चीरहरित लोकतन्त्र र स्थापना दिवस चौध वर्ष अगाडिको आजकै दिन तत्कालिन राजा ज्ञानेन्द्र नागरिक शक्ति र चाहनाको अगाडि झुकेको दिन हो । अर्काे र राजनैतिक शब्दमा भन्नुपर्दा लोकतन्त्रको स्थापना भएको दिन । संवैधानिक राजाबाट शासन सत्तामा सक्रिय राजा बन्ने ज्ञानेन्द्रको चाहनाले नेपाली नागरिकले स्वतन्त्रता थोरै अवधिकालागि नै भएपनि गुमाउन पुगे । तर कहिल्यै पराधिनता स्वीकार नगरेका र पराधिनतामा नपरेका हामीलाई खोसिन लागेको स्वतन्त्रताको मूल्य ठूलो थियो । त्यसैले सम्पूर्ण नागरिक आन्दोलनमा उत्रिए । र आजको दिन उनै राजाको महत्वाकांक्षाले नागरिकको स्वतन्त्रता संग्राम सामु घुँडा टेकेको दिन हो ।
लोकतन्त्र अर्थात नागरिकद्वारा निर्वाचित प्रतिनिधिले नागरिकका लागि सञ्चालन गर्ने राज्य व्यवस्था । अर्काे वाक्यमा निर्वाचित हुनेहरु सेवक र निर्वाचित गर्नेहरु सेवाग्राही हुने व्यवस्था । हामीलाई लाग्यो, हाम्रा प्रतिनिधिहरु सेवक हुनेछन् । राजाको प्रत्यक्ष शासनमा प्रतिनिधि भनिनेहरु राजाज्ञा प्रति इमान्दार हुनु पथ्र्याे । अब त लोकतन्त्र आएको छ । हाम्रा दुःखसुखमा हाम्रा प्रतिनिधिहरु सहाभागी हुनेछन् । सांच्चै हामीले परिकल्पना गरेझैं हामी सेवाग्राही भएर सम्मानको जीवन बाँच्न पाउने छौं । तर अवस्था त्यस्तो रहेन । हात्तीछाप चप्पल लगाएर सिंहदरबार छिरेका प्रतिनिधिहरु हात्तीजस्ता भएर निस्किए अनि हामी नागरिक चाहिँ खुट्टामा भएको त्यही चप्पल फाटेपछि फेर्न नसक्ने अवस्थामा पुग्यौं । हाम्रा प्रतिनिधिहरु त आफ्नो स्वार्थ पूर्तिमा मात्र लागे । कसरी सधै सत्ता र शक्तिमा रहन सकिन्छ भन्ने मात्र उनीहरुको ध्याउन्न भैदिँदा हाम्रा समस्या र गुनासाहरु ओझेलमा परे । लोकतन्त्रको मर्म अनुरुप कामहरु गर्लान, लोकतन्त्रलाई मजबुत बनाउलान भनेर अपेक्षा गरिएकाहरु नै लोकतन्त्रको चीरहरण गर्नमा मस्त भए ।
कमजोरी हामी मतदातमा पनि छ । निर्वाचनका बेला हामीले राम्रो मान्छे हरेनौं । आम नागरिकका सुख दुःखमा साथीहुने मान्छेलाई निर्वाचित गरेर पठाउनेमा हाम्रो ध्यान गएन । हे¥यौं त केबल कुन उम्मेदबारले मासु भात प्रसस्त खुवाउन सक्छ । ध्यान दियांै त केवल कुन उम्मेदबारले बाइकमा फुल ट्याङ्क पेट्रोल राखिदिन्छ । निर्वाचनमा भएको करोडौं उठाउनु पर्ने उसले हाम्रा दुःख सुखको साथी हुने कुरै भएन । यो डेढ दशकमा अनेक विकृतिहरु मौलाएका छन्, राजनीतिक वृत्तमा । लोकतन्त्रको चीरहरण भएको छ । अब भने हामी नागरिक सचेत हुने बेला आएको छ । क्षणिक लोभमा नफसेर असल प्रतिनिधि छान्ने विषयमा अब बेर नगरौं । लोकतन्त्र दिवसको सबैमा शुभकामना ।
बैशाख एघारको सन्दर्भ-सम्पादकीय
previous post