
हरेक वर्ष अगस्त १ देखि ७ सम्म विश्वभर र नेपालमा पनि विश्व स्तनपान सप्ताह विविध चेतनामूलक कार्यक्रमका साथ मनाउने गरिन्छ । यस दिवसको मुख्य उद्देश्य स्तनपानको असाधारण महत्वबारे आम सर्वसाधारणमा चेतना फैलाउनु, स्तनपान गराउने परम्परागत बानी–व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु र यसलाई एक महत्वपूर्ण सार्वजनिक स्वास्थ्य जिम्मेवारीको रूपमा स्थापित गर्नु हो ।
आमाको दूध शिशुका लागि प्रकृति प्रदत्त अमूल्य उपहार र अमृत समान हुन्छ, जसले शिशुको समग्र जीवनको जग बसाल्ने काम गर्दछ । विश्व समुदायले यो सप्ताह मनाउनुको पछाडि स्तनपान केवल एउटा आमाको व्यक्तिगत मामिला मात्र नभएर यो सिंगो समाज र राज्यको सार्वजनिक स्वास्थ्यको जिम्मेवारी हो भन्ने बोध गराउनु पनि हो ।
वर्तमान अवस्था हेर्ने हो भने यो निकै चिन्ताजनक र चुनौतीपूर्ण बन्दै गएको विभिन्न तथ्याङ्कहरूले देखाउँछन् । आधुनिकताको नाममा भित्रिएका विकृति र चेतनाको कमीले गर्दा यस क्षेत्रमा ठूला समस्याहरू देखिएका छन् । आफ्नो शारीरिक सौन्दर्य वा रूप बिग्रने गलत बुझाइ, डर र भ्रमका कारण बच्चालाई स्तनपान गराउनबाट पन्छिन खोज्ने आमाहरूको संख्या नेपालमा झण्डै ५५ प्रतिशत पुगेको छ । यो तथ्याङ्कले के देखाउँछ भने आधाभन्दा बढी नेपाली आमाहरू आफ्नो बच्चाको स्वास्थ्य भन्दा बाहिरी रूपलाई बढी प्राथमिकता दिइरहेका छन् ।
स्तनपान गराउने बाँकी ४५ प्रतिशत आमाहरूमध्ये पनि बच्चालाई तोकिएको पूरै समय स्तनपान गराउने आमाहरूको संख्या निकै न्यून छ । शिशु जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान र दुई वर्षसम्म थप आहारका साथ स्तनपान गराउनुपर्ने वैज्ञानिक मान्यता छ, तर नेपालमा यो पूरै अवधि पालना गर्ने आमाहरू स्तनपान गराउने आमाहरुको संख्याको पनि ७० प्रतिशत मात्र छन् ।
विशेषगरी शिक्षित, रोजगारीमा रहेका र सहरीया आमाहरूमा बालअधिकारका कुरा ठूला गर्ने तर आफ्नै शिशुलाई स्तनपान नगराई बजारका महँगा र कृत्रिम दूध (ल्याक्टोजिन आदि) खुवाउने आधुनिकतावादी प्रवृत्ति फेसन जस्तै बनेको छ । बजारका यी अखाद्य वा कम पौष्टिक तत्व भएका वस्तुले शिशुको प्राकृतिक विकासलाई अवरुद्ध पारिरहेका
छन् । यो अवस्थाले गर्दा हाम्रा बालबालिकाहरू मानसिक र शारीरिक रूपमा स्वस्थ भएर हुर्कने र आफ्नो पूरा आयु बाँच्न पाउने उनीहरूको नैसर्गिक अधिकारबाट बञ्चित भइरहेका छन् ।
प्रसिद्ध बालरोग विशेषज्ञ डा. नवराज केसीको पुस्तक ’शून्यको मूल्य’ मा उल्लेख भए अनुसार आमाको दूधमा मौसम र समय अनुसार शिशुलाई आवश्यक पर्ने अद्भुत र जादुई तत्वहरू पाइन्छन्, जुन संसारको कुनै पनि प्रयोगशाला वा कारखानामा बन्न सक्दैन ।
बिहानपखको आमाको दूधमा कोर्टिसल नामक तत्व हुन्छ, जसले शिशुलाई दिनभरिको सुरुवाती ताजगी र ऊर्जा दिन्छ । अचम्मको कुरा त के छ भने, रातीको दूधमा शिशुलाई आरामसँग सुत्न सघाउने प्राकृतिक तत्व हुन्छ, जसले शिशुका लागि कुनै हानिकारक साइडइफेक्ट बिनाको स्लिपिङ ट्याबलेटले जस्तै काम गर्छ ।
आमाको दूध मौसम अनुसार आफैं परिवर्तन हुन्छ । गर्मी महिनामा दूधमा पानीको मात्रा स्वतः बढेर आउँछ, जसले शिशुलाई तिर्खा लाग्न दिँदैन र शीतल बनाउँछ । ठीक त्यसैगरी, जाडो महिनामा पानीको मात्रा घटेर तेल वा फ्याटको मात्रा बढ्छ, जसले शिशुलाई चिसोबाट बचाएर न्यानो राख्छ । शिशु जन्मेको तुरुन्तै आउने पहिलो पहेँलो र बाक्लो बिगौती दूध शिशुका लागि पहिलो खोप जस्तै हो । यसले झाडापखाला, निमोनिया, कुपोषण र विभिन्न छालाका रोगहरूबाट बचाउँछ ।
नियमित स्तनपानले शिशुको आन्द्राको विकास, दाँत र गिजाको उचित विकासमा मद्दत गर्छ । स्वास्थ्य विज्ञहरूका अनुसार यदि संसारका सबै शिशुले नियमित आमाको दूध मात्रै खान पाए, संसारभरको बाल मृत्युदरमा एक चौथाइले कमी आउने निश्चित छ ।
स्तनपानले आमाको रूप बिग्रन्छ भन्ने बुझाइ पूर्णतः मिथ्या, वैज्ञानिक आधारहीन र भ्रम मात्र हो । वास्तवमा, स्तनपानले आमाको शारीरिक सौन्दर्यमा कमी ल्याउने होइन, बरु महिलाको शरीरमा थप निखार र स्वास्थ्य ल्याउँछः। गर्भावस्थामा महिलाको शरीरमा जम्मा भएको अनावश्यक बोसो र तौललाई प्राकृतिक रूपमा घटाउन स्तनपानले ऊर्जा खर्च गरेर मद्दत गर्छ ।
शिशुले स्तन चुस्दा आमाको शरीरमा अक्सिटोसिन जस्ता हर्मोनहरू उत्पादन हुन्छन्, जसले सुत्केरीपछि हुने अत्यधिक रक्तस्राव रोक्छ र पाठेघरलाई चाँडो भन्दा चाँडो आफ्नो सामान्य पूर्ववत् अवस्थामा फर्कन सहयोग पुग्छ ।
चिकित्सा विज्ञानका विभिन्न अध्ययनहरूले प्रमाणित गरिसकेका छन् कि नियमित स्तनपान गराउने महिलाहरूमा डिम्बाशय र स्तन क्यान्सर जस्ता ज्यान लिने रोगहरू लाग्ने सम्भावना निकै कम हुन्छ । स्तनपानले आमाको महिनावारीलाई प्राकृतिक रूपमा गडबड हुनबाट रोक्छ र यसले एउटा प्राकृतिक गर्भनिरोधकको रूपमा पनि काम गर्छ । साथै, स्तनपान गराउँदा आमा र बच्चाको मानसिक एकाग्रता बढ्छ र तनाव कम भई राम्रो निद्रा पर्छ ।
हाम्रो समाजमा आमालाई भगवानको प्रतिरूप मानिन्छ । तर भ्रमकै भरमा आफ्नै मुटुको टुक्रालाई अमृत छोडेर बजारको बट्टाको दूध खुवाउनु मातृत्वमाथिको अन्याय हो । स्तनपान गराउनु कुनै लज्जा, संकोच वा अप्ठ्यारोको विषय होइन, यो त आमा हुनुको गौरव र प्रकृतिको सबैभन्दा सुन्दर उत्सव हो । शिशु जन्मिएको एक घण्टाभित्रै स्तनपान गराउनु, छ महिनासम्म आमाको दूध मात्र खुवाउनु र दुई वर्ष वा सोभन्दा बढी समयसम्म अन्य पूरक ठोस आहारका साथै स्तनपानलाई निरन्तरता दिनु शिशुको जन्मसिद्ध अधिकार हो ।
त्यसैले, यस स्तनपान सप्ताहको अवसरमा हामी सबैले समाजमा रहेका भ्रमहरूलाई चिर्दै आफ्ना छोराछोरीलाई स्वस्थ, सबल र दीर्घ जीवनको अवसर प्रदान गर्न प्रत्येक आमा र परिवारलाई सचेत र सहयोगी बनाउन जरुरी छ । किनभने, आज स्वस्थ शिशु हुर्कनु नै भोलिको दिगो आर्थिक, सामाजिक र राष्ट्रिय विकासको सबैभन्दा बलियो सूचक हो ।
