टिकट बेच्ने अनैतिक बाटो हिडेर काँग्रेस कमजोर
विशेषसम्वाददाता/१०६औ वी.पी. जयन्तीका अवसरमा वी.पी. विचार समाज जिल्ला कार्य समिति तनहुँले दमौलीमा भाद्र २४ गते आयोजना गरेको कार्यक्रममा खचाखच सहभागि नेपाली काँग्रेसका कार्यकर्तालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेसका पूर्वसहमहान्त्री एवं वी पी विचार राष्ट्रिय समाजका सहअध्यक्ष गोविन्दराज जोशीले टिकट बेच्ने अनैतिक बाटो हिडेर काँग्रेस कमजोर भएको बताउनु भएको छ ।
नेपाली काँग्रेसले दोस्रो चरणको जागरण अभियान सञ्चालन गरेको सन्दर्भ नेता जोशीले कार्यकर्तालाई सुचित गर्नुभयो । उहाँले कार्यक्रममा गएर समय मागेर टिकट बेच्नेहरु वी.पी.ले देखाएको बाटो हिड्न छोडेर काखा र पाखाको दम्भ देखाएर कमाउ धन्दामा लागेको कारण तनहुँमा नेपाली काँग्रेस कमजोर भएको हो भनेर निर्भिकताका साथ बोल्न निर्देशन दिनुभयो । नेपाली काँग्रेसले यही रवैयाले टिकट बाड्ने हो भने अबको कुनै चुनाव पनि काँग्रेसले कुनै ठाउँमा नजित्ने नेता जोशीको ठोकुवा थियो । जोशीले स्वाभिमानी कार्यकर्ताले आफू माथि भएको उपेक्षा अपमान र अन्यायका विरुद्ध सत्य बोल्न डराउन नहुने बताउनु भयो । नविन्द्रराज जोशी नेतृत्वको जागरण अभियान टोलीले सबै नेता कार्यकर्तालाई समय नदिएको चर्चा गर्दै दोस्रो चरणको जागरण अभियानमा समय माग्दा नदिए बसेकै ठाउँमा उभिएर आफ्ना कुरा राख्न प्रेरित गर्नुभयो । उहाँले त्यसबाट केही समस्या आए त्यसको जिम्मेवारी आफूले लिने समेत स्पष्ट पार्नुभएको थियो । काँग्रेस बचाउनका लागि कार्यकर्ता बनाउने भन्दा उपयोग गर्ने मानसिकताबाट काँग्रेसको सदस्य बनाउने नेतृत्वको स्वार्थी नीतिले काँग्रेस कमजोर भएको चर्चा गर्दै नेता जोशीले तपाईहरुले गाउँ गाउँमा पुगेर नेतृत्वको स्वार्थी नीतिको भण्डाफोर गर्नु होला भनि कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।
काँग्रेस नेतृत्वले वी.पी.को सिद्धान्त छोडेको, काँग्रेसको अघिल्लो पुस्ताको उत्सर्गलाई अपमान गरेको कारण अघिल्ला पुस्ताका नेता कूलबहादुर गुरुङको नेतृत्वमा वी.पी. विचार राष्ट्रिय समाज गठन गरेर काँग्रेस कार्यकर्ता माझ वी.पी.को सिद्धान्तको बहस चलाएको जोशीले बताउनु भयो । नेपाली काँग्रेस सिद्धान्त र दृष्टिकोण साथै राष्ट्रिय राजनीतिमा विश्वेश्वरप्रसाद कोइराला नामक पुस्तक प्रकाशनमा ल्याएको चर्चा गर्दै उहाँले काँग्रेसको अघिल्लो पुस्तालाई सम्मान गर्दै पञ्चायतले शहीद बनाएका काँग्रेस कार्यकर्ताहरु सरोज कोईराला, दुर्गानन्द झा, भिमनारायण यादव, यज्ञबहादुर थापा, तेजबहाद्ुर अमात्य, जगतप्रकाश जंग शाहहरुको जीवनी लेख्ने घोषणा वी.पी. विचार राष्ट्रिय समाजले गरेको उद्घोष गर्नुभयो । सो अवसरमा तनहुँका लालध्वज गुरुङ, बुद्धसिं राना समेतका शहिदहरुको योगदानको वारेमा नेता जोशीले चर्चा गर्नुभएको थियो ।
डिल्लीराम अधिकारीको सभापतित्वमा मंगलबार दमौलीमा भएको वी पी को विचार र वर्तमान नेपाली काँग्रेस विषयक प्रबचन तथा अन्तरक्रिया कार्यक्रमलाई काँग्रेसका पुराना कार्यकर्ता सम्मानित व्यक्तित्व तेजनाथ जोशी, गोपीबहादुर गुरुङ्ग, गोपाल प्रसाद भण्डारी, बालकृष्ण पौडेल, परमेश्वर भट्टराई, खोजबहादुर गुरुङ्ग, भिमबहादुर अधिकारी, इन्कन खनाल, रामदेव पन्त, नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेल लगायतले सम्बोधन गर्नुभएको थियो । सुकुमलाल गुरुङ्गले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन सचिव हरिशरण पण्डितले गर्नुभएको थियो । कार्यक्रममा प्रजातन्त्र सेनानीहरु मोतिकुमार श्रेष्ठ, बुद्धिकुमार बतास, एकनारायण खनाल र तेजनाथ जोशीलाई सम्मान गरिएका सचिव हरिशरण पण्डितले तनहुँ आवाजलाई बताउनु भयो ।