
एम ए अर्थशास्त्र
नेपालको अवस्था विषम परिस्थितिबाट गुज्रिएको छ । जनता अन्धकारमा फसेका छन् । देशलाई अध्यारोबाट उज्यालो तर्फ लैजान प्रत्येक बुद्धिजिवि वर्ग अगाडी आउनु पर्दछ । ग्रामिण विकास मोडेलको माध्यमबाट ग्रामिण अर्थतन्त्र (Rural Economy) लाई माथी उठाउन सकिन्छ । प्रत्येक किसान, व्यापारीक वर्गले आफ्नो उत्पादन आफै उत्पादन गरौं, आफ्नै हातबाट बजारसम्म लगेर बिक्रि गरौं भन्ने नारा लगाउन अनिवार्य भैसकेको छ । यसबाट अर्गानिक उत्पादन–अर्गानिक उपभोग नीति लागु गर्दा स्वास्थ्यमा पनि कुनै रोग नलाग्ने अवस्थाको स्थिति आउँदछ । प्रत्येक उत्पादकले कुनै विचौलियाको हातमा नपरिकन आफ्नो हातबाट बिक्रि गर्दा उपयुक्त मूल्य नीति समायोजन हुन्छ । यसबाट उत्पादन प्रोत्साहन नितिको अनुसरण भै लगनशिल र आत्मनिर्भर बानीको विकास हुन्छ । परनिर्भरताको अन्तय हुनु नै दिगो विकासको अवधारणाले मुर्तरुप लिनु हो । जसले अर्थतन्त्रलाई स्थीरता तर्फ उन्मुख गराउँछ ।
सीपमूलक, व्यवसायिक शिक्षा, तालिम, प्रशिक्षणले क्षमता र सीप अनुकुलताका व्यवसाय सञ्चालन गर्न प्रत्यक व्यक्ति सामर्थवान हुन्छन् । ग्रामिण क्षेत्रको विकास तर्फ केन्द्रिय बैंकले सधै प्रयास गरिरहनु पर्दछ । कर्जा सुविधा अन्तर्गत कृषि, घरेलु, उद्योग, सेवा व्यवसायमा लगानी गर्न ‘प्राथमिकता क्षेत्र कर्जा कार्यक्रम‘बाट सघन बैंकिङ कार्यक्रम सञ्चालन गर्ने यसको लगतै युवाहरुलाई बेरोजगारीको अवस्थामा जान नदिन ‘बेरोजगारी कर्जा व्यवस्था‘ लागु गर्नु पर्दछ । यस व्यवस्थाले युवाहरुलाई प्रोत्साहन गर्नुको साथै उत्पादन कार्यमा सघाउ पु¥याउँदछ । रोजगारीको अवसर खोज्ने युवाका लागि उद्यमसिलताको ढोका खुल्दछ । साहसिक युवाले उत्पादनमा आफ्नो सहभागिताको खोजी गर्दछन् । उत्पादनसिल कर्जा व्यवस्था कार्यक्रमले ग्रामिण क्षेत्रमा रहेका कच्चा पदार्थको भरपुर उपयोग गरी व्यवसायिक उत्पादनको क्षेत्रमा आफ्नो प्रयास जारी राख्दछन् ।
स्थानिय पालिकाको उद्देश्य ग्रामिण युवालाई रोजगारी दिने प्राथमिकता दिने हुनुपर्ने अवस्था आएको छ । युवामा रहेको बेरोजगारी समाप्त गरी घरघरमा उद्योग, वडा वडामा उद्योग, पालिका पालिकामा उद्योग, स्थापना गर्दै प्रत्येक पालिकामा औद्योगिक क्षेत्र स्थापना गरी उत्पादनमुखि उद्योगबाट उत्पादित वस्तु तथा सेवा मार्केटिङ्ग केन्द्र मार्फत स्वदेश विदेशका बजारहरुमा निर्यात गर्ने नीति घोषणा गर्नु पर्दछ । निर्यात प्रबद्र्धनबाट अर्थतन्त्रमा स्वदेशी र विदेशी मुद्रा संचित बढी–लगानी प्रबद्र्धन नीति स्थापित भै बचत लगानी सन्तुलन स्थापित हुन्छ । उत्पादक र लगानीकर्ता उत्साहित भै पुनः लगानीको माध्यमबाट अर्थतन्त्र चलायमान हुन्छ । यस्तो अर्थव्यवस्थामा आर्थिक बृद्धि र आर्थिक विकास देखिन थाल्दछ ।
कुने पनि समाजमा वा अर्थव्यवस्थामा सुधार र परिमार्जन निरन्तर चल्ने प्रक्रिया हो । जब नयाँ नयाँ प्रविधिको आविष्कार भएर परिस्कृत हुन्छ तब तब गुणात्मक परिवर्तन देखिन थाल्दछ । जब गुणस्तर कायम हुन्छ, उत्पादनले निरन्तरता पाउँदछ । उत्पादकले उपभोक्ताको चाहना मुताविकको वस्तु उतपादन गर्दछ । जतिबढी परिमाणमा उत्पादन गरिन्छ त्यतिनै त्यसको मागबढी उपभोक्ताको संख्या बृद्धिहुन थाल्दछ । त्यसैले भन्ने गरिनछ । ‘Producers are the servant and consumers are the king’ उत्पादक नोकर हुन भने उपभोक्ता राजा हुन किनकी उत्पादकले उपभोक्ताको चाहना अनुसारका वस्तु र सेवा उत्पादन गर्ने कार्य गर्दछ । जति परिमाणमा उत्पादकले वस्तु उत्पादन गरी बजारमा ल्याउँदछन् ति सबै परिमाण तुरुन्तै बजारमा विक्रि हुन्छ । जसले अर्थतन्त्रलाई चलायमान अवस्थामा राखी रहन्छ ।
विकास एउटा ऐतिहासिक प्रक्रिया हो । जुन ग्रामिण र शहरी क्षेत्रमा चलिरहन्छ । विकास स्वभाविक भन्दापनि योजनाबद्ध प्रक्रिया हो । योजना बनाइ उद्देश्य, कार्यक्रम, कार्ययोजनाको माध्यमबाट विकासलाई अगाडी बढाइन्छ । सामाजिक मूल्य मान्यताबाट माथी उठेर एउटा प्रणालिमा लगेर यसलाई अगाडी बढाइन्छ । त्यसैले विकास निश्चित राजनीति, सत्ता र शक्तिबाट प्रभावित हुने तथ्यमा कसैको विमति रहन सक्दैन । नेपालको ग्रामिण र शहरीविकास प्रक्रियालाई सन्तुलित बनाउँदै लैजान उदार हृदय भएका युवाशक्ति एकजुट हुन ढिलो भएको छ । यि सबै तथ्यमाथी विचार गरी आगामी स्थानिय निर्वाचनमा सबै दल, सबै पार्टीको साझा सहमति कायम गरी विकास प्रेमि युवाहरुको बिजय हुनुपर्ने वर्तमान समयको माग हो । के आगामी निर्वाचन पछि आउने प्रतिनिधी यस्तो एकान्तकारी सोच भएका आउलान् त ! जनता पर्ख र हेरको अवस्थामा कुरी रहेका छन् ।
