
हिजो आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । पूर्वीय दर्शन र सनातन संस्कृतिमा यो दिन केवल एउटा पर्व मात्र होइन बरु अज्ञानताको अन्धकारबाट ज्ञानको उज्यालो तर्फ डो¥याउने मार्गदर्शक (गुरु) प्रति कृतज्ञता अर्पण गर्ने एउटा पवित्र उत्सव हो । गुरु शब्दको गरिमा यति उच्च छ कि आज यो अन्तर्राष्ट्रियकरण भइसकेको छ । अक्सफोर्ड शब्दकोशले समेत यसलाई कुनै पनि विषयको विज्ञ वा दक्ष व्यक्तिको रूपमा स्विकारेको छ ।
तर, वर्तमान समयमा आइपुग्दा गुरु–शिष्यको यो पावन सम्बन्धमा एउटा गम्भीर विरोधाभास र चुनौती देखिन थालेको छ। एकातिर हामी गुरुलाई साक्षात ईश्वरको रूपमा पुज्छौँ भने अर्कोतिर आधुनिक विद्यालयहरूमा अनुशासनका नाममा बालबालिकाहरूमाथि हुने अमानवीय यातनाका घटनाले यो सम्बन्धको पवित्रतामाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ ।
हाम्रा उपनिषद र प्राचीन श्लोकहरूले गुरुलाई जीवनको अन्धकार भगाउने प्रकाशको रूपमा चित्रण गरेका छन् र भनेका छन्, गुरुले हामीलाई असत्यबाट सत्यतर्फ, अज्ञानको अँध्यारोबाट चेतनाको उज्यालोतर्फ र मृत्युको भयबाट अमरत्वको मार्ग देखाउँछन्। सनातन परम्परामा गुरुको स्थान ब्रह्मा, विष्णु र महेश्वर (शिव) सरह मानिएको छ, किनकि गुरुले नै काँचो सुनरूपी बालकलाई संस्कार र विवेक दिएर एउटा पूर्ण मानवको आकार दिन्छन् ।
आजको विज्ञान र प्रविधिको युगमा ज्ञान प्राप्तिका माध्यमहरू बदलिएका छन् । अहिले हामीलाई एकलव्यले जस्तो द्रोणाचार्यको मूर्ति बनाएर वा औँला नै काटेर गुरुदक्षिणा दिनुपर्ने अवस्था छैन । औषधि, प्रविधिदेखि खगोल विज्ञान सम्मका कुराहरू गुगल र युट्युबमा सहजै उपलब्ध छन् । स्वरूप परिवर्तन भए पनि गुरुको महत्व मेटिएको छैन । इन्टरनेट ज्ञानको स्रोत त हुन सक्छ, तर जीवन जिउने कला, सीप, विवेक र सही मार्ग देखाउने दायित्व आज पनि मानव रूपी गुरुकै काँधमा छ ।
जब हामी गुरु पूर्णिमामा गुरुको वन्दना गरिरहेका हुन्छौँ, ठीक त्यही समयमा सञ्चारमाध्यममा आउने केही प्रतिनिधि घटनाहरूले हाम्रो समाज र शिक्षा प्रणालीको एउटा कुरूप अनुहार उजागर
गर्छन् । अनुशासन र राम्रो नतिजाको दबाबमा केही शिक्षकहरूले आफ्नै शिष्यमाथि बर्बरता प्रदर्शन गरेका उदाहरणहरु हाम्रासामु छन् ।
छ वर्ष अगाडिको परीक्षामा कम अंक ल्याएको भन्दै जागृति माध्यमिक विद्यालय भक्तपुरकी एक शिक्षकले विद्यार्थीलाई पेन्सिल कटरको ब्लेडले नाडी चिर्न लगाएको मन नै विचलित पार्ने घटना होस् या डेढ वर्ष अगाडिको भीमादको प्रभात एकेडेमीमा कक्षा कोठामा होहल्ला गरेको भन्दै कक्षा ४ का साना बालबालिकालाई तातो पन्युँले गालामा डामेको र तातो पानीमा हात डुबाइदिएको जस्तो अमानवीय सजाय यसैका उदाहरण हुन् ।
यस्ता उदाहरण अरु पनि छन् । नवलपरासी पश्चिममा शिक्षकको कुटपिट र यातनाका कारण एक अबोध विद्यार्थीको देब्रे आँखा नै फुटेको दर्दनाक अवस्था अनि पोखरा गण्डकी ऐकेडेमीमा पढाइ भइरहँदा शौचालय जान खोजेको जस्ता सामान्य कारणमा विद्यार्थीको शरीरभरी निलडाम हुने गरी पिटिएका घटनाहरू शिक्षकले आफ्नो गरिमा भुलेका घटनाका उदाहरण हुन् ।
यी घटनाहरू केवल समाचार मात्र होइनन्, यसले मानव विवेक र शिक्षाको मूल मर्मलाई नै गिज्याइरहेका छन् । बालबालिका सम्बन्धी ऐन, २०७५ र नेपालको कानुनले विद्यालयमा दिइने जुनसुकै प्रकारका शारीरिक वा मानसिक सजायलाई पूर्णतः वर्जित र फौजदारी कसुर मानेको छ । शिक्षा मन्त्रालय र स्थानीय प्रशासनले यस्ता घटनामा निगरानी राख्ने र कारबाही गर्ने बताए पनि धेरैजसो घटनामा दोषीले के कस्तो सजाय पाए भन्ने कुरा कानुनी दायराभित्रै ओझेलमा पर्ने गरेको छ ।
आखिर काँचो सुनलाई आकार दिने जिम्मेवारी पाएका शिक्षकहरू किन यसरी संयम गुमाउँदैछन् । खोज्दै जाँदा यस्ता कारणहरु भेटिन्छन् वा भेटिन सक्छन् । शिक्षक विद्यालय र अभिभावकबाट जस्तै अवस्थामा पनि उत्कृष्ट नतिजा ल्याउनैपर्ने दबाबमा हुन्छ । उत्कृष्ट नतिजाको दवाव शायद उसले विद्यार्थीमाथि थोपर्छ । आधुनिक ग्याजेट्स र सामाजिक सञ्जालका कारण बाल बालिकाहरूमा पढ्ने र एकाग्र हुने बानीमा ह्रास आएको छ, जसले शिक्षकमा निराशा र आक्रोश पैदा गर्छ । बालबालिकाको उमेर समूह अनुसार उनीहरूको व्यवहार फरक हुन्छ र डर–त्रासबाट कहिल्यै पनि वास्तविक सिकाइ हुँदैन भन्ने स्थापित सिद्धान्तलाई शिक्षकहरूले व्यवहारमा उतार्न नसक्नुले पनि यस्ता घटनाहरु भएका
हुनसक्छन् ।
शिक्षक पनि मानिस हुन्, उनीहरूमा तनाव र रिस हुनु स्वाभाविक हो । तर, आफ्नो व्यक्तिगत वा व्यावसायिक तनाव अबोध बालबालिकामाथि पोख्नु अक्षम्य भूल हो । संसार जतिसुकै आधुनिक र व्यावसायिक बने पनि गुरुको मर्यादा डाँडामाथिको घाम जस्तै ओझेलमा पर्न दिनु हुँदैन । ज्ञानको व्यापार होला, तर संस्कार र स्नेहको व्यापार हुन सक्दैन ।
एउटा असल गुरुले विद्यार्थीलाई भय होइन, भरोसा दिन सक्नुपर्छ । डर र त्रासको जगमा उभिएको शिक्षाले मानिसलाई साक्षर त बनाउला, तर दीक्षित र विवेकशील बनाउन सक्दैन । हिजो मनाइएको गुरु पूर्णिमाको वास्तविक सार्थकता तब मात्र रहनेछ, जब प्रत्येक शिक्षकले आफ्नो रिस र आवेगलाई नियन्त्रणमा राखेर विद्यार्थीलाई स्नेहपूर्वक असल मार्गमा डो¥याउने प्रतिज्ञा गर्नेछन् ।
आफ्नो गरिमा र गुरुतत्वको दियोलाई सदैव प्रज्वलित राखौँ । समस्त गुरुहरूमा कोटी–कोटी नमन र ढिलै भएपनि गुरु पुर्णिमाको शुभकामना !
