22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

दुइ टाउके पंछी भारुण्ड र नेपाली कांग्रेसको नियती

रमेश विकल

नेपालको जेठो प्रजातान्त्रिक दल नेपाली कांग्रेस यतिबेला रसातलको यात्रा तर्फ खरायोको गतिमा दौडिरहेको छ । सत्ता प्राप्तीका लागि जोसंगपनि र जस्तो सुकै सम्झौता गर्ने पार्टी नेतृत्वका कारण केही समयदेखि आफ्नो राजनैतिक जीवनको रसातल यात्रामा रहेको कांग्रेसको यो यात्रा पुष ११ मा केन्द्रीय कार्यसमितिले बहुमतको आडमा विधान विपरितका विभिन्न निर्णय गरेसंगै तिव्र बनेको हो । कांग्रेसको रसातल यात्राले पद जोगाउने भोक र प्राप्तीको भोकले अन्धा बनेका नेताहरु बाहेक कांग्रेसका शुभेच्छुक तथा समर्थक र तल्लो तहका नेता कार्यकर्तालाई चिन्तित तुल्याएको छ । संगै लोकतन्त्रका पक्षपाती आमा नेपालीलाई पनि चिन्तित तुल्याएको छ । कांगे्रस जनलाई त स्वाभाविक भयो तर अरुलाई किन ? भन्ने लाग्न सक्छ । कारण स्पष्ट छ, पछिल्लो समय ओली सरकारले नागरिक स्वतन्त्रता खोस्ने खालका कानुन बनाउने जुन प्रयास थालेको छ, यसले आम नागरिकमा लामो संघर्षले प्राप्त अधिकार खोसिने त्रास थपिएको छ । र संसदमा प्रमुख प्रतिपक्षको रुपमा रहेको कांग्रेस जसले सरकारले गरेका र गर्न लागेका जनताका हित प्रतिकूल हुने क्रियाकलापको जमेर प्रतिरोध गर्ने प्रभावकारी भुमिकाको अपेक्षा गरिएको थियो, उ आन्तरिक कलहमा फंसेर निरिह बनेको छ । कलह पनि अब त सुकेको खरमा लगेको आगो जस्तै भएको छ र यस्तो लाग्छ, कलह रुपी आगो कांग्रेस समाप्त नभएसम्म साम्य हुँदैन । आगो निभाउन पर्नेहरु आफुलाई नै सिङ्गो कांग्रेस सम्झेर एकले अर्काको राजनैतिक जीवन समाप्तीको दाउ हेरेर बसिरहेका छन् । आम जनसरकोकारका विषयमा उनीहरुलाई कुनै चासो र चिन्ता छैन जस्तो देखिँदै छ ।

पार्टी रहे हामी रहनुको अर्थ रहन्छ र आम नागरिकका सरोकारका विषयमा सशक्त आवाज उठाउन सक्दामात्र हामीलाई आगामी निर्वाचनमा जनताले पत्याउँछन् र सत्ताप्राप्तीको मार्ग प्रसस्त हुन्छ भन्ने ज्ञान नभए जस्तो देखिँदै छ कांग्रेसका केन्द्रीय नेताहरुमा यतिबेला । नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ । दिन दुगुना रात चौगुना बढ्दै गएको महंगीले मध्यम वर्गिय र तल्लो आर्थिक अवस्था भएका नागरिकलाई सांझ बिहान हातमुख जोर्न कठिन भैसकेको छ ।

ज्ञानेन्द्र साशनकालमा भक्तबहादुर कोइरालाको नेतृत्वमा गठन गरेजस्तो न्यायिक निकाय बनाएर आफु भन्दा फरक विचार राख्नेलाई सिध्याउने कानुन सरकार बनाउन लाग्दैछ । सरकार व्यापारिक समूहको स्वार्थमा सञ्चालन भएको कुरा अब कुनै नागरिकबाट लुकेको छैन । तर यि सबैमा नागरिकका पक्षमा आवाज उठाउनु पर्ने प्रमुख प्रतिपक्ष भनिएको कांग्रेसका नेताहरु भने परस्पर लडिरहेका छन् । एक अर्काको राजनैतिक जीवन कसरी समाप्त गर्न सकिन्छ भनेर । कांग्रेसको अहिलेका अवस्था देख्दा पञ्चतन्त्रमा उल्लेखित भारुण्ड नामको दुइटाउको पंछीको कथा याद आउँछ ।

कथा अनुसार भारुण्ड आहार खोज्ने क्रममा एक दिन एउटा खोला किनारमा पुग्छ । खोलाले एउटा फल बगाएर ल्याएको एउटा टाउकोले देख्छ र त्यसलाई मुखले टिपेर खान खोज्छ । यो थाहा पाएको दोस्रो टाउकोले फल मिठो जस्तो देखिन्छ, मलाई पनि लेउ न भनेर माग्छ । तर फल पाउने टाउकोले जुन मुखले खाएपनि एउटै पेटमा जाने हो, त्यसैले म खान्छु, भै हाल्यो नि भनेर हतपत खान्छ । दोस्रो टाउकोले मन दुखाउँछ र मनमनै अर्काे कुनै दिन फल पाउँदा आफुले पनि नदिने प्रण गर्छ । संयागवश केही दिनपछि उसलेपनि कुनै फल फेला पार्छ र एक्लै खान खोज्छ । यो देखेको पहिलो टाउकोले उक्त फल विषाक्त भएकाले नखान सुझाउँदै भन्छ यसले त हाम्रो ज्यानै जान्छ । ज्यान रहेन हामीले तैले मिठो खाइस मैले खान पाइन भनेर झगडा गरौंला तर ज्यानै लाने यस्तो विषाक्त फल नखाउ । तर बदलाको भावनाले अन्धो बनेको दास्रो टाउको पहिलोको सल्लाह मान्न तयार हुँदैन र फल खान्छ र अन्ततः भारुण्डको इहलिला समाप्त हुन्छ । भारुण्डकै नियती भोगिरहेको छ, नेपाली कांगे्रस । भारुण्डको दुइ टाउका थिए तर कांग्रेसका अझ बढी टाउका छन् र सबै टाउकाहरु भारुण्डको दोस्रो टाउको जस्तो सोचले ग्रस्त छन् । टाउको फरक भएपनि ज्यान एउटै हो त्यसैले अर्काको राजनैतिक जीवन समाप्त गर्छु भन्दै गर्दा आफ्नो पनि समाप्त हुन्छ भन्ने ज्ञान नभए जसरी कांग्रेका टाउकाहरु एक अर्कालाई सिध्याउन मैदानमा उत्रेका छन् ।

सुदुर पश्चिमको सामान्य नागरिक परिवारमा जन्मेका देउवा राणाका ज्वाई बनेसंगै प्रवृत्तिपनि राणाकै हुन खोजेको देखिँदै छ । केपी ओलीलाई बहुमतको आडमा किन जथाभावी गरेको भनेर प्रश्न गरिरहेका अनि विगतमा गिरिजाप्रसाद वा सुशिल कोइरालासंग बहुमतका आधारमा पार्टी निर्णय गरेको भनेर विरोधमा उत्रने देउवा अहिले आफै बहुमतमा नाममा पार्टीलाई विघटनको दिशा तर्फ लैजाँदै छन् । आफ्नो विगत किन भुलेको ? के पार्टीमा बहुमतको आडमा कार्यकर्ताको भावना प्रतिकूल निर्णय गर्नेले सरकारलाई बहुमतको आधारमा जथाभावी नगर्न सुझाउन सुहाउँछ ? यसले देउवाको नैतिक बलमा ह्रास ल्याउँदैन ? अनि संस्थापन इतर भनिएकाहरुले पार्टीको वृहत्तर हित अनि लोकतन्त्रको रक्षार्थ पनि भागवण्डा नमिलेको नाममा पार्टीलाई अँध्यारो गर्तमा धकेल्ने कार्य गर्नु हुँदैन । दम्भलाई त्यागेर नेपाली कांग्रेस पार्टी भित्रको मेलमिलाप आजको अवाश्यकता हो । नेतृत्वले स्वमूल्याङन गरी बहुमत र अल्पमतको खेलमा नअल्झिकन पार्टी र समग्र देशलार्ई फाइदा हुने काम गर्नुपर्ने र नागरिकको आकांक्षा अनुसारको नेतृत्व प्रदान गरी समृद्ध बन्ने नेपालीको चाहना पूरा गर्न सबै कांग्रेसीजन एकजुट हुनु आजको आवश्यकता हो ।

Related posts

नेपाल–दाहाल अभिष्ट समृद्धि कि सत्ता ?

admin

कोटा र कोठाका कुराहरु

admin

अमेरिकाबाट फर्किएका तनहुँ का ईञ्जिनियर दीपक राज जोशी पनि प्रतिष्पर्धामा “

admin