँया अनुदान पाउने छन् । नगरपालिकाको कर्मचारी र नगर प्रहरी परिचालनका लागि स्थानीय तहको प्रशासनिक कार्यविधी विधेयक निर्माण गरी पारित गरिएको नपाले जनाएको छ । सहकारी विधेयकमा नगर पालिका भित्र रहेका टोल विकास संस्थामा छरिएर रहेको पूजीलाई एकतृत गर्न सबै २३६ वटै सहकारीको सहभागितामा वचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको नपाले जनाएको छ ।