
डा. चन्द्र गिरीको उपन्यास हातमा थियो । डा. गिरीको उपन्यास “डङ्की सपनाको कालबाटो” मा जसरी पनि अमेरिका पुग्ने सपनाको पछाडि लागेर लाखौं रुपैयाँ दलाललाई बुझाई अनिश्चय र अन्यौलको पिङ खेल्दै गरेका इलामको सलकपुरका पशुपतीको कथा पढ्दै थिएँ । २७ असारमा कान्तिपुर दैनिकमा यस्तै विषयवस्तुमा आधारित एउटा फिचर पढ्ने मौका मिल्यो । फिचरमा डंकी रुट(अवैध बाटो) हुँदै अमेरिका जान हिँडेका तर दुइवर्ष देखि वेपत्ता भएका रुकुम पश्चिमका तीन युवा दीपक केसी, गोपाल केसी र पहल केसीको दुःखद कथा प्रस्तुत गरिएको रहेछ ।
डङ्कीका पशुपती तथा दलालाई लाखौं बुझाएर जसरी पनि अमेरिका पुग्ने अभिलाषा सहित निस्केका तर लिवियाबाट बेपत्ता भएका रुकुुम पश्चिमका तीनभाई केसीका परिवारको विलौना गाथा पढेपछि केही लेख्ने मन लाग्यो । अवैध बाटोबाट भएपनि अमेरिका पुगी छाड्ने र अथाहा कमाउने सपनाले दिने सास्तीका बारेमा यो संक्षिप्त लेखमा उल्लेख गर्ने जमर्काे गरेको छु ।
नेपालका सहरी होस् या ग्रामीण भेग जताततै अहिले अमेरिकी सपना महामारी जस्तै फैलिएको छ । छिमेकी वा साथीभाइ अमेरिका पुगेको र महिनाको लाखौं कमाएको दलालको कथा सुनेर युवाहरू अमेरिका पुग्न मरिहत्ते गरिरहेका
छन् । तर, यो कथित सुखको यात्रा कति भयानक र अनिश्चित छ भन्ने कुराको यथार्थ रुकुम पश्चिमका तीन केसी परिवारको कथा अनि “डङ्कीे”का मुख्य पात्र पस्पतेको कथाले छताछुल्ल पारेको छ ।
‘डंकी’ को चक्रव्यूह ः बाटोमै हराए छोराहरू शिर्षक कान्तिपुरमा प्रकाशित फिचरका तथा “डङ्की” उपन्यासका अुनसार ऋणबाट जम्मा गरेको लाखौं रकम दलाललाई बुझाएपछि सुरु हुने डंकी रुटको यात्रा कुनै निश्चित तालिकामा चल्दैन । दलालहरूको कब्जामा परेपछि युवाहरू कहिले भारतका गल्ली, कहिले दुबईका अँध्यारा कोठा, त कहिले अफ्रिका र लिबियाका हिरासतमा महिनौंस थुनिन्छन् ।
ट्रान्जिट देशहरूमा प्रहरीको छापा, राहदानी जफत र दलालहरूको चरम यातनाका कारण युवाहरू परिवारसँग महिनौं सम्पर्कविहीन हुन्छन् । रुकुमका दिपक र इलामका पशुपतीले “पुलिसले घेर्न लाग्या छन्, लामो कुरा गरेपछि पुलिसले छोप्छन् ।” भनेका सन्दर्भहरु फिचर र उपन्यासमा बारम्बार आएका छन् ।
डङ्कीका पशुपती ब्राजिलको साओ पाउलो विमानस्थलमा ओर्लिएपछि उनलाई सुरिनाम जाने विमान मिस गर्न र पासपोर्ट च्यातेर फाल्न भनिन्छ । जब उनी विमान मिस गरेर तथा पासपोर्ट च्यातेर बाहिर निस्कन्छन्, तब श्रीमती पार्वतीले विरामी भएकी आमाको निधनको रुँदै खबर गर्छिन् । उनलाई तत्काल नेपाली फर्केर निस्प्राण भैसकेकी भएपनि आमाको मुख हेर्न मन लाग्छ तर विडम्बना उनीसंग न त पासपोर्ट हुन्छ न त नेपालसम्म फर्कने पैसा नै ।
यदि लिबिया वा दुबईको बाटो नभई दक्षिण अमेरिका हुँदै जाने रुट (ब्राजिल, कोलम्बिया) रोजिएको छ भने यात्रुहरूले संसारकै सबैभन्दा खतरनाक जंगल ड्यारियन ग्याप पार गर्नुपर्ने रहेछ । कोलम्बिया र पनामाको बीचमा रहेको यो घना जंगल अवैध आप्रवासीहरूका लागि नरक जस्तै रहेको डङ्कीमा वर्णन गरिएको छ । कठिनाइ र प्राकृतिक जोखिमः हिलो, दलदल, गोही र विषालु सर्पले भरिएको यो जंगलमा सात देखि दश दिनको हुने र भोकभोकै हिँड्नुपर्ने रहेछ । गर्भवती महिला यो बाटोको यात्रामा छन् भने गर्भ पतन हुनु सामान्य घटना जस्तै बन्दो रहेछ । विरामी परेमा साथ रहने र स्याहार गर्ने मान्छे वा साथी हुने त कुरै भएन ।
यो क्षेत्र सशस्त्र विद्रोही, ड्रग कार्टेल र हतियारधारी लुटेराहरूको नियन्त्रणमा हुने भएकाले आप्रवासीहरूसँग भएका डलर, मोबाइल र बहुमूल्य सामान लुटिँदा रहेछन् । महिला र युवतीहरूमाथि चरम यौन हिंसा र बलात्कारका घटना यहाँ सामान्य जस्तै हुने रहेछन् । दूषित पानी, सरसफाइको अभाव, र लामखुट्टेको टोकाइका कारण डेंगु, मलेरिया र झाडापखाला जस्ता रोगको संक्रमण तुरुन्तै फैलिने डर उस्तै । उपचार नपाएर कतिपय यात्रुको शव जंगलकै बाटोमा सडेका र दुर्गन्ध तथा रोग फैलाउन सहाएक हुने गरेको वर्णन डङ्कीमा छ ।
ड्यारियन ग्यापको नरक पार गरेर सेन्ट्रल अमेरिका (कोस्टारिका, निकारागुआ, होन्डुरस, ग्वाटेमाला र मेक्सिको) हुँदै अनि अनेकौं जोखिम मोलेर तथा हण्डर र ठक्कर खाएर जब युवाहरू जब अमेरिकी सीमामा पुग्छन्, त्यहाँ अर्को ठूलो पर्खाल उभिएको हुने रहेछ ।
मेक्सिको र अमेरिकाको सीमामा रहेका अग्ला फलामका पर्खालहरू रातिको समयमा दलालले सिँढी लगाएर नाघ्न लगाउने रहेछन् । पर्खाल नाघेर हामफाल्दा हुने जोखिम छँदैछ, पर्खाल पारीको सीमा क्षेत्रमा रहेको एरिजोनाको मरुभूमि पार गर्दा अत्यधिक गर्मी र पानीको अभावले मानिसहरू ढल्ने रहेछन् । कतिपय त रियो ग्रान्डे नदी तर्दा तीव्र बहावले बगेर बेपत्ता समेत हुँदा रहेछन् ।
धेरैलाई लाग्छ, अमेरिकी भूमिमा पाइला टेक्ने बित्तिकै दुःखका दिन सकिए । तर वास्तविकता त्यस्तो हुन्न रहेछ । सीमा सुरक्षा बलले पक्राउ गरेपछि आप्रवासीहरूलाई कडा सुरक्षासहितको अध्यागमन बन्दीगृह मा राखिने तथा कतिपय त एक वर्ष वा सोभन्दा बढी समय जेल बसेर अन्ततः रित्तो हात नेपालै डिपोर्ट हुने रहेछन् ।
अमेरिका छिरेपछि ‘शरणार्थीको मुद्दा लड्न वकिललाई थप हजारौं डलर बुझाउनुपर्ने तथा मुद्दा अस्वीकृत भएमा जुनसुकै बेला देश निकाला हुने त्रास रहिरहने रहेछ । सुरुवाती वर्षहरूमा कानुनी कागजपत्र नहुँदा लुकीछिपी रेस्टुरेन्ट, ग्यास स्टेसन वा कृषि क्षेत्रमा दैनिक १२ देखि १५ घण्टा कडा श्रम गर्नुपर्ने कुरा डङ्कीमा उल्लेख छ । कुनैपनि बेला देश निकाला हुनुपर्ने जोखिम, न्यून ज्याला, बस्ने ठाउँको अभाव र घरको ऋणको तनावले धेरै युवामा मानसिक रोगको देखिन सक्ने रहेछ ।
रुकुमका तीन युवा बेपत्ता भएको घटना होस् वा डंकी उपन्यासका पशुपतीको कथा, अवैध रूपमा अमेरिका जाने यात्रा सपनाले निम्त्याउने सास्ती हो । दलालहरूले सोझा साझा परिवारलाई प्रलोभनमा पारेर करोडौं कुम्ल्याउँछन् र युवालाई मृत्युको मुखमा धकेलिदिन्छन् अथवा भनौं सपनाले हामीलाई सास्तीको मार्ग रोजाउँछ र मृत्युसंग पौंठेजोरी खेल्न विवश पार्छ ।
सपनाले निम्त्याउने सास्तीको वर्णन डङ्कीमा गरिएको छ र आजकल इन्टरनेटमा पनि यसका बारेमा प्रसस्त जानकारीहरु पाईन्छन् । यदि हामी मध्ये कोही जसरी पनि अमेरिका पुग्ने सोचमा छौं भने एक पटक डङ्की पढौं । तल्लो बाटो हुँदै अमेरिका जान खोज्दाका कठिनाइ र चुनौति बारे जानकारी राखौं । अस्तु ।
