विशेषसम्वाददाता
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) मा विवाद चुलिँदै जाँदा विभाजित हुने र खासगरी वर्तमान प्रधानमन्त्री ओलीसंगको सहकार्यमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारमा सहभागी हुनसक्ने हल्ला नेपाली राजनीतिक बजारमा यतिबेला व्यापक भएको छ । के नपाली कांग्रेस बजारमा हल्ला चले जसरी ओली वा प्रचण्डसंगको सत्ता सहकार्यका लागि तयार होला ? यो प्रश्न खासगरी कांग्रेस कार्यकर्ता र मतदाताले गरिरहेका छन् ।
निकट विगतलाई हेर्ने हो भने कोरोनाको महामारी सुरु भएको केही दिनमा कांग्रेस वरिष्ट नेता रामचन्द्र पौडेले सामाजिक सञ्जाल फेसबुक लाइभ आएर कोरोनासंग लड्न आवश्यक परे राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने अभिव्यक्ति दिएका थिए । त्यस लगतै महामन्त्री प्रकाशशरण महतले मध्यावधी निर्वाचनको सन्दर्भ पनि उठाएका थिए । पछिल्लो समय सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री लगाएत नेकपाको विभिन्न खेमाका नेताहरुसंगको बाक्लै भएको समाचारहरुमा आएका छन् ।
कांग्रेस नेता गुरुराज घिमिरलाई केही दिन अगाडी एक टेलिभिजन अन्तवार्तामा सरकारमा सहभागितको प्रश्न गर्दा उनले नकारेनन् बरु देशलाई आवश्यकता परेको खण्डमा सहभागी हुन सकिने आशयको जवाफ दिएका थिए ।
नेताहरुका अभिव्यक्ति सुन्दा र घटनाक्रम हेर्दा कांग्रेस नेतृत्व सरकारमा सहभागी हुन हतारिएको जस्तो देखिएको देखिन्छ । तर कांग्रेस भित्रै यस्तो जमातपनि छ जो तत्काल सरकारमा सहभागीको कुरा जनताको अभिमत विपरित हुने धारणा राख्दछ । पौडेल र महतको अभिव्यक्तिको लगतै प्रवक्ता विश्वप्रकाश शर्माले पछिल्लो समय कतिपय नेताहरुबाट आएका धारण व्यक्तिगत भएको र त्यसलाई पार्टीको धारणा बनाउन नहुने ट्वीट गरे । अर्का नेता गगनकुमार थापाले लक डाउनका बेला कुनै नेताको दिमागमा सरकारमा सहभागितको कुरा आएको भए उक्त विचारलाई आफ्नै दिमागमा लक गर्न आग्रह गरे । शर्मा र थापाका अतिरिक्त थुप्रै यस्ता कांग्रेस नेता कार्यकर्ता छन् जो अहिले कांग्रेस सरकारमा सहभागी हुन नहुने विचार राख्छन् । कांग्रेसको कार्यकर्ता र शुभचिन्तक चिन्तकको धारणा छ, यतिबेला कांग्रेस सत्तामा जाने होइन बरु नागरिकका दुःख सुख बुझ्न गाउँ जाने हो । सरकारको गलत कामको बारेमा नागरिकलाई जानकारी गराउने हो अनि संगठन गर्ने हो । कांग्रेस सत्तामा सहभागी हुन लाग्यो भन्ने बजार हल्ला चलिरहँदा अहिले प्रवक्ता शर्माले कांग्रेस सत्तासञ्चालन गर्ने भनेर सिहदरबार नछिर्ने बताएका छन् ।
के कांग्रेस नेतृत्व आम कार्यकर्ताको भावनाको कदर गर्दै र अघिल्लो निर्वाचनमा मतदाताले दिएको अभिमतको कदर गर्दै सत्ता र शक्तिको झिनाझम्टीबाट पर रहला ? यो प्रश्नको भरपर्दाे जवाफ कसैले पाएका छैनन् । तर आम शुभ चिन्तक भन्छन्, यतिबेलाको कांग्रेसको सत्ता यात्रा उसकालागि घातकक हुन्छ । चाहे त्यो ओलीसंगको सहकार्यमा होस् चाहे प्रचण्ड वा अरु कोही । ओली दोस्रो पटक सत्ता सम्हालेको साढे दुइ वर्षमा यति बदनाम भएका छन् कि उनीसंग सत्ता सहकार्य गर्दा उनको बदनामीको भागिदार कांग्रेस पनि हुनुपर्छ र त्यसको परिणाम आगामी निर्वाचनमा कांग्रेसलाई अझै घाटा पर्ने उनीहरुको भनाई छ । अन्य नेताहरुपनि परिक्षण गरिसकिएका भएका र उनीहरुबाट पनि अपेक्षित काम हुन नसक्ने भएकाले सत्ता यात्रा कांग्रेका लागि फलदायी नहुने कार्यकर्ताको आंकलन हो । वरिष्ठ पत्रकार किशोर नेपाल पनि अहिले कांग्रेस सरकारमा सहभागी हुन नहुने विचार राख्छन् । नेपालका अनुसार कांग्रेसको अहिलेको सत्ता यात्रा उसकालागि प्रत्युत्पादक हुनेछ ।
कांग्रेसको सत्ता यात्रा घातक
previous post