दमौली/नेपाली काँग्रेसका संस्थापक जननायक युग पुरुष वी.पी. कोइरालाको १०९औं जयन्ती तनहुँको फरक फरक तीन ठाउँमा मनाइएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति तनहुँले वी.पी. स्मृति भवन दमौलीमा जनतासंग नेपाली काँग्रेस नामको पहिलो चरणको चुनाव केन्द्रित कार्यक्रम समापन गर्ने क्रममा १०९औं वी.पी. स्मृति दिवस मनायो । अर्कोतर्फ वी.पी. विचार समाज तनहुँ अन्तरगतको निर्वाचन क्षेत्र नं. १ क्षेत्रीय समितिले बन्दिपुरमा र निर्वाचन क्षेत्र नं. २ क्षेत्रीय समितिले भिमादमा प्रवचन तथा अन्तरक्रिया कार्यक्रम गरेर मनाएको छ ।
तीन छुट्टाछुट्टै कार्यक्रममा काँग्रेस कार्यकर्ताहरु एकले अर्कोलाई वी.पी. वाद छोडेको आरोप लगाए । नेपाली काँग्रेसको तर्फबाट लगाइएको अरोप थियो– सूर्य चिन्ह लिएर चुनाव लड्नेहरुले वी.पी. वादको प्रचार गरेर हिड्न मिल्दैन । संगसंगै रामचन्द्र पौडेलले भनेका थिए– अहिलेको गठबन्धन वी.पी. वाद अन्तरगतको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको हो । अर्को तर्फबाट वी. पी. विचार समाज आयोजना गरेको प्रवचन तथा अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसले वी.पी. वाद छाडेको आरोप लगाउँदै भनेका थिए–नेपाली काँग्रेसले बहूदलीय प्रतिष्पर्धालाई निस्तेज पार्दै सत्ता प्राप्ति र संरक्षण गर्नुपर्ने स्वार्थपूर्ति गर्न अपववित्र अरानीतिक गठबन्धन गरेर वी.पी. वादलाई त्यागेको छ ।
दुईथरी काँग्रेसको जुहारी देखिेका, सुनेका, पढेका आममतदाता भने आउँदो संसदीय चुनावमा दलगत उम्मेदवारलाई मतदान नगरेर स्वतन्त्र उम्मेदवारलाई मतदान गरेर जिताई दलगत एकाधिकारवादलाई अन्त्य गर्ने मानसिकता देखाएका छन् ।
वी.पी. विचार समाज तनहुँका सचिव कमलभक्त पोख्रेलको नेतृत्वमा भिमादमा वी.पी. जयन्ती मनाइएको थियो । सो कार्यक्रममा वी.पी. विचार समाज तनहुँका सचिव कमलभक्त पोख्रेल, नेका तनहुँका पूर्व सदस्य ऋषिराम पोख्रेल, क्षेत्रीय सभापति नरेन्द्र थापा, निलकण्ठ सिग्देल, सचिव बलराम गैह्रे, भिमाद नगर समितिका सभापति दिनानाथ पराजुली, म्याग्दे सभापति विष्णुप्रसाद श्रेष्ठ र घिरिङ सभापति रामचन्द्र वस्ताकोटी समेतले आ–आफ्नो धारणा राखेका थिए ।