24.1 C
Damauli
September 21, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

अस्तित्व रक्षाको लडाइँमा कांग्रेस–एमाले

रमेश पोखरेल

संसदका दुई ठूला र पुराना दल मिलेर सरकार गठन भएको सोमबार सय दिन पुगेको छ । सय दिनको अवधिलाई सरकारको मधुमास भनिन्छ र यो अवधिमा सरकारको आलोचना खासै
गरिँदैन । यो अवधिमा राम्रा कामको सुरुवात भएमा सरकारले आगामी दिनमा राम्रा काम गर्ने विश्वास आम नागरिकले गर्छन् । तर ओली नेतृत्वको वर्तमान सरकारको यो सय दिनको काम जस्ट पासमार्क दिन पनि हिच्किचाउनु पर्ने खालको रह्यो ।
साढे तीन दशकदेखि आलोपालो सत्तामा रहेका तर जनअपेक्षा अुनकूल काम गर्न नसकेका यि दुई दलले संयुक्त सरकार बनाउँदैमा चमत्कारै भै हाल्ला भन्ने कसैलाई विश्वास थिएन र छैन । जीवनको उत्तरार्धमा पुगेका ओली र देउवाले आफ्नो मलामीको लाइन लामो बनाउने लोभमै भएपनि केही सकारात्मक काम गर्लान भन्ने झिनो आशा आम नागरिकमा थियो । “मर्निङ सोज द डे” भन्ने अंग्रेजी भनाईलाई मान्ने हो भने ओली नेतृत्वको सरकारको मर्निङ उत्साहजनक नभएकाले दिन राम्रो नहुने भयो भन्न अप्ठ्यारो मान्नु पर्ने छैन ।
असार १७ मध्यरात नेपाली कांग्रेससंग भएको सहमती कार्यान्वयन ओलीको प्राथमिकतामा हुनु पर्ने हो तर किन हो त्यता उनको ध्यान गएको अनुभूति नेपाली नागरिकले गर्न पाएका छैनन् । चौथो कार्यकालका लागि नेपालको ४५ औं प्रधानमन्त्री बनेका ओली दागी र पूर्व परिक्षित तर असफल सहकर्मी लिएर कसरी सफल हुन्छु भन्ने ठानेका छन् ? उनै जानुन तर पुराना दलहरु प्रति बढ्दो वितृष्णा कम गर्ने हो भने दिन रात नभनी जनताका पक्षमा सकारात्मक काम गर्नु पर्ने छ ।
सर्वत्र व्याप्त निराशा चिर्दै आम नागरिकका आशा जगाउनु, देशको बढ्दो व्यापार घाटा कम गर्नु, महंगीले आहात नागरिकलाई राहत प्रदान गर्नु, नक्सामा समेटिएको कालापानी, लिपुलेक, लिम्पियाधुरा व्यवाहारिक रुपमै फिर्ता ल्याउनु, भारतसंगको सिमा विवाद समाधान गर्नु, साधारण खर्च र विकास खर्चबीचको बढ्दो खाडल कम गर्नु, बढ्दो वैदेशिक ऋणको भार कम गर्नु आदि ओली सकारका चुनौति हुन् । तर ओलीलाई यता खासै चासो भएको देखिएको
छैन । झण्डै दुइ दर्जन मन्त्री छन् । कोही काम गर्न नसकेर बद्नाम छन्, कोही गुमनाम छन् । एकाध प्रदिप पौडेल जस्ता मात्र काममा लागि परेजस्ता देखिन्छन् ।
ओली र उनी नेतृत्वको सरकारको असफलताले कांग्रेस तथा एमाले जस्ता ठूला र पुराना दलहरुलाई अस्तित्व रक्षाको लडाईँमा होमिनु पर्ने अवस्थामा पु¥याएको छ । तर के अस्तित्व रक्षाको त्यो कष्टकर लडाईँ लड्न सत्ताको चास्नीमा चुर्लुम्म डुबेर देख्ने र सुन्ने शक्ति गुमाएका कांग्रेस तथा एमालेका नेताहरु तयार होलान ?
अस्तित्व रक्षाकालागि हरेकले कति कष्टकर दिनहरुबाट गुज्रनु पर्छ भन्ने सन्दर्भमा मित्र छविदीप आलेले केही दिन अगाडि सुनाउनु भएको बाजको कथा प्रस्तुत गर्न चाहन्छु । त्यसपछि थप चर्चा गर्नेछु । कथा यस्तो छ, शिकारी पंक्षी बाजको सामान्य आयु ७० वर्ष हो तर उ ४० वर्षको हुँदा उसका पंखेटाहरु बढेर गह्रौं हुन्छन् र उ सहजै उड्न नसक्ने अवस्थामा पुग्छ । उसका नङ्ग्रा शिकार समात्न निमिल्ने गरी लामा हुन्छन् अनि ठूँड बल्लतल्ल समातेको शिकार खान नमिल्ने गरी लामो र कुप्रिएको हुन्छ । यतिबेला उसका सामु तीनवटा विकल्प हुन्छन् । एउटा नखाई नखाई मर्ने अर्काे गिद्धले झै सिनो खाने र घिसिपिटी जीवन जीउने र तेस्रो ठुँड, पंखेटा र नङ्ग्रा नयाँ पलाउने अवस्था बनाएर पुर्नजीवन प्राप्त गर्ने र बाँकी ३० वर्ष आनन्दले जीउने ।
बाजले तेस्रो विकल्प रोज्छ र कुनै पहाडको नजिकै आफ्नो गुँड बनाएर पहिले आफ्नो लामो र घुुम्रिएको ठुँडलाई पहाडको चट्टानमा ठोकेर उप्काएर फाल्छ । यसो गर्दा उसको शरिरबाट धेरै रगत बग्छ, धेरै पीडा हुन्छ । कुनै बेला उ बेहोस पनि हुन्छ । तर उसले पछिल्लो ३० वर्षको सुखमय जीवन सम्झेर सबै दुःख कष्ठको समाना गर्छ । ठुँड पलाए पछि भारी भएका पंखेटालाई ठुँडको सहायताले उप्काएर फाल्छ भने शिकार गर्न नमिल्ने गरी लामा भएका नङग्रा पनि चट्टानमा ठोकीठोकी उप्काएर फाल्छ । झण्डै ६ महिना लामो कठोर संघर्ष पछि उसले नयाँ जीवन पाउँछ र बाँकी ३० वर्ष आनन्दले व्यतित गर्छ ।
सात दशकभन्दा बढी उमेरका दुइ दल नेपाली कांग्रेस र नेकपा एमालेको अहिलेको अवस्था ४० वर्षे बाजको जस्तै छ । निरंकुशता विरुद्ध पटक पटक आन्दोलन गरेको, वर्षाै जेल बसेको, बीपीको पार्टी वा पुष्पलाल र मनमोहनको पार्टी अर्थात हिँङ बाँधेको टालो बाहेक जनमत आकर्षित गर्ने एजेण्डा गुमाउँदै गएका छन् । र उनीहरुसंग पनि बाजसंग जस्तै तीन विकल्प छन् । पहिलो, अहिले जस्तै निकम्मा बनेर आफुलाई असान्दर्भिक बनाउँदै लैजाने र छिट्टै राजनैतिक अवसानको बाटो समात्ने । दोस्रो , भ्रष्ट, दलाल र व्यापारीहरुको सेवा तथा अपराधीलाई राजनैतिक रङ दिएर संरक्षण गर्दै केही प्राप्त गर्ने अनि त्यसैको बलमा अरु एक डेढ दशक घिसिपिटी चल्ने । आफ्नो र दलको राजनैतिक अवसानको साक्षी बन्ने । तेस्रो भ्रष्ट, अपराधी, दलाल र अवसरवादी आसेपासेहरुलाई निर्ममता पूर्वक पार्टीबाट पन्छाएर असल, त्यागी र इमान्दार नेता, कार्यकर्ता र नागरिकको पार्टी बनाउने अनि अझै धेरै वर्ष सत्ताको बागडोर सम्हालेर देशलाई समुन्तिको मार्गमा डो¥याउने ।
र अन्त्यमा बाजका लागि उसले रोजको तेस्रो विकल्प जति कठिन थियो । त्यतिनै कठिन विकल्प हो, कांग्रेस–एमालेका लागि प्रस्तुत तेस्रो विकल्प । तर यदि पार्टी र आफ्नो राजनैतिक जीवनको पुर्नजीवन र दीर्घायूको अपेक्षा गर्ने हो भने यि दुबै दलका नेता कायकर्ताले तेस्रो विकल्प रोज्नु अनिवार्य छ । तर प्रश्न र आशंका के मा हो भने, के कांग्रेस–एमाले अस्तित्व रक्षाको त्यो कठिन लडाईँ लड्न तयार होलान् ? दलाल, भ्रष्ट, अपराधी र अवसरवादीहरुको चंगुलबाट उम्कने र आ–आफ्ना दललाई विभेद रहित व्यवहार गरिने, युवालाई उपयुक्त अवसर दिइने, त्यागी र इमान्दार कार्यकर्ताले उचित अवसर पाउने लोकतान्त्रिक दलको रुपमा कांग्रेस–एमालेले आफुलाई रुपान्तरित गर्न यसका नेताहरुले अग्रसरता लेलान ? तेस्रो विकल्प रोजेर साही अनुसार काम थाल्ने अग्रसरताको प्रतिक्षा ।

Related posts

नयाँ वर्षको शुभकामना-सम्पादकीय

admin

समय सन्दर्भ

Deepak Joshi

कांग्रेसमा युवा नेतृत्व

admin