कमलावारी/सिद्धेश्वरी मावि व्यास–१२ का बालबालिकालाई बाल अधिकारको इतिहास र बाल अधिकार महासन्धीका बारेमा प्रशिक्षत गराउन एक दिने तालिम सम्पन्न गरिएको छ ।
विद्यालय तथा रुम टु रिडको आर्थिक र जनशक्ति सहयोगमा मंगलबार विद्यालयको सभाकक्षमा आयोजित तालिममा बाल क्लबका सदस्य तथा अन्य विद्यार्थी गरी १५ जनाको सहभागिता रहेको थियो ।
तालिममा बाल अधिकारको इतिहास तथा बाल अधिकार महासन्धीका विषयमा बालक्लब संयोजक शिक्षक रमेश विकलले सहजिकरण गरेका थिए । यसैगरी बाल अधिकारका चार पक्षका बारेमा अर्का सहजकर्ता छविदीप आलेले जानकारी गराएका थिए ।
रुम टु रिडकी कार्यक्रम संयोजक हेमन्तिका राईले तालिमका क्रममा बाल संरक्षणका विविध पक्षका साथै बालबालिकालाई हानी गर्ने हाम्रा समाजिक प्रथा र परम्परा बारे जानकारी गराएकी थिइन् ।
तालिममा बाल अधिकारको इतिहास तथा बाल अधिकार सम्बन्धि महासन्धीका बारेमा जानकारी प्राप्त भएको र त्यो आफुहरुलाई उपयोगी लागेको बाल क्लबकी अध्यक्ष सजना गैरेले बताइन् । क्लबकी कोषाध्यक्ष स्मृति थापाले भनिन्, तालिममा बाल अधिकारका चार पक्षबारे जानकारी पाउनुका साथै यसले आफ्ना कर्तव्यका बारे बाल क्लबका सदस्यहरु जानकार भयौं ।
तालिमका सहभागी ऋषी सिंजालीले तालिममा बाल अधिकारका पक्षमात्र होइन आफ्ना कर्तव्यबारे पनि जानकारी पाइएको बताए । अर्की सहभागी कक्षा ६ की छात्रा स्वस्तिका थापाले बाल अधिकारका कुरालाई विश्व समुदायमा लैजाने एग्लान्टाइन जेबको बारेमा तालिममा जान्न पाउँदा खुसी लागेको बताईन् ।
रुम टु रिडकी समुदाय परिचालक सुस्मिता सुनारको समेत सहजिकरण रहेको तालिममा नेपालको संविधान २०७२ को धारा ३९ मा व्यवस्था भएको बालबालिकाको मौलिक हक बारेमा समेत जानकारी गराइएको थियो । बालबालिकालाई अधिकारको समग्र पक्षको जानकारी गराउँदै कर्तव्यको बारेमा सूचित गर्न तालिमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक एवं बालक्लबका संरक्षक नारायणप्रसाद अधिकारीले बताए ।
बालबालिकालाई प्रशिक्षण
previous post