दमौली/सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ५सम्मका बालबालिकाका लागि १ सय ८० को दिवा खाजा खर्च बापत प्रति विद्यार्थी प्रति दिन रु १५ का दरले रकम दिने निर्णय गरेसंगै विद्यालयहरुले दिवा खाजा खुवाउन सुरु गरेका
छन् ।
तनहुँमा पनि कोभिड–१९को संक्रमण कम भएसंग खुलेका सामुदायिक विद्यालयहरुले खाजा खुवाउन थालेका छन् । खाजाको रकम पर्याप्त त छैन नै खाजा बनाउने तथा खुवाउने भाँडाको जोरजाम तथा खाजा बनाएर खुवाउने मान्छेको लागि पारिश्रमिकको व्यवस्था गर्न विद्यालयहरुलाई निकै सकस भएको छ । सकसलाई पन्छाउँदै विद्यार्थीहरुलाई स्वस्थकर खाजा खुवाउन लागि परेका विद्यालयहरुले यसको सकारात्मक परिणाम आएको बताउन थालेका छन् ।
शिवसरस्वती मावि ऋषिङका प्राचार्य विष्णुप्रसाद बराल माघ दोस्रो साताबाट दिवा खाजा कार्यक्रम सुरु भएकाले सिकाई उपलब्धीमा सुधार आएको÷नआएको बारे केही भन्ने अवस्था नभएपनि कक्षामा अनुपस्थित हुने दर भने घट्दै गएको बताउँछन् । तर उपस्थिती नियमित भएसंगै सिकाई उपलब्धीमा पनि सकारात्मक परिवर्तन आउने आशा गर्न सकिने उनको कथन छ । अभिभावकहरुले घरबाटै खाजा ल्याईदिने व्यवस्था गरिएको बताउँदै बरालले पसलमा किन्न पाइने चाउचाउ तथा विस्कुट जस्ता खाजा नपठाउन आफुहरुले अभिभावकलाई आग्रह गरको बताए ।
श्रृङ्ग माविका प्रधानाध्यापक टंकबहादुर थापापनि दिवा खाजका कारण विद्यार्थी उपस्थिती बढ्दै गएको बताउँदै अभिभावकले छोरा छोरीका लागि दैनिक खाजा खाने खर्च जोहो गर्ने झण्झटबाट मुक्त भएकोमा खुसी लागेको बताउने गरको बताउँछन् । यसैगरी शहीद गंगा मावि ऋषिङ–२ का सहायक प्राचार्य विजय पराजुली पनि सिकाई उपलब्धीमा सुधार आए नआएको भनेर मूल्याङ्कन गर्ने बेला नभएको भन्दै दैनिक उपस्थिती दरमा भने सकारात्मक परिवर्तन आएको बताउँछन् ।
घिरिङ–५ स्थित सरस्वती माविका शिक्षक कमल नेपालीका अनुसार बालबालिकालाई हप्ताका ६ दिन नै फरक फरक खाजा खुवाउने गरिएको छ । चना–अण्डा, पुरी–तरकारी, भुजा–तरकारी, जाउलो जस्ता खाजा खुवाउने गरिएको शिक्षक नेपालीले बताए ।
पार्वती आधारभूत विद्यालय म्याग्दे–३ मा भने दिवा खाजा सुरु भएको लामो समय भयो । शिक्षक चन्द्रकला पौडेलका अनुसार दिवा खाजा सुरु भए अगाडि र अहिलेको अवस्था विश्लेषण गर्दा सिकाईमा सुधार भएको छ । खाजा कार्यक्रमले उपस्थिती नियमित भएसंगै सिकाई उपलब्धिमा सुधार हुनु स्वाभाविक भएको भन्दै शिक्षक पौडेल नतिजा विश्लेषणले त्यहि तथ्य प्रमाणित गरेको बताउँछिन् ।