नेपाली कांग्रेसले हिमाल पहाड तराई मधेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरण सुरु गरेको छ । जननायक विश्वेश्वरप्रसाद कोइरालाको १०६ औ जन्मजयन्तीको दिन पारेर कांग्रेसले भदौं २४ बाट अभियान सुरु गरेको हो । अभियानका क्रममा केन्द्रबाट खटाइएका प्रतिनिधिहरुले देश भरका प्रदेश सभाका सबै ३३० निर्वाचन क्षेत्रमा १५ दिन सम्म रहेर कार्यकर्ताका कुरा सुन्ने छन् ।
जागरण अभियानको प्रारम्भ प्रत्येक क्षेत्रका निश्चित स्थानमा १०६ वटा विरुवा रोपेर गरिएको छ । कांग्रेसले यसलाई पर्यावरण सन्तुलन कायम राख्न पार्टीको तर्फबाट योगदान भनेको छ । अभियानका क्रममा वर्तमान सरकारका जनहित विपरितका कामबारे सर्बसाधारणलाई जानकारी गराउने, पार्टी कार्यकर्ता, मतदाता र नेताहरुबीच सुमधुर सम्बन्ध कायम गर्न कार्यकर्ता र सर्वसाधराणका कुरा बढी सुन्ने र नेताहरु कम बोल्ने कार्यक्रम रहेको छ । जागरण अभियान अन्तर्गत खटिएका नेताहरु टोल टोलमा पुगेर साक्षात्कार गर्नेछन् । आश्विन ७ गते सकिने जागरण अभियानलाई प्रभावकारी बनाउन कांग्रेसले प्रवक्ता विश्वप्रकाश शर्माको शब्द र संगितमा विभिन्न १२ भाषामा जागरण गीत समेत तयार पारेको छ ।
नेता प्रदिप गिरीको भाषामा गिरोह भनिने गुट उपगुटको शिकार भएको कांग्रेस नेतृत्वलाई कत्तिको यो अभियानले जागृत तुल्याउन सक्छ, त्यो त हेर्न बाँकी नै छ । तर पहिलो अभियानका क्रममा आम कार्यकर्ताले स्पष्ट बताएका थिए कि हामी जागृत छौं , नेताहरु नै गुठ उपगुठको राजनीति गर्न छाड्ने, व्यक्तिगत स्वार्थलाई त्याग्ने, युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर ७० माथिका नेताहरुले अभिभावकत्व लिने जस्ता कार्य गरर जागृत हुनुप–यो । यी कुरालाई हृदयदेखि आत्मसाथ गरेर नेताहरु फर्के भने अभियानको महत्व
रहनेछ ।
सरकारका गलत क्रियाकलापको विरोध गर्ने कुरा गर्दैगर्दा गएको चुनावमा लज्जाजनक पराजयको कारण खोजी गर्ने र कमजोरी स्वीकार गर्ने तथा आगामी दिनहरुमा जनताका सरोकारका विषयमा दृढता पूर्वक लागि पर्ने विश्वास आमा मानिसमा जगाउन सके अभियान सफल हुनेछ ।
यसैबीच तनहुँमा पनि जागरण अभियान प्रारम्भ भएको छ । तनहुँका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा वृक्षारोपण कार्यक्रम गरी अभियान प्रारम्भ गरिएको हो । अभियानको नेतृत्व गर्न कांग्रेस केन्द्रले विभिन्न चार नेतालाई तनहुँ पठाएको छ ।