नेपालमा कोरोना संक्रमण झन भयावह बन्दै गएको छ । यो साताको संक्रमणको अवस्था, संक्रमण मुक्त हुनेको संख्या र संक्रमणका कारण भएका मृत्युको तथ्याङ्क केलाउने हो भने आगामी दिन अझ सकस पूर्ण हुन देखिएको छ ।
गत बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ भएकोमा हिजो बुधबारसम्म त्यो संख्या पाँचहाजर ४८० ले बढेर ३४ हजार ४१८ पुगेको छ । दैनिक सरदर ७२८ जनाको दरले संक्रमित थपिएका छन् । यसको अर्थ प्रतिघण्टा ३२ जना संक्रमित थपिएका छन् । यो साता सबैभन्दा धेरै हिजो बुधबार ८८५ संक्रमित थपिएका छन् । जुन रुपमा संक्रमण बढेको छ, संक्रमण मुक्त भएर निस्कनेको संख्या भने त्यो अनुरुप नहुँदा आम नागरिकमा यसले त्रास थप्दै गएको छ । गत बुधबारसम्म संक्रमण मुक्त हुनेको संख्या १७ हजार ७०० रहेकोमा हिजो बुधबारसम्म त्यो संख्या एकहजार ८०४ ले थपिएर १९ हजार ५०४ पुगेको छ । जुन संक्रमणको तुलनामा निकै कम छ । दैनिक सरदर ७२८ संक्रमित थपिंदा संक्रमण मुक्त हुनेको संख्या भने २५७ मात्र छ ।
यसैगरी मृत्युदर पनि उकालो लाग्दो अवस्थामा छ । गत बुधबारसम्म जम्मा १२० कोरोना संक्रमितको ज्यान गएकोमा यो साता ५५ जना थपिएर १७५ पुगेको छ । दैनिक सरदर ८ जनाले ज्यान गुमाइरहेका छन् । यो साता हिजो बुधबार सबैभन्दा धेरै संक्रमित थपिएका मात्र होइनन् सबैभन्दा धेरै ३८५ जना संक्रमण मुक्त भए भने सबैभन्दा धेरै ११ जनाले मृत्युवरण गरे ।
पछिल्लो तथ्याङ्कलाई विश्लेषण गर्दा देखिएको यो तस्वीरले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा अझ प्रभावकारी कदम चाल्नु पर्ने देखिएको छ । नागरिक स्तरबाट पनि आवश्यक सावधानी र सजगता अपनाउनु अझ आवश्यक भएको छ ।
भयावह बन्दै कोरोना
previous post