28.6 C
Damauli
October 8, 2026
Tanahun Awaj
कला/मनोरन्जन

ए यस्तो पो……..

नोठको पहिरो

विष्णुप्रसाद सिग्देल

‘जहाँ टेक्यो, उही पहिरो जानी,
कर्म हो कि दैवको बैमानी’
यो गितको आषय पक्का पनि पहिरोले लाभ भएको जस्तो देखिदैन । हुन पनि पहिरोले फाईदा भन्ने के होला र ! कैयौं बस्तिकाबस्ती उजाड पारेको छ , अनगिन्ति अथाहा सम्पत्ति क्षणभरमै सखाप पारेको छ यसले । जब जब बर्ष लाग्दछ, भिरालो भूभागका बस्तिहरु, दिनको भोक न रातको निंद्रा भै सन्तास्तमा वित्दछन् । अघिल्लो दिन झलमल्ल घर लहर मिलेका बारीका गराहरु, भोलिपल्ट ढुङ्गा र माटोको थुप्रामै किचिएर रहेको हुन्छ । हावासंग बैरी खेल्दै लहलहाउँदा फाँटका सनौला फाँटहरु, क्षणभरमै मरुभूमिमा परिणत हुन्छन् । करोडौं, अरबौं, लगानिमा बनेका जलविद्युत आयोजना, नहर, पुल, सडक, निमेशभरमै ध्वस्त पारी सारा जनजिवन अस्तव्यस्त आकूलव्याकूल भएको, हाम्रै रेडियो टिभिबाट प्रसारण समाचार नसुन्ने को होला ? वारीका वारी, पारीका पारीका पारी, महिनौंसम्म अन्धकार, यातायात ठप्प, खाना समेत नपाएर हाहाकार भै कस्टकर समय विताउनु परेको धेरैलाई बेलाबखतको स्मरण झलक्क आउँछ होला ? मै हूँ भन्ने लखपति पनि बोट बृक्ष मुनि बास बस्नेसम्म पारी दिएको हजुरबाहरुले सुनाएको सत्य कथा, ताजै छ होला । परिवारका सबै सदस्य गुमाएर, संयोगले एकजना मात्र बाँचेका, काठमुढामा समाएर, भूमरीसंग नाँच्दै हुत्तिदै, प्राणको याचना गरिरहेकालाई, रामराम भन्दै विवशतापूर्वक विदाई गर्न परेको, कहाँली लाग्दा दृष्य सम्झदा, कतिको ज्यान सिरिङ्ग हुन्छ होला । यस्तो मर्मस्पर्सी भयानक ताण्डक नृत्य गर्ने प्रकृतिको प्रलयकारक घटनालाई कस्ले पो फाईदा भयो भन्ला र ? एकाध लाभांसिहरु नदीले बहाव बदल्दा, बाढी पहिरोले छिमेकीको घर परिवार निमिट्यान्न पारिदिंदा, डाँडा बगाएर किनार बग्रेल्ती हुँदा बलौटे चोकरेहरु, आफू अझम्वरी भएझैं खिच्च हाँस्नेहरु पनि कुनै दिन आफैले खनेको चिहानमा भासिएको देख्न केबल पर्खन सक्नु पर्दछ, पालो अवस्य आउँदछ ।
जस्लाई पर्दछ, उस्ले आफ्नो भाग्यलाई दोष लगाई हारेको कर्म, ऊ जुनिको कमाई, भन्दै टाउको ठोक्छन् त सान्त्वना दिने समेत भाग्यलाई सर्वश्व मान्दै धुम्धुम्याउने कोशिस गर्दछन् । हो भाग्य विग्रेपछि नसोंचेको हुन्छ, पाईला पाईला भासिन्छ, शुरुको पंक्तिमा भनेझै ‘जहाँ टेक्यो, उही पहिरो जान्छ,’ । दैव पनि कर्महारको याचना सुनाउँदै टुलुटुलु हेरेर बस्दछन् । सत्यका साहारा परमेश्वर भन्दछन्, अहं आजकल सत्यवादीलाई परमेश्वरले साथ दिएजस्तै पटक्कै नलाग्न थाल्यो । सत्यवादी, यथार्थवादी, न्याय वादी, अहिंसावादीहरु सुदामाको हैसियतबाट उठ्न फेरी अर्को कृष्ण जन्मनु पर्दछ । यहाँ त ठगवादी, लुटवादी, झुटवादी, ध्रुतवादी, हुल्लरवादी, गुटवादी जस्तालाई भगवानले जे गरेनि फलिफाप हुने आर्सिवादै प्रदान गर्दछन् किनकि मन्दिरमा धेरै भेटी देखेसी फुर्ने भगवान यी कमाउवादी र खाउवादीले टक्रयाएको कमिशन नलिइ छोड्लान् जस्तो मलाई पनि लागेन । नत्र जसले ग¥यो पाप उस्को झन फलिफाप जन्य न्याय भगवानबाट नहुनुपर्ने हो । मुद्दा जित्न वकिल किन्ने, चुनाव जित्न जनताकिन्ने, लेखा स्रेस्ता मिलाउन हाकिम किन्ने, इन्सपेक्टर, डाइरेक्टर, मन्त्री समेत भगवानलाई कमिशनको प्रसाद टक्रयाइ आफ्नो अनुकुल चल्ने बनाउन कत्तिवेर छैन । जनता जनार्दन हुन्, म सेवक हुँ, म जेगर्छु जनताको हितमा गर्छु भनि सपथ खानेले त घुस र कमिशन वाहेक अन्त नहेर्ने भए भगवानले समेत पक्षपात गर्नुमा पक्का ‘दालमा कालो’ हुनुपर्छ । उच्चस्तरिय छानविन ुसमिति बनाइ सत्य तथ्य केलाई छानविन होस् ।
अँहँ त्यो समिति पनि के विश्वास/कस्ता कस्ता जघन्य अपराध, अबौं अर्बको घोटाला त नोठका विटाले डिस्मीस भए भने भगवानको निश्पक्षताको जाँचबुझ गर्ने समिति बनेपनि उनैका पक्षधर मात्र समितिमा बस्लान्, ‘दुधको साक्षी विरालो’ त्यो पनि त्यस्तै हो । जताहे¥यो तेस्तै भूलोक देखि देवलोक सम्म भएछ एकछतै ! हे निरिहहरु हो जबसम्म तिमि सत्य बोल्छौं, सत्यपथ हिड्छौं, तिम्रो सहायक मन्छे त परेजावस भगवान पनि नहुने देखियो । के गर्छौ अर्को पटक अवस्य सोच ।
यो बर्षदको समय कतिलाई विगतका घटना र भविष्यको चिन्ताले निदहराम भएको होला तर फेरी कतिलाई हाँसै हाँसो, उत्सव र खुशीयालीका दिन आउँदै छन् । हतार हतारमा निर्माण कार्य गरेको देखाई बजेट झ्वाम पार्ने अनुकुल समय हिउद भरि सिन्को नभाँच्ने जब बर्षा लाग्छ पुलको काम सुरुहुन्छ, वाँध, कुल्हो, सडकनिर्माण, तटबन्ध निर्माण जस्ताकाम गरेजस्तो देखाउने डोजर र एक्जाभेटर लगाइ नभत्काउने ठाउँ भत्काउने र भत्काउनु पर्ने छुँदै नछुने जस्ता काम हुन थाल्छ अनि पहिरा हुर्रीन्छन्, डाँडा बग्छन् । काम को नामो निसाना रहन्न । अनि फेरी बजेटथप । जति भत्कन्छ उति फाइदा, यसमा पनि क्षतिपुर्ती, वालुवा ढुङ्गा गिटीको चाङ्ग त्यहा पनि नोठैनोठ । जति पहिरो उति नोठ । गतवर्ष पहिरो आएन ओठमा पिपिरा लागेका हाम्रा गाउँका ठेकेदार साप, यो वर्ष वेलैमा पहिरो चल्यो निकै फुर्ति छन् । तडक, भडक, रवाफ बेग्लैछ । पहिरो अघि साइकल चढ्ने, एउटै पहिरोले बाइक चढ्यो । क्रमश उनकै साइडमा १०÷२० पहिरो के गएथ्यो प्राडो, पजेरो हिल्लक, टोयोटा, ल्याण्डक्रुजर फेरी फेरी चढ्ने भए ‘भगवान नै उनकै भएसी रिस गर्नेको के लाग्छ र !’ पहिरोले हाम्रै गाउँको मसिने ठेकदारलाइ त मालामाल भए, पल्ला गाउँका ठेकदार ठुले कस्ता भाहोलान् ? उन्को त कुरै छोडौं ।

Related posts

इम्पेरियलमा कला र साहित्य महोत्सव

admin

ए यस्तो पो……..

admin

कार्टुन

admin