नेपालको राजनीतिक परिवर्तनको इतिहासमा थुप्रै ठाउँहरूको आफ्नै विशेषता होला, तर तनहुँको पुलिमराङ एउटा यस्तो तीर्थस्थल हो, जहाँको माटो सहिदको रगतले भिजेको छ । वि.सं. २०१८ को सशस्त्र क्रान्तिका क्रममा प्रजातन्त्र पुनस्र्थापनाका लागि लड्दा लड्दै शहादत प्राप्त गर्ने ६ जना वीर योद्धाहरू— शमशेर बहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मराज गुरुङ, सर्वसिंह गुरुङ, गोविन्द बहादुर गुरुङ र मनबहादुर गुरुङको त्यागले पुलिमराङलाई नेपालको ‘सहिद गाउँ’ का रूपमा चिनाएको छ ।
कुनै पनि राष्ट्र वा समाजले आफ्नो इतिहास बिर्सियो भने त्यसको अस्तित्व सङ्कटमा पर्छ । सहिदहरूले देखाएको बाटो र उनीहरूको सपनालाई जीवन्त राख्नु राज्य र स्थानीय सरकारको दायित्व हो । व्यास नगरपालिकाले विगत आठ वर्षदेखि निरन्तर रूपमा सहिद दिवसको दिन पारेर आयोजना गर्दै आएको म्याराथन खेलकुद मात्र होइन, यो त इतिहास र वर्तमानलाई जोड्ने एउटा पुल पनि हो । मानहुँकोटदेखि सहिदको गाउँ पुलिमराङसम्मको ४४ किलोमिटर दूरीको यो दौड अब केवल प्रतिस्पर्धामा सीमित छैन; यो सहिदहरूप्रतिको सम्मान र पर्यटकीय प्रवद्र्धनको माध्यम समेत बनेको छ ।
पुलिमराङमा स्थापना गरिएका ६ जना सहिदका शालिकहरूले त्यहाँ पुग्ने हरेक नागरिकलाई प्रजातन्त्रको मूल्य र यसका लागि गरिएको सङ्घर्षको स्मरण गराउँछन् । ढुङ्गाका शालिकहरू आफैँ बोल्दैनन्, तर तिनीहरूले दिने सन्देश अनन्त कालसम्म गुन्जिरहन्छ । नगरपालिकाले खेलकुदको माध्यमबाट सहिदको गाउँलाई पर्यटकीय गन्तव्य बनाउने जुन लक्ष्य राखेको छ, यसले स्थानीय अर्थतन्त्र र युवा पुस्तामा राष्ट्रभक्तिको भावना जगाउन ठुलो मद्दत पुग्ने देखिन्छ ।
यद्यपि, सहिदहरूको सम्मान शालिक ठड्याउनु र वर्षमा एक दिन दौडिनुमा मात्र सीमित हुनु हुँदैन । उनीहरूले परिकल्पना गरेको समतामूलक समाज, सुशासन र नागरिकको अधिकारको रक्षा हुनु नै वास्तविक सम्मान हो । पुलिमराङको यो ऐतिहासिक विरासतलाई राष्ट्रिय स्तरमा थप उजागर गर्न र यहाँको विकासलाई प्राथमिकतामा राख्न आवश्यक छ ।
आठौँ पटकको म्याराथन सफलतापूर्वक सम्पन्न हुनुले व्यास नगरपालिकाको दृढ इच्छाशक्तिलाई दर्शाउँछ । सहिदको रगतले सिञ्चित यो धर्तीलाई खेलकुद र ऐतिहासिक पर्यटनको केन्द्र बनाएर पुलिमराङको गरिमा अझ उच्च बनाउनु आजको आवश्यकता हो । ती ६ जना वीर सहिदहरूका सपना साकार पार्न हामी सबैले आफ्नो ठाउँबाट इमानदार प्रयास गर्नु नै उनीहरू प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
म्याराथनः पुलिमराङको इतिहास जोगाउने सत्प्रयास-सम्पादकीय
previous post
