दमौली शिक्षक कल्याकारी कोषको तर्फबाट कोषका बचतकर्ताहरुलाई राहत वितरण गरिएको छ । नेपाल शिक्षक संघका अध्यक्ष कमलभक्त पोख्रेलले दिएको जानकारी अनुसार कोषले तनहँु जिल्लामा कार्यरत कोषका बचतकर्ता शिक्षकहरुलाई राहत रकम वितरण गरेको हो । अध्यक्ष पोख्रेलका अनुसार जेठ १९ गते विभिन्न रोग तथा दुर्घटनाको उपचार गराएका बचतकर्ता शिक्षक र मृत्यु भएका शिक्षकको परिवारका सदस्यलाई कोषका तर्फबाट राहत रकम वितरण गरिएको हो ।
कोषको विधानमा व्यवस्था भए अनुसार खुट्टा भाँचिएर उपचार गराउनु भएकी भानु मावि व्यासकी शिक्षक सुनी माया गिरीलाई रु १० हजार तथा क्यान्सरका कारण मृत्यु भएका महेन्द्र मावि राइपुरका शिक्षक हरि पोख्रेलकी धर्मपत्नी कला पंगेनी पोख्रेललाई किरिया खर्चबापत रु १३ हजार रुपैयाँ वितरण गरिएको हो । शिक्षक पोख्रेलका परिवारलाई उपचार खर्च बापतको सहयोग रमक पहिले नै उपलब्ध गराइसकिएको अध्यक्ष पोख्रेलले बताए ।
यसैगरी गोडाको बोनम्यारो भएका जलदेवी माविका शिक्षक पुरुषोत्तम पण्डितलाई रु २६ हजार , मुटुको अपरेशन गरेका महेन्द्रज्योति मावि शिसाघाटका शिक्षक बुद्धिसागर सुवेदीलाई रु ५२ हजार, क्यान्सर पिडित दिपक मावि भिमादका शिक्षक विश्वराज गैह्रेलाई रु ५२ हजार र प्यारालाइसिस पिडित शिवपञ्चायन मावि व्यास ३ का शिक्षक हेमलाल घिमिरेलाई रु ५२ हजार राहत सहयोग वितरण गरिएको पोख्रेलले जानकारी गराएका छन् ।
सोही अवसरमा दुबै मृगौला फेल भएर उपचार गराइरहेका महेन्द्र मावि म्याग्देका शिक्षक विनोददत्त खनाललाई ५२ हजार रुपैयाँ तथा क्यान्सर लागेर मृत्यु भएका अरुणोदय आधारभूत विद्यालय आँबु ५ का शिक्षक भुवनबहादुर आलेका छोरा छविदीप आलेलाई उपचार खर्च बापतको रु ५२ हजार र किरिया खर्च बापतको रु १३ हजार गरी रु ६५ हजार राहात सहयोग प्रदान गरिएको हो ।
राहत वितरण पछि अध्यक्ष पोख्रेलले कल्याणकारी कोषमा रकम जम्मा गर्नुहुने शिक्षकहरु प्रति आभार प्रकट गर्दे विरामी शिक्षकहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरे । पोख्रेलले कोषका संचयकर्ताहरुले मुटु , मृगौला, क्यान्सर, प्यारालाइसिस जस्ता रोगहरुबाट पिडित भई उपचार गराइरहनु भएको भए राहात रकम माग गर्न समेत आग्रह गरे ।