चन्द्रा पौडेल
दमौली/अन्तर्राष्ट्रिय गैरसरकारी संस्था रुम टु रिडको आर्थिक सहयोगमा तनहूँ जिल्लाका विभिन्न विद्यालयमा कक्षा १ मा नेपाली विषय अध्यापन गर्ने शिक्षकहरुको पुनःताजगी तालिम सम्पन्न भएको छ ।
नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको आयोजनामा सम्पन्न तालिममा नेपाली भाषाको पढाई क्रियाकलापलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । मंसिर १२, १३ र १४ मा टास्क भिलेज दमौलीमा सम्पन्न तालिममा विभिन्न विद्यालयमा २९ शिक्षकको सहभागिता रहेको थियो । गत वर्ष तथा यस वर्षबाट साक्षरता कार्यक्रम लागू भएका विद्यालयका शिक्षकहरु संलग्न तालिममा टेकबहादुर ढेंगा, राधाकृष्ण हुमागाईं तथा हरिप्रसाद आचार्यले प्रशिक्षण प्रदान गरेका थिए ।
तालिम समापन पछि सहभागि शिक्षकहरुले पुनः ताजगी तालिमले आफुहरुलाई नेपाली भाषा शिक्षणमा थप सहयोग पुग्ने बताए । रुम टु रिडले नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन मार्फत तनहूँका एक सय तीन विद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत कक्षा १ र २मा नेपाली भाषा शिक्षण कार्यक्रमका साथै विद्यालयमा पुस्तकालय स्थापना समेत गरेको छ ।
कार्यक्रम लागू भएका विद्यालयमा अहिले हरेक दिन ९० मिनेट नेपाली विषयको शिक्षण हुने गरेको छ । यसले बालबालिकाको नेपाली भाषामा राम्रो सुधार भएको अनुभव शिक्षकहरुले तालिमका क्रममा सुनाएका थिए । पुस्तकालय मार्फत बालबालिकामा पठन सिपको विकास गर्ने तथा पढने बानीको विकास गर्ने उद्देश्य रहेको फाउण्डेसनले जनाएको छ । पुस्तकालयमा कक्षा १ –५ मा अध्ययन गर्ने बालबालिकाका लागि उपयोगि हुने र रोचक लाग्ने चित्र सहितका झण्डै २८ सय पुस्तक रहेका छन् ।