Home विचार/दृष्टिकोणऋषिङ क्षेत्रमा नेवार समुदायको मौलिक  परम्पराः गाईजात्रा र सिनाज्या (रोपाइँ) जात्रा

ऋषिङ क्षेत्रमा नेवार समुदायको मौलिक  परम्पराः गाईजात्रा र सिनाज्या (रोपाइँ) जात्रा

by Tanahu Awaj
2 views

गणेशकुमार श्रेष्ठ
अध्यक्ष: नेवाः देय् दबु
ऋषिङ–८ तनहुँ

नेवार समुदाय सांस्कृतिक रूपमा निकै धनी मानिन्छ । नेपालका उपत्यकाभित्र मात्र नभई उपत्यका बाहिर छरिएर रहेका नेवार बस्तीहरूमा पनि आफ्ना परम्परा र संस्कृतिलाई उत्तिकै जीवन्त राखिएको पाइन्छ । तनहुँको ऋषिङ क्षेत्रमा नेवार समुदायको सांस्कृतिक उपस्थिति निकै बाक्लो र ऐतिहासिक रहेको छ । हालै नेवाः देय् दबू ऋषिङ क्षेत्रको सक्रियतामा सम्पन्न गाईजात्रा र रोपाइँ जात्राले स्थानीय सांस्कृतिक पहिचानलाई पुनः उजागर गरेको छ ।

नेवार संस्कृतिमा जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्ण प्रतिपदाका दिन गाईजात्रा (सापारु) मनाइन्छ भने त्यसको भोलिपल्ट वा ठाउँअनुसार त्यसपछिका दिनहरूमा रोपाइँ जात्रा मनाउने परम्परा रहेको छ । रोपाइँ जात्रालाई नेपाल भाषामा “सिनाज्या जात्रा” भनिन्छ । ‘सिनाज्या’ को अर्थ धान रोपाइँको काम भन्ने हुन्छ । असार–साउनको कडा परिश्रम र हिलोमासको काम सकेपछि किसानहरूले पाउने फुर्सद, राहत र खुसीलाई सामूहिक उत्सवका रूपमा मनाउन यो जात्राको सुरुवात भएको मानिन्छ ।
ऐतिहासिक कथन अनुसार मल्लकाल, विशेष गरी राजा प्रताप मल्लको पालादेखि पुत्रशोकमा डुबेकी रानीलाई सान्त्वना दिन गाईजात्रा र त्यससँगै विभिन्न हास्यव्यङ्ग्य तथा जात्रा प्रदर्शन गर्ने परम्परा सुरु भएको जनविश्वास छ । दिवङ्गत पितृहरूको सम्झना र आत्मशान्तिको कामना गर्दै गाईजात्रा मनाइन्छ भने त्यसपछि आउने रोपाइँ जात्राले जीवनको जीवन्तता, कृषि श्रम र पुनर्जीवनको खुसीलाई प्रतिनिधित्व गर्दछ ।
गाईजात्राको भोलिपल्ट भाद्र कृष्ण द्वितीयाका दिन धेरै नेवार बस्तीमा रोपाइँ जात्रा मनाउने गरिन्छ । जात्राका क्रममा सहभागीहरू रोपार, बाउसे, हली र किसानको भेषभूषामा सजिन्छन् । वास्तविक खेतमा गरिने धान रोपाइँको अभिनय गर्दै गल्ली, चैत्य, बहाल तथा टोलका फलैँचाहरूमा नाचगान, बाजागाजा र झाँकी प्रस्तुत गरिन्छ ।
नेपालका विभिन्न भागमा स्थानीयता अनुसार यो जात्रा मनाउने दिन र स्वरूपमा केही भिन्नता पाइन्छ । एउटा अध्ययन अनुसार तनहुँका नेवार समुदायले गाईजात्रापछि चौथो दिन रोपाइँ जात्रा मनाउने गरेको उल्लेख छ । ऋषिङ क्षेत्रमा पनि काठमाडौं उपत्यकाको भन्दा केही विशिष्ट र स्थानीय स्वरूपमा यो जात्रा सम्पन्न गर्ने गरिएको छ । यहाँ बाल रोपार, बाल बाउसे, लाखे नाच तथा घोडा नाच आदि समेत जात्राका प्रमुख आकर्षण बन्ने गर्दछन् ।
रोपाइँ जात्रा केवल मनोरञ्जनमा मात्र सीमित छैन । यसले बहुआयामिक सामाजिक तथा सांस्कृतिक सन्देश प्रवाह गर्दछ ।
अन्नदाता किसान र उनीहरूको कठिन श्रमप्रति कृतज्ञता ज्ञापन गर्नु, टोल र समुदायका मानिसहरू एकै ठाउँमा भेला भई सहकार्य र सामाजिक भ्रातृत्व अभिवृद्धि गर्नु, नेवारी बाजा, भेषभूषा, र लोकनाचको प्रदर्शनमार्फत सांस्कृतिक धरोहर जोगाउनु, हास्य–व्यङ्ग्यका माध्यमबाट सामाजिक विकृतिमाथि प्रहार गर्दै दुःख भुलाएर खुसी साटासाट गर्नु, नयाँ पुस्तालाई पुरानो मौलिक संस्कृति र रीतिरिवाज हस्तान्तरण गर्नु, वर्तमान समयमा आधुनिकताको बढ्दो प्रभाव, बजारीकरण र विशेष गरी युवा पुस्ताको वैदेशिक रोजगारी वा सहरी क्षेत्रतर्फको बसाइँसराइका कारण यस्ता मौलिक सांस्कृतिक जात्राहरूको निरन्तरतामा ठूलो चुनौती खडा भएको छ । ऋषिङ जस्ता ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका क्षेत्रमा नेवाः देय् दबू जस्ता संस्थाहरूको सक्रियताले जात्रा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
निष्कर्षमा, ऋषिङको सन्दर्भमा रोपाइँ जात्रा केवल एउटा मनोरञ्जनको साधन मात्र नभई गाईजात्रासँग जोडिएको, पितृभक्ति, धान रोपाइँको थकान मेटाउने माध्यम र किसानको जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गर्ने नेवार समुदायको अमूल्य सांस्कृतिक सम्पदा हो । यसको मौलिकतालाई जोगाइराख्नु हामी सबैको सामूहिक दायित्व हो ।

Related Articles

Leave a Comment