दुई वर्ष अगाडी सम्पन्न भैसक्नु पर्ने नेपालको अग्रणी प्रजातान्त्रिक दल(?) नेपाली कांग्रेसको चौधौं माहाधिवेशन सम्पन्न भएको छ । बैचारिक बहसलाई पन्छाएर नेतृत्व चयनमा मात्र केन्द्रीत भएको महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्व चयन गरिसकेको छ । सभापतिको कुर्सीमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः विराजमान हुने मौका पाएका छन् । अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यको मत गणना पनि प्रारम्भ भएको छ र अबका केही दिनमा त्यसको नतिजा पनि प्राप्त हुनेनै छ किनभने यो लेख प्रकाशित हुने बेलासम्म मतगणाना प्रारम्भ भै सकेको छ ।
सभापतिको रुपमा प्रथम चरण र दोस्रोमा समेत देउवाले पाएको मत हेर्दा उपसभापति, महामन्त्री, सहमहामन्त्री लगाएत पदमा देउवा गुटका उम्मेदवारले बाजी मार्ने सम्भावना देखिएको छ । तर मत गणनाको काम बाँकी रहेको तथा देउवा इतर समूहमा विश्वप्रकाश शर्मा तथा गगनकुमार थापा जस्ता प्रभावशाली युवा नेता महामन्त्रीको उम्मेदबार भएकाले यस्तै नतिजा आउँछ भनेर ठोकुवा गर्ने सकिने अवस्था छैन ।
आगामी हप्तासम्ममा सबै नभएपनि पदाधिकारीको नतिजा आउला अनि त्यस बारेमा विवेचना गरौंला । यस पटक भने कांग्रेसका महाधिवेशन प्रतिनिधि र युवा नेताहरुको प्रवृतिका बारेमा चर्चा गर्न मन लागेको छ ।
विसं २०७४ को निर्वाचनमा कांग्रेस प्रत्यक्ष तर्फ २३ सिटमा खुम्चिएपछि गगन, विश्वप्रकाश, प्रदिप लगाएत ८ युवा नेताहरु वर्तमान नेतृत्वबाट पार्टीले जीवन पाउन नसक्ने भन्दै निर्वाचनको समिक्षा तथा नेतृत्व परिवर्तनको बहसमा उत्रिए । लाग्यो अब युवा नेतृत्व जाग्यो । अब कांग्रेसमा सुधारका संकेतहरु देखिनेछन् । तर राजनीतिका चतुर खेलाडी देउवाले नेतृत्व परिवर्तनको बहसमा उत्रिएका युवा नेता मध्ये एक विश्व प्रकाशलाई प्रवत्ता रुपि पासो फालेर फंसाए । विश्वप्रकाश जस्ता जाने बुझेका नेतालाई देउवाले फंसाए भन्नु उपयुक्त हुँदैन भने विश्वप्रकाश आफै पदको लोभमा फंसे भन्नु उपयुक्त हुने होला । मैले यसो किन भनेको भने दुइदिन अघि सम्पन्न सभापतिको दोस्रो चरणको निर्वाचनमा रातारात यूटर्न भएर गणेशमान पुत्र प्रकाशमानले देउवालाई सहयोग गर्ने वचन दिएसंगै उनकै पिछलग्गु बन्दै विश्वप्रकाशले पनि देउवालाई सहयोग गर्ने वचन दिए र सहयोग पनि गरे जसको परिणामा देउवा झण्डै हजार मतान्तरका साथ सभापतिमा निर्वाचित भए ।
मध्यरातसम्म देउवाले पार्टीेको नेतृत्व गर्ने क्षमता गुमाएको र उनको उपादेयता सकिएको बताउने प्रकाशमान किन विहान झिसमिसे नहुँदै देउवा नभए पार्टी जीवन समाप्त हुन्छ भन्ने अवस्थामा पुगे अनि उनको हो मा हो मिलाउँदै स्वाभिमानको चर्का भाषण गर्ने विश्वप्रकाशले पनि देउवालाई सहयोग गर्ने अवस्थमा किन पुगे ? संशयको घेरामा प्रकाशमान र विश्वप्रकाश हरु रहेका छन् ।
यो संशयसंगै कुनै पदका लागि वार्गेनिङ भएको भन्ने कुरा बजारमा आएको छ र फंसाइएको होइन बरु आफै कुनै पदको लोभमा फंसेका पो हुन कि यसपटक पनि भन्ने लागेको हो । यस पटकको व्यवहारले प्रकाशमान माथि आमअविश्वास त बढेको नै छ, विश्वप्रकाशले पनि आफ्नो साख गुमाएका छन् । २०४६ सालको जनआन्दोलनको सफलता पश्चात तत्कालिन राजा विरेन्द्रले प्रधानमन्त्रीको रुपमा काम गर्न गरेको आग्रहलाई नकार्ने लौहपुरुष गणेशमानका छोरा प्रकाश चाहिँ उपप्रधानमन्त्री पदको ललिपपमा विकेको भन्ने हल्ला संगैं उनको लोकप्रियताको ग्राफ यसरी ओरालो लागेको छ कि उनले अब यथास्थितिमा फर्कन कठिन हुनेछ ।
अर्का युवा नेता भनिएका तनहुँका प्रदिप पौडेलको कुरा गरौं । नेतृत्व परिवर्तनको चर्काे वहसमा उनी पनि संलग्न थिए तर विडम्वना जब त्यो बहसलाई कार्यरुपमा बदल्ने अवसर आउँदे थियो पौडेलपनि ति सब भुलेर देउवाको गुटबाट महामन्त्रीको उम्मेदबार बन्न पुगे । देउवाले पार्टी नेतृृत्व गर्ने समय सकिएको र आफु यसपटक नेतृत्व परिवर्तनको एक शुत्रिय एजेण्डामा रहेको बताउने विमलेन्द्र निधिको चरित्रको बारेमा धेरै जानकार भएको भएपनि यसपटक सच्चिएका हुनकि भन्ने अनुमान थियो तर आममान्छेमा देउवाको विरुद्धमा निधि जान सक्दैनन् भन्ने बुझाई थियो र त्यही बुझाई अुनसार उनले देउवालाई सहयोग गरे ।
अब एकछिन जिल्ला जिल्लाबाट महाधिवेशन प्रतिनिधि बनेर गएका नेताहरुको कुरा गरौं । जब राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गाउँमा नेता आउँदा आम नागरिकले चोर आएको भन्ने गरेका छन् भनेर भाषण गरे, उनहरुले दर्शकदीर्घाबाट तालि बजाए अनि हुटिङ गरे । जिल्लाका कांग्रेस कार्यकर्ताको नजरमा त तिनै महाधिवेशन प्रतिनिधि नेता हुन ।
अब मेरो मनमा उठेको प्रश्न के कांग्रेस महाधिवेशन प्रतिनिधिले आफुलाई चोर स्वीकार गरेका हुन् ? केही दिन अगाडीसम्म प्रतिगमनको मतियार भन्दै शुभेच्छुक र मतदाताको आगाडी चर्का भाषण गरेर खड्गप्रसाद शर्मा ओलीलाई गाली गर्ने तिनै ले मञ्चमा ओली आउँदा उत्सव मनाए । यो देख्दा उनीहरुलाई महाधिवेशन प्रतिनिधि बनाउन मतदान गर्ने कांग्रेसका क्षेत्रिय प्रतिनिधिको मन कस्तो भएको होला ?
अर्काे रोचक कुरा त के छ भने पार्टीको तल्ला तहका अधिवेशनहरुमा तिनै प्रतिनिधिले नेतृत्व परिवर्तनको चर्का भाषण गरे । यस पटक कांग्रेसको नेतृत्व परिवर्तन गरेर सक्षम र सबल कांग्रेस बनाउने अनि हसिया हथौडा, आँखा आदिमा कांग्रेस कार्यकर्ताले मत हाल्नु पर्ने अवस्थाको अन्त्य गर्ने भन्दै क्रान्तिकारी कुरा पनि गरे । तर युवालाई नेतृत्वमा लैजाने अनि नेतृत्व परिवर्तन गर्ने प्रतिवद्धतालाई बागमतीको दुषित पानीमा बगाउँदै देउवालाई मतदान गरे जसलाई केही दिन अघिसम्म आफै असक्षम, नालायक भनेर घारेहात लगाउँदै सत्तोसराप गरेका थिए ।
आम कांग्रेस जनको अपेक्षा थियो, वर्तमान नेतृत्वबाट कांग्रेसकले मुक्ति पाउने छ । तर कांग्रेसका महाधिवेशन प्रतिनिधि भने विवेकशिल पार्टीका नेता रविन्द्र मिश्रले भने झै रेष्टुरण्टमा पसेर अनेकौं प्रकारका खानाको मेनु हेर्ने तर अन्तिममा मःमको अर्डर गर्ने खालका परेछन्, जसलाई नयाँ पन मन पर्दैन, परिवर्तन मन पर्दैन ।