दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाको ३८औं साधारण सभा सुक्रबार दमौलीमा सम्पन्न भएको छ । साधारण सभामा शाखाले एक स्वयम् सेवक र उत्कृष्ठ एक उपशाखालाई सम्मान गरेको छ । २७ उपशाखाका सभापति तथा सभासदहरुको सहभागिता रहेको सो साधारण सभा तनहुँ जिल्ला समन्वय समिति तनुहँका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यतामा भएको थियो ।
साधारणलाई सम्बोधन गर्ने क्रममा प्रमुखअतिथि शान्तिरमण वाग्लेले दमौली अस्पतालको एउटा कोठामा रेडक्रस सोसाईटी तनहुँ शाखाले सञ्चालन गरेको ब्लड बैंकको निरन्तरता र अस्पतालबाट प्रदान गरिएको किड्नीको डाइलासिसको उपचारको निरन्तरताका लागि जिल्ला समन्वय समितिको ध्यानाकर्षण भएको घोषणा गर्नु भएको थियो साथै स्थानीय तहसंग समन्वय गरी पूर्ण दुवै सेवाको निरन्तरताका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
विशिष्ठ अतिथि नगरप्रमुख बैकुण्ठ न्यौपानेले रेडक्रसले आफ्ना सात सिद्धान्त अनुसार चल्नु पर्ने कुरामा जोड दिंदै ब्लड बैंकको निरन्तरतालागि आफ्नो तर्फबाट सहयोग रहने बताउनु भएको थियो । त्यसैगरी नगरप्रमुख न्यौपानेले किड्नीको डाईलासिसले धेरैलाई राहत भएको, व्यास नगरपालिकाले यातायात खर्च वापत मासिक एक हजार रुपयाँ उपलब्ध गराएको चर्चा गर्दै अब डाईलासिस सेवाको निरन्तरताको लागि जिल्ला समन्वय समितिले स्थानीय तहसंग समन्वय गर्नु पर्ने सुझाव पनि राख्नु भएको थियो । प्रदेश सरकार माहतपुगे पछि दमौली अस्पतालले चलाएको औषधी पसलप्रति व्यापक गुनासो आएको चर्चा गर्दै नगरप्रमुख न्यौपानेले नेपाल सरकारको नीतिगत व्यवस्थाका कारण आफैले हटाउन परेको बताउनु भयो । रेडक्रसले त्यो बेलासम्म चलाएको औषधी पसलले उपलब्ध गराएको सेवा र विपद व्यवस्थापनमा खेलेको भूमिकाको खुलेर प्रसंसा गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी केन्द्रिय तदर्थ समितिका सदस्य प्रदीप घिमिरेले विधान संसोधनको अभियानमा उपशाखा रहने वा नरहने व्यापक चर्चाका बीच आफू उपशाखाको अस्तित्व बचाउने अभियानमा लागेको बताउनु भयो । विपत प्रतिकार्य योजनाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यले रेडक्रसले आफ्नो पहिचान बचाएर काम गर्न आव्हान गर्दै मानव सेवाका कार्यमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।
शाखा सभापति कृष्णहरि गैह्रेको सभापतित्वमा भएको सो साधाण सभालाई सम्मानित स्वयम सेवक गजरकोट उपशाखाका संस्थापक सभापति गोपालप्रसाद भण्डारी, सम्मानित दुम्सिकोट उपशाखाका सभापति रामदत्त पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो ।
साधारण सभाले मन्त्री चिनु पोखरेलले पेश गर्नु भएको बार्षिक प्रगति प्रतिवेदन पास गरेको थियो । त्यसैगरी कोषाध्यक्ष हरिहरण पण्डितले पेश गरेको आर्थिक प्रतिवेदनमा लेखापरिक्षकको वासलात नमिलेको तर्फ सभासदहरुले टिप्पणी गरेका थिए । सभाले आर्थिक प्रतिवेदन संसोधन सहित पास गरेके थियो ।
साधारण सभाले विधान संसोधन समितिलाइ अहिले भएको शाखा र उपशाखालाई कायम राखेर पालिका स्तरमा, वडा स्तरको उपशाखाको संरचना कायम गर्न सुझाव दिने प्रस्तावलाई अनुमोदन गरेको छ । त्यसैगरी ब्लड बैंकको उचित व्यवस्थापन र निरन्तरताको लागि आवश्यक कार्य गर्न जिल्ला शाखालाई अख्तियारी प्रदान गरेको छ । त्यसैगरी ब्लड बैंकको लागि भवन निर्माण गर्न आवश्यक जग्गा व्यवस्थापन गर्ने पनि निर्णय गरेको छ ।
३८औं सभा सम्पन्न
previous post