आज अप्रिल ७, २०२२ । विश्व स्वास्थ्य दिवस । नेपालमा यो दिवस, “स्वच्छ वातावरण, स्वस्थ नेपाली” भन्ने नाराका साथ मनाईँदैछ भने विश्वभर, “हाम्रो ग्रह, हाम्रो स्वास्थ्य”भन्ने नाराका साथ मनाईँदैछ । नेपालले तय गरेको नाराको आशय र विश्व स्वास्थ्य संगठनले तय गरेको नाराका बीच धेरै समानता छ । दुबैले यो वर्ष वातावरणीय स्वच्छताको कुरा गरेका छन् ।
नेपालले वातावरण स्वच्छ रहे नागरिक स्वच्छ हुने कुरा गरेको छ भने विश्व स्वास्थ्य संगठनले पनि सोही कुरामा जोड दिएको छ । अर्थात वातावरण स्वच्छ राखेर ग्रहलार्ई मानिस वस्न लाएक बनाउने भनेको छ । विश्व स्वास्थ्य संगठनले मानव र ग्रहलाई स्वस्थ राख्न र यस विषयमा चेतनशील समाज निर्माण गर्ने आन्दोलनलाई बढावा दिन तत्काल आवश्यक कार्यहरूमा विश्वव्यापी ध्यान केन्द्रित गर्नेछ । साथै सबैलाई सफा हावा, पानी र खाना उपलब्ध गराउने पृथ्वीको परिकल्पना गर्दै त्यता तर्फ कदम चाल्न पनि यस वर्षको नाराले विश्व समुदायलाई प्रेरित गर्नेछ ।
विश्व स्वास्थ्य संगठन भन्छ, विश्वमा हरेक वर्ष झण्डै १३ करोड मानिस वातावरणीय प्रदुषणको शीकार भएर मृत्युवरण गर्दछन् । हाम्रा राजनीतिक, सामाजिक र व्यावसायिक निर्णयहरूले जलवायु र स्वास्थ्य संकटलाई निम्त्याइरहेका छन् । हाम्रो ग्रह अर्थात पृथ्वीको स्वास्थ्यमा समस्या आउँदा हाम्रो जीवनपनि संकटमा पर्ने निश्चित छ । बढ्दो प्राकृतिक श्रोतको दोहन तथा जीवाश्म इन्धनको प्रयोगले पृथ्वीको स्वास्थ्य दिनानुदिन विग्रँदै गएको छ । यसका कारण विभिन्न प्राकृतिक प्रकोपको शीकार मानिस हुनु परेको छ भने नयाँ नयाँ खालका र मानव सभ्यतालाई नै खतरामा पार्ने खालका रोगहरु देखा पर्न थालेका छन् ।
यस्तो अवस्थामा मनाइँदै गरेको विश्व स्वास्थ्य दिवसले हामी सबैमा वातावरण स्वच्छ राख्ने उत्प्रेरणा प्रदान गर्नु पर्दछ । यसका साथै स्वस्थ जीवन बाँच्नका लागि हामी स्वयम् पनि यस तर्फ थप सजग हुनु जरुरी छ । पृथ्वीको स्वास्थ्यसंग जोडिएको हाम्रो स्वास्थ्य रक्षाका लागि पृथ्वीको स्वास्थ्य जोगाउन वातावरण संरक्षण गरौं र आफुले दीर्घ जीवन प्राप्त गरौं ।
स्वास्थ्य दिवसको सन्देश-सम्पादकीय
previous post