दृश्य १
माहोल रङ्गीन थियो, रमाइलो थियो । स्कुल पढ्दाताकाका वर्षाे पुराना साथीहरु देखि लिएर क्याम्पस सङ्गै पढेका साथीहरु पनि थिए । धेरै साथीहरु एकैपटक भेटघाट हुने वातावरण मिलेको थियो, अझ भनौं हामीले नै मिलाएका थियौं । पुराना साथीहरु धेरैपछि भेट हुँदाको खुसी साट्न र हालचाल बुझ्न मै व्यस्त थिए भने पहिलो पटक भेट भएकाहरु एक अर्काका परिचय लिनमा व्यस्त थिए । स्कुल, क्याम्पस कहाँ पढेको आदि इत्यादि सोध्दै थिए । जे होस् समग्रमा रमाइलो वातावरण थियो । जलपानदेखि लिएर साङ्गितिक कार्यक्रमको सम्म व्यवस्था गरिएको थियो । हामी मध्ये धेरै साथीहरु आफ्नो अध्ययन पुरा गरेर अब जीवनको नयाँ आयाम तर्फ लम्कने तर्खरमा थियौं । कति साथीहरु बीचमै पढाई छोडेर व्यापार व्यवसायमा लागिसकेका पनि थिए । कोही भर्ती भएका पनि थिए । कोही विदेशको दर्शन गरी फिरेका पनि थिए । ति मध्ये कोही भने पढ्न पनि छाडेका, काम पनि केही नगरेका विशुद्ध वेरोजगार पनि थिए । अधिकांश भने अध्ययन सक्ने तरखरमा रहेका र अब केही गर्नुपर्छ भन्ने सोच भएका साथीहरु थियौं । हाम्रो भेटघाटको कार्यक्रम औपचारिक रुपमै सुरु भयो, जलपान र खानपानबाट । पहिलो चरणको कार्यक्रमसंगै आफ्ना अनुभव र योजनाहरु सुनाउने लहर चल्यो । दोस्रो चरणको कार्यक्रमपछि देशका कुरा भए, समाजका कुरा भए, राजनीतिका कुरा, नेतालाई गाली गरियो, मन्त्रीलाई गाली गरियो, देश कसरी विकास गर्नुपर्छ भन्ने योजना पनि बनाईयो र खाकापनि कोरीयो । तेस्रो चरण सुरु हुँदासम्म हाम्रो पहिलो र दोस्रो चरणका कुराहरु सेलाईसकेका थिए । माहोल विचारको वहसबाट सङ्गीतमय हुँदै थियो । सबैजना विस्तारै नाचगानमा सरिक हुँदै थिए । केहि समयसम्म नाचगान गरियो, विस्तारै विस्तारै के के हुँदै गयो थाहा भएन । भोलिपल्ट आफुलाई साथीको घरमा पाएँ ।
दृृश्य २
आजपनि म साथीहरुसंग छु । अचेल अक्सर यही साथीहरुसंग हुन्छु । फरक यति हो माहोल पहिलाको जस्तो छैन । न साथीहरुको जमात त्यति ठूलो छ । न त वातावरण नै त्यस्तो रमाइलो छ । पहिले कहिले काँही साथीहरुसंग भेटघाट
हुन्थ्यो । अचेल दिनहुँ हुन्छ तर साथीहरु फेरिएका छन् । पहिले साथीभाइ भेट हुँदा जीवनका कुरा हुन्थे, योजनाका कुरा हुन्थे, उद्देश्यका अनि सपनाका कुरा हुन्थे । अहिले दिनहुँ भेट हुने साथीहरुसंग यी कुराहरु हुँदैनन्, विल्कुल हुँदेनन् । यस्ता कुराहरुको बारेमा नसोचेको पनि धेरै समय भइसक्यो । नढाँटी भन्दा सोच्न मन पनि लाग्दैन, जाँगर पनि चल्दैन । अचेल भविष्यको बारेमा भन्दापनि आफ्नो क्षणिक आवश्यकता कसरी पुरा गर्ने भन्ने कुराको चिन्ता भईरहन्छ हरबखत । कहिले कोसंग, कहिले कोसंग मागेर हुन्छ कि ढाँटेर आफ्नो जोहो ग¥यो, वस् । कहिलेकाहीँ विगतमा जस्तै जीन्दगिको बारेमा पनि ख्याल नआउने होइन् तर एकपटक लिएपछि अहो म अर्कै दुनियामा हुन्छु, मेरो अर्कै दुनियाँ, सांसारिक झण्झट, माया, ममता, चिन्ता केहि नभएको आनन्दको दुनियाँ ।
नसोच्दा नसोच्दै पनि, अस्त व्यस्त हुँदापनि कहिले काँही जीन्दगीको बारेमा सोच्न पुगी हालिँदो रहेछ । कहिलकाहिँ विगतलाई फर्केर हेर्छु । आफ्नो विगत र वर्तमानलाई तुलना गर्छु । आकाश–जमिनको फरक पाउँछु । विगतमा मलाई आजको मेरो वर्तमान जस्तो दिन कहिल्यै पनि आफ्नो जीवनमा आउँछ जस्तो लाग्दैनथ्यो । आज वर्तमानमा बसेर विगतलाई सम्झँदा मेरो विगत त्यति सुन्दर थियो भनेर आफैलाई पत्याउन मुस्किल पर्छ ।
आहा कति सुन्दर थियो,मेरो विगत । बुबा आमाको एक्लो सन्तान थिएँ । आवश्यकताभन्दा धेरै नभएपनि नपुग्दो भन्ने केही थिएन । सानैदेखि होसियार थिएँ, पढाइमा पनि अब्बल नै थिएँ । पढाइमा मात्र होइन विद्यालयमा हुने अरु कार्यक्रमहरुमा पनि बारम्बार सरिक भइरहन्थें । शिक्षकहरुको नजरमा पर्ने विद्यार्थीहरु मध्ये मै पर्थें । समाजपनि फलानाको छोरो जस्तो हुनुपर्छ भनेर भनेको कयौं पटक आफैले सुन्ने सौभाग्य पाएको थिएँ । विद्यालय तहमा हुँदासम्म जीवनको खास उद्देश्य केही थिएन । क्याम्पस पढ्न थालेपछि विस्तारै विस्तारै जीवनको रुपरेखा पनि कोर्न थालिसकेको थिएँ । आफु परिपक्व हुँदै गएको महसुस गरेको थिएँ । जिम्मेबारी बोधको आभाष पनि हुन लागेको थियो । क्याम्पसमा पनि राम्रै विद्यार्थीहरुमा पर्थें । पढ्दै गर्दा एउटा सुन्दर भविष्यको कल्पना गरेको थिएँ । त्यो सुन्दर भविष्यसम्म पक्कै पुग्छु भन्ने आशा र विश्वास दुबै थियो ।
आज आफ्नै विगत सम्झंदा आफैलाई लाज लाग्छ । हिजो घर परिवारको सम्म जिम्मेबारी महसुस गर्न थालेको मान्छे म आज मलाई आफ्नै वास्ता छैन । हिजो विद्यालयमा, समाजमा एउटा उदाहरणको रुपमा थिएँ । आज पनि उदाहरणकै रुपमा छु । फरक यति हो हिजो म जस्तो बन्नु पर्छ भन्थे, आज म जस्तो बन्नु हुँदैन भन्छन् । कयौं पटक मैले सोच्ने प्रयास गरेको छु । म कसरी आजको अवस्थामा आइपुगें र किन यस्तो भएँ ? यो प्रश्नको उत्तर मसंग भन्दा बाहेक सबैसंग छ । फरक–फरक उत्तर, थरी थरीका उत्तर । आ–आफ्नो हेराई र बुझाई अनुसारका उत्तर । उत्तर छैन त केवल मसंग मात्र । मानिसहरु भन्छन् कि धेरै भएसी विग्रन्छ कि नपुगेर विग्रन्छ । तर मलाई न केही नपुग थियो न त धेरै नै र पनि म विग्रिएँ । खै कसरी कसरी ?
मानिसहरुले मलाई उनीहरुको नजरले जस्तो देख्छन् त्यही मूल्याङ्कन गर्छन् । तर मलाई यो पनि थाहा छैन वास्तवमै उनीहरुले मूल्याङ्कन गरे जस्तो नै छु या केही फरक छु । मानिसहरुको लागि म अहिले एउटा दुव्र्यसनी हुँ, एउटा निकम्मा र लफङ्गा, आवारा । सोचाई विहिन, संवेदना विहिन र भविष्य विहिन एउटा स्वास लिइरहेको तर निर्जिव प्रायः व्यक्ति । मानिसहरुको म प्रतिको मूल्याङ्कन उनीहरुको नजरमा सोह्रैआना सही होला तर मेरो नजरमा भने होइन् । म स्वीकार्छु म दुव्र्यसनमा फसेको छु, मैले केही गर्न सकेको छैन, न परिवारको लागि न समाजको लागि । तर म सबैले भने जस्तो संवेदनहीन, सोचाईहिन पनि पक्कै छैन । आजको मेरो वर्तमान हेर्दा निश्चय नै मेरो भविष्य अन्धकार र अनिश्चित छ तर भविष्यको चिन्ता मलाईपनि लाग्छ । जीवनको मायाँ छ मलाई पनि । परिवारको चिन्तापनि लाग्छ । म पनि निस्कन चाहन्छु यो अँध्यारो दलदलबाट । फेरी फर्कन चाहन्छु आफ्नो सुन्दर विगतमा । जसरी मेरो सुन्दर विगत वर्तमानमा कथा जस्तो भएको छ, म चााहन्छु मेरो अँध्यारो वर्तमान भविष्यमा एउटा नमिठो सपना मात्र होस् । कुनै दिन मसंग पनि थरी थरीका नशाहरु थिए । कहिले मलाई संगीतको नशा लाग्यो, कहिल पढाई, कहिले समाजसेवाको नशा लाग्यो त कहिले प्रेमको । ती सबै नशाहरु मेरो लागि त्यतिबेला अत्यावश्यक थिए । अहिलेको नशा जस्तै । फरक यति हो, ति सबै नशाहरु मिठा थिए, सुन्दर थिए सधैं लिइरहुँ जस्तै । तर यो नशा नमिठो छ । अति नै नमिठो । तर विडम्बना ती सबै मिठा नशाहरु यो नमिठो नशाको अगाडी परास्त भइदिए । हाय ! कस्तो दुर्भाग्य ।
आज सदाभन्दा छिट्टै निन्द्रा खुल्यो । राती सपना पनि बडो मजाको देखेको थिएँ । म, मेरो बाल्यकाल देखि यौवन अवस्था र प्रौढ अवस्थासम्मको जीवन बाँचिरहेको थिएँ । मेरो बाल्यकालको विगत उस्तै थियो , जस्तो मेरो वास्तविकता हो । फरक थियो त मेरो यौवनावस्था । वास्तविकतामा अँध्यारो मेरो वर्तमानको जीवनको कुनै छनक थिएन मेरो सपनाको यौवनमा । त्यो नितान्त बेग्लै थियो । मेरो बाल्यकाल जस्तै सुन्दर र उत्तिकै सुन्दर थियो, मेरो प्रौढावस्थाको
जीवन । पर क्षितिजबाट दिव्य वाणीमा जीवन दर्शनको कुराहरु आइरहेको थियो । मन फुरुङ्ग थियो । अमृत वर्षिए जस्तो निधारमा सितल आभाष भइरहेको थियो । आहा ! कति सुन्दर सपना थियो त्यो ।
सपना सुन्दर भएपनि विपना भने त्यति सुन्दर रहेनछ । मलाई राती ज्वरो आएकोले निन्द्रामै बर्बराएछु । आमाले थाहा पाउनु भएर मध्यरात देखिनै मसंग हुनुहुँदो रहेछ । निन्द्रा खुल्यो, निधारमा चिसो महसुस भएर छामें । आमाले राती देखिनै पानी पट्टी गरिदिनु भएको रहेछ । अहिले त ज्वरो पनि थिएन । आँखा खोलेर विस्तारै आमाको मुहारमा हेरें । खस्नै लागेका आँसुका दानाहरु, मेरो ज्वारो विसेक भएकोमा छाएका खुसीहरु, मेरो अँध्यारो वर्तमान प्रतिको उदाशिनता, मेरो भविष्यको चिन्ता सबै कुरा एकैपटक आमाको मुहारमा
देखें । मेरा बाल्यकाल, वर्तमान, केहीअघि देखेको सपना, सबै सबैकुरा एकै पलमा आँखा अगाडी नाच्न थाले । पर्दामा देखिएको फिल्मको दृश्य जस्तै । मनमा एउटा छुट्टै भावना जागेर आयो । फेरी एकपटक सपना सम्झें । सुन्दर विगत, सन्दर वर्तमान अनि सुन्दर भविष्य नै । मेरो सपना र विपनामा केही फरक छ भने केवल मेरो वर्तमान । विगत गइसक्यो, अब कहिल्यै फर्कदैन । भविष्य अनिश्चित छ । मेरो हातमा केही छ त केवल मेरो वर्तमान । मनमनै अठोट गरें, अब म मेरो वर्तमान पनि सुन्दर बनाउँछु । मेरो सपना जस्तै ।
अबको मेरो बाँकी जीवनमा एउटै मात्र नशा हुनेछ । सुन्दर भविष्य जीउने आशाको नशा । मलाई आशा छ र विश्वास पनि मेरो यो नयाँ र मीठो नशाको चाहतले मेरो त्यो नमिठो नशालाई परास्त गरेरै छाड्ने छ । पक्कै गर्नेछ ।
नशा
previous post