
एम ए अर्थशास्त्र
पालिकामा बेरोजगारी एक गम्भीर समस्या हो प्रत्येक पालिकामा विस्तारै तर उल्लेखनिय रुपमा प्रत्येक वडा र ग्रामिण वस्तिलाई यसले पिरोल्दै लगेको छ । यदि समयमै यसको सामना गर्न सकिएन भने वा रोजगारी मूलक, उद्योगधन्दा वा व्यवसाय संचालन गर्न सकिएन भने संकट उत्पन्न हुने निश्चित छ । ग्रामिण पालिकामा अधिकांस जनता कृषि पेशामा आबद्ध छन् तर गरिब छन् । प्रत्येक पालिकाका ‘नीति तथा कार्यक्रम’ प्रत्येक रुपमा गरिब हटाउने तर्फ केन्द्रीत गरि गरिबी हटाउन आक्रमण गर्नु पर्दछ । ग्रामिण वस्तिमा रहेको बेरोजगारी हटाउने निरन्तर प्रयास गरिरहनु पर्दछ । त्यसैले नेपालको ग्रामिण अर्थतन्त्रको चर्चा गर्दा भन्ने गरिन्छ । गरिबि बेरोजगारीको कारण हो र बेरोजगारी गरिबिको कारण हो । गरिबी र बेरोजगारी एक आपसमा अन्तरनिहित छन् । जब गरिबी बढ्दछ, समाजमा विभिन्न समस्या पैदा हुन्छ । जसको निराकरणको लागि आर्थिक योजनाको कार्यान्वयन गर्नु पर्दछ । तनहुँ जिल्लकै सन्दर्भमा चार नगरपालिका छ गाउँ पालिकामा कति शिक्षित युवाहरु बेरोजगार छन्, तिनको लागि के कस्तो रोजगार मूलक उद्योग व्यवसाय, औधोगिक प्रतिष्ठान स्थापना गर्न र रोजगार दिने भन्ने बार्षिक नीति तथा कार्यक्रममा कहिकतै उल्लेख गरिएको पाईदैन । यो कस्तो स्थानीय सरकार हो ? वैदेशिक रोजगारीमा जाने युवाको ताँती हरेक बर्ष देखिएकै छ । रोजगार शाखा कुनै पालिकामा छैनन् ? यो कस्तो जनप्रतिनिधि मूलक संस्था हो, जस्ले जनताको हितको लागि गास, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गर्न जिम्मेवार छौं भनिरहेका छन् तर अल्पकालिन, दीर्घकालिन रोजगारी दिने प्रतिष्ठान कहिकतै देखिदैन ।
पालिकाभित्र पूर्वाधार विकासको क्षेत्र, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, वन, खानेपानी, विद्युत सञ्चार, ग्रामिण घरेलु उद्योग जस्तै अन्य विभिन्न क्षेत्रमा कतिले रोजगारी पाएका छन्, नपाएकाको लागि कस्तो योजना बनाइएको
छ ? सो कहि कतै देख्न पाईएको छैन । यसको जिम्मेवारको निकाय को हो र कहाँ छ ? कस्ले उत्तर दिन्छ ? यो प्रश्नले हरेक युवालाई परोलि रहेको छ ।
ग्रामिण क्षेत्रमा हाम्रा परम्परागत उद्योग करिब करिब विनास भैसकेका छन् । पालिकाको स्पष्ट औधोगिक नीति, रोजगारी नीति नै छैन । यो कस्तो लोकतन्त्र, प्रजातन्त्र हो ? जनताका समस्या सुन्ने निकाय कुन हो ? पालिकाका निर्वाचित जनप्रतिनिधि कसैले यसको बारेमा आवाज उठादैनन् किन ?
अर्थशास्त्रीहरु, योजनविद्हरु देश विकास, समाजको विकासको लागि सबै भन्दा महत्वपूर्ण साधान मानव संस्साधन (Manpower) मान्दछन् । शिक्षित, सीप युक्त (Skilled Manpower) जनशक्ति भएको ठाउँमा समाज रुपान्तरण, आर्थिक विकास, आर्थिक बृद्धि, विकसित ग्रामिण र शहरी क्षेत्रमा सभ्यताको विकसित अवस्था देख्न सकिन्छ भन्दछन् तर खै के भएको हो, तनहुँ जिल्लामा ? प्रश्नको उत्तर खोजि रहेको अवस्था छ । आर्थिक विकासको लागि मानवीय साधनको सदुपयोग हुनुपर्दछ । यस तर्फ बेलैमा सोचिएन भने गरिबि र अस्थिरिताले समाजमा विखण्डन र विद्रोह जन्माउदछ । यसर्थ स्थानीय पालिकाले वेरोजगारी समस्यालाई गम्भिर समस्याको रुपमा प्राथमिकताको सूचीमा राख्नु पर्दछ ।
यदि यस समस्यालाई प्राथमिकताको सूचीमा वा समाधानको सूचीबाट बाहिर राखियो भने बेरोजगार युवाहरुको समूह समाजका विघटनकारी समूहसंग आवद्ध भै राजनैतिक स्थिरताको लागि ठूलो खतरा बन्न सक्दछन् । यसै सन्दर्भमा World Development Report सन् २०२४ ले के निष्कर्ष निकालेको छ भने ‘कुनै पनि समाजमा अपराध प्राथमिक रुपमा गरिबि र सामाजिक अशान्तिसंग गाँसिएको हुन्छ ।
युवा बेरोजगारको समयमै समाधान नगरिएमा झन बढी थपिदै जान्छ । यसर्थ हरेक पालिकाले यसको तथ्याङ्क संकलन गरी आफ्नो बार्षिक नीति तथा कार्यक्रममा अनिवार्य रुपमा राख्नु पर्दछ ।
युवाहरुलाई निराशाको समुन्द्रमा डुल्नबाट रोक्न रोजगारीका ढोकाहरु खोल्न अनिवार्य हुन्छ ।
आशा गरौं अब आउने जनप्रतिनिधिले यसको गम्भिर योजना बनाइ कार्यन्वयनमा ल्याउने छन् ।
