दमौली/संविधानविद डा. भिमार्जन आचार्यले नेपालको यही आर्थिक दुरावस्था रहिरहे संविधान नै कोल्याप्स हुन्छ भन्नुभएको छ । नेपालको आर्थिक दुरावस्था चुनौतिपूर्ण रहेकोतर्फ सत्तामा रहेकाहरुले बेलैमा ध्यान पु¥याउन नसके सरकार चल्नै नसकी संविधान कोल्याप्स हुन पुग्ने बताउनु भएको हो । व्यास नगरपालिकाले शनिबार आफ्नै सभाहलमा आयोजना गरेको स्थानीयतहको अधिकार र सीमाहरु विषयको अन्तरक्रियालाई व्यापकता दिर्दै उठेका सबै सवालको जवाफ दिने क्रममा संविधानविद आचार्यले सो कुरा बताउनु भएको हो ।
मुलुकी देवानी र फौजदारी संहितामा धेरै कमिकमजोरी रहेको चर्चा गर्दै मुलुकी ऐनलाई विस्थापन गर्न नहुने, समायोजन गरेर जान सक्दा नेपाली मौलिकता सुरक्षण हुन सक्ने अवस्थालाई नेताहरुले बुझ्न नसकेको संविधानविद आचार्यको टिप्पणी थियो । विदेशीहरुले नेपाली मौलिकता मेटाउने प्रहारको रुपमा मुलुकी ऐन विस्थापनलाई पनि लिन सकिने संकेत संविधानविद आचार्यले गर्नुभएको थियो । मुलुकी शब्द मात्रै राख्न पनि धेरै कसरत गर्नु परेको आचार्यको भनाई थियो । संहिता कानूनले वैवाहिक वलात्कारको बारेमा गरेको कानूनी व्यवस्थाको दुरुपयोग हुन सक्ने खतराप्रति आचार्यले गम्भिर चिन्ता व्यक्त गर्नुभएको थियो । स्थानीयतहले पाएको न्यायीक अधिकार शक्ति पृथकीकरणको सिद्धान्त अनुकुल छ भनेर मान्न कठिन रहेको संकेत पनि आचार्यको थियो ।
नेपालका राजनीतिक दलहरुले शुन्य वैधानिकतामा धेरै निर्णय लिदै अगाडि बढेको चर्चा गर्दै गणतन्त्रको घोषणा, बहालवाला प्रधानन्यायाधीशले कार्यकारी भूमिका निर्वाह गर्नु, दोस्रो संविधान सभाको निर्वाचन गराउनु, प्रधानमन्त्री खड्गप्रसाद ओलीको शपथ ग्रहणको वैधानिकता शून्य रहेको धारणा डा. आचार्यले राख्नु भएको थियो ।
बहालवाला प्रधानन्यायाधीशले कार्यकारी भूमिका निर्वाह गरेपछि नेपालको न्यायालय असाध्य विग्रीयो भन्ने चिन्ता व्यक्त गर्दै संविधानविद आचार्यले त्यसपछिका कुनै पनि प्रधानन्यायाधीशको पालामा न्यायालयलाई फाइदा पुग्ने काम नभएको टिप्पणी गर्नुभयो ।
व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि संविधानविद समेतका अतिथिहरुलाई जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पवित्रा पौडेलले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन व्यास नगरपालिकाका कर्मचारी विमल गिरीले गर्नुभएको थियो । कार्यक्रम संयोजनमा पत्रकार अपार पौडेलको भूमिकाको नगरप्रमुख न्यौपानेले मुक्तकण्ठले प्रसंसा गर्नुभएको थियो ।