स्पष्ट बहुमतको सरकारले दुई बर्ष भन्दा बढी कार्यकाल बॉकी छदै नेपाल सरकारले २०७७ पौष ५ गते संसद विघटन गरिदिएको छ । कारण सत्तापक्षीय दलभित्रको सत्तालुछाचुडी थियो । विघटन पछि नेपाली कॉग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा र नेकपा सरकारका गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलको भूमिका संकास्पद देखिएको छ ।
नेपाली राजनीतिको अग्रस्थानमा रहेका यी दुई नेताको भूमिका झट्ट हेर्दा बुझ्दा र पढ्दा पद प्रतिष्ठा र राष्ट्रीय सम्मानकाे भोक र आर्थिक लाभमा सीमित देखिन्छ । तर अन्तर्य पढ्दा बुझ्दा मनन गर्दा शेरबहादुर देउवाको भूमिका अमेरिकी स्वार्थबाट निर्देशित देखिन्छ भने रामबहादुर थापा बादलको भूमिका भारतीय स्वार्थबाट निर्देशित देखिन्छ । भूमिकाले सिर्जित आशंका मिश्रीत आरोप हुन यी ।
देउवाको भूमिका:
विगत भूमिकाले आफ्नो राजनीतिक आदर्श, सिद्धान्त,विचार र राष्ट्रीय स्वार्थबाट देउवालाई निर्देशित गर्न सकेको देखिदैन ।सांसद खरिदविक्री, पजेरो प्रकरण, आफैले गरेको संसद विघटन र पछिल्लो पटक प्रधानमन्त्री खड्गप्रसाद ओलीको संसद विघटनप्रति प्रतिपक्षी दलको भूमिका देखाउन नसक्नुले ती आरोपलाई समर्थन गरेका छन् । संसद विघटन गरेको सरकारले संविधान र संसदीय मूल्य मान्यता विरूद्ध सरकारले संवैधानिक निकायका ४५ पदमा नियुक्ति दिंदा पार्टीको लागि होईन आफ्ना व्यक्तिगत मान्छेलाई समेत भागबण्डामा पारेर प्रतिपक्षी दलका नेता मुदर्शक बनेको देखिएको छ ।
थापाको भूमिका:
रामबहादुर थापाको भूमिका पनि सत्ताशक्ति र स्वार्थमा मात्र सीमित देखिए पनि भित्रीगुह्य रहस्य त्यस्तो देखिदैन । राष्ट्रीय स्वार्थ विरूद्ध प्रयोग भएको देखिन्छ । पहिलो दृष्य त आफूलाई थापा समूहको भनेर पहिचान बनाएर सहयोग गरेका देव गुरूं, सिपी गजुरेल, पम्फा भुसाल लगाएतको बरिष्ट साथीहरूलाई त्यागेर एक्लै ओली गुटमा सामेल हुनु । दोस्रो, छ महिना अगाडि झम्सीखेल भेलामा ओलीको खरो विरोध गर्दै पार्टी र सरकारमा नयॉ नेतृत्व ल्याउनु पर्ने विचार सार्वजनिक गर्नु, अनि विघटन पछि केही दिनको मौनता देखाई, छ महिनापछि आएर ओलीलाई समर्थन गर्दै स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि सरकारले प्रतिनिधी सभा विघटन गरेको बताउने । स्वाभिमानी, देशभक्त, देश र जनताप्रति निष्ठा भएको क्रान्तिकारी नेताले निमेषभरमै आफ्नो विचार बदल्दैन । निर्देशित र परिचालित व्यक्तिलाई मात्रै यस्तो भूमिका पाच्य हुन सक्दछ ।
नेपाली राजनीतिक धरातलमा देउवा र थापा प्रवृत्ति भएका नेता धैरै नै भएको आरोप लागेको छ ।त्यसैले त सुधिर थापाले लेखेको जस्तो कसैको ‘प्रयोगशाला’ भएको छ नेपाल । विश्वपरिवेशमा स्वतन्त्र अस्तित्व र प्राकृतिक सम्पदाको धनी देश आज लोकतन्त्र आएपछि झनै अधिनस्त जस्तो बन्दै गएको छ । विकाश गर्न होईन, सरकार चलाउन विदेशी बैंकबाट ऋण लिन पर्ने अवस्थामा पुगेको छ ।भ्रष्टहरूले शासनसत्ता कब्जा गरेको देश बन्न पुगेको छ । स्वशासित नेपाली स्वाभिमान, मौलिक पहिचान र राष्ट्रीय स्रोत साधनको स्वतन्त्र संरक्षण र परिचालनका लागि देशले असल राजनेता खोजी रहेको छ ।