
जब विश्वमा खडेरी , त्यसले ल्याउने भोकमरी र वातावरणीय संकटको बहस चल्छ, तब सन् ९० को दशकको सोमालियाको त्यो दर्दनाक दृश्य आँखाअघि झल्झली आउँछ । लामो समय पानी नपर्दा तिर्खा मेट्न गाईको सुतमै मुख गाडेर गहुँत खान बाध्य नागरिक, भोक र प्यासले कंकाल बनेका बालबालिका, र विश्व खाद्य कार्यक्रमको सहयोगको पर्खाइमा बसेका ती कारुणिक आँखाहरू कसले भुल्न सक्छ र ? दशक लामो खडेरीकै कारण सोमालिया विश्वकै गरिब राष्ट्रको रूपमा कहलियो ।
हामीले बुझ्ने सामान्य भाषामा खडेरी भनेको लामो समय पानी नपर्नु मात्र हो, तर यसको परिणामले एउटा सिङ्गो देशलाई नै मरुभूमि र कङ्गाल बनाउने सामथ्र्य राख्छ । आज त्यही खडेरीको छाया नेपालमा पनि गाढा बन्दै गएको छ । यद्यपि, हाम्रो खडेरी सोमालियाको जस्तो मात्रै होइन, यसको रूप र चरित्र फरक तर उत्तिकै भयावह छ ।
दुइ वर्ष अगाडिको कुरा हो, देशभरि खडेरीका कारण नागरिक आक्रान्त बन्न पुगेका थिए । कतिपय किसानका मकैबाली सप्रिन नपाउँदै सुकेर पराल भइसकेका थिए । धान रोपेका खेतहरूमा पानीको अभावले धाँजा फाटेको हृदयविदारक दृश्य देखिन्थ्यो । नगदेबालीका रूपमा चिनिने अदुवा र पिँडालु बारीमै सुकेर सखाप भएका थिए । मिहिनेत, लगानी र पसिना माटोमा बगेर जाँदा पनि पीडित नागरिकका लागि राज्यबाट कुनै राहत वा मल्हमको व्यवस्था हुन नसक्दा नागरिक थप व्यथित बन्न पुगेका थिए । यो केवल प्रकृतिको खडेरी मात्र थिएन्, हाम्रा जनप्रतिनिधिहरूको चेतना र नैतिकतामा परेको चरम खडेरीको जिउँदो उदाहरण थियो र यस्ता उदाहरण हामीले धेरै देख्न र भोग्न बाँकी नै छ ।
पानीको असली मूल्य बुझ्न वर्षाको पानी जम्मा गर्न घरको छानोमा पाइप जोडेर सिमेन्टको घैँटो वा पोखरी भर्ने ग्रामीण नागरिकलाई सोध्नुपर्छ । चर्को घाममा उकालो चढ्दै गर्दा प्यासले कण्ठ सुकेको बटुवालाई सोध्नुपर्छ । एक गाग्री पानी भर्न घण्टौँ लाइन बस्नुपर्ने वा पानीकै लागि कोसौँ टाढा धाउनुपर्ने दिदीबहिनीलाई सोध्दा पानीको महत्व स्पष्ट हुन्छ ।
आज देशका नेता, कर्मचारी, शिक्षक, उद्योगी र व्यापारी लगायत समाजका हरेक तप्काको नैतिकता र इमान्दारीमा खडेरी परेको छ । र विडम्बना, यही नैतिक खडेरीका बीच हामीले बर्षा सम्बन्धी वास्तविक खडेरी र यसले निम्त्याउने मरुभूमिकरणको कठोर सामना गर्नुपरिरहेको छ ।
“पानी जीवन हो” भन्ने हाम्रा अग्रजको भनाइ कति शाश्वत रहेछ भन्ने कुरा आजको संकटले प्रष्ट पारेको छ । पानीको असली मूल्य बुझ्न मेलम्चीको पानी पिउने आशमा दुई दशक बिताएका काठमाडौँका बासिन्दालाई सोध्नुपर्छ । वर्षाको पानी जम्मा गर्न घरको छानोमा पाइप जोडेर सिमेन्टको घैँटो वा पोखरी भर्ने ग्रामीण नागरिकलाई सोध्नुपर्छ । चर्को घाममा उकालो चढ्दै गर्दा प्यासले कण्ठ सुकेको बटुवालाई सोध्नुपर्छ । एक गाग्री पानी भर्न घण्टौँ लाइन बस्नुपर्ने वा पानीकै लागि कोसौँ टाढा धाउनुपर्ने दिदीबहिनीलाई सोध्दा पानीको महत्व स्पष्ट हुन्छ । अनि, समयमा वर्षा नहुँदा ब्याडमै बीउ सुकेर खेत बाँझो राख्न बाध्य र रोपेको धान खेतमा फाटेको धाँजा हेर्दै टोलाएका किसानको आँखामा खडेरीको वास्तविक पीडा देख्न सकिन्छ ।
बाल्यकालका दिनहरू सम्झँदा, घर छेउको खोल्सीमा वर्षेनी आउने ठूला बाढीहरू आँखामा आउँछन् । हप्ता–१० दिनसम्म लगातार पर्ने झरीले जनजीवन अस्तव्यस्त बनाउँदा “अब त पानी पर्न थामिए हुन्थ्यो” भनेर पुकारेका दिनहरू अझै ताजै छन् । हिउँदमा हप्तौँ झरी पर्दा “बलिया बाङ्गा बाघलाई, बुढापाका माघलाई” भन्ने उखान नै चलेको थियो, जसको अर्थ पुस–माघको ठन्डी र झरी सहन नसकेर बूढापाका पशुहरूको जीवन समाप्त हुन्थ्यो ।
तर, पछिल्ला केही वर्षका अपवादलाई छाड्ने हो भने यी सबै कुरा अब ‘एकादेशको कथा’ बनिसकेका छन् । हिउँदे झरी पर्न त छाड्यो नै, वर्षायाममा पनि पर्याप्त पानी पर्न छाडेको धेरै वर्ष भइसक्यो । यो हामी बिस्तारै खडेरी र मरुभूमिकरणको भयानक चपेटामा पर्दैछौँ भन्ने अकाट्य संङ्केत हो । खडेरी कुनै एउटा भूगोलको मात्र समस्या होइन, यो विश्वव्यापी संकट हो । तथ्याङ्क भन्छ, विश्वमा हरेक वर्ष झण्डै ६ करोड मानिस खडेरीको चपेटामा पर्छन् । विगत १२० वर्षमा विश्वभर १ करोड १७ लाख मानिसको मृत्यु खडेरीकै कारण भएको छ ।
विभिन्न अध्ययन अनुसार आगामी सन् २०५० सम्ममा खडेरीले विश्वको तीन चौथाई जनसंख्यालाई प्रभावित पार्नेछ । सन् ८० र ९० को दशकको तुलनामा सन् २००० पछिका दुई दशकमा खडेरी प्रभावित जनसंख्या २९ प्रतिशतले बढेको छ ।
बढ्दो वन विनाश र सहरीकरणका नाममा ठडिएका कंक्रिटका जङ्गलले गर्दा हामी खडेरी र मरुभूमिकरणको संकटको डिलमा उभिएका छौँ, भन्दा अन्यथा हुँदैन । अब त्यो डिलबाट हामफालेर सखाप हुने कि फर्केर सकुशल रहने ? सक्किने कि सच्चिने ? रोजाई हाम्रै हातमा छ ।
हाम्रो दक्षिणी छिमेकी भारतलाई यो संकटको कति डर छ भने, उसले आफ्ना पानीका स्रोतहरूको संरक्षण र प्रयोग त गरिरहेकै छ, साथै नेपालको पानीमाथि आधिपत्य जमाउन बेलाबेला देखाउने लालसाले पनि पानीको भू–राजनीतिलाई प्रष्ट पार्छ । जलस्रोतको दोस्रो धनी देश भनिए पनि बढ्दो विश्वव्यापि तापमान, कालोभीमकाय पहाड बन्दै गएका हिमाल,बढ्दो जनसंख्या र प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहनका कारण हामी आफैँ पनि छिट्टै काकाकुल बन्ने निश्चित जस्तै छ ।
बढ्दो वन विनाश र सहरीकरणका नाममा ठडिएका कंक्रिटका जङ्गलले गर्दा हामी खडेरी र मरुभूमिकरणको संकटको डिलमा उभिएका छौँ, भन्दा अन्यथा हुँदैन । अब त्यो डिलबाट हामफालेर सखाप हुने कि फर्केर सकुशल रहने ? सक्किने कि सच्चिने ? रोजाई हाम्रै हातमा छ । बढ्दो मरुभूमिकरण र खडेरीविरुद्ध विश्व समुदायमा जनचेतना जगाउन र ऐक्यवद्धता कायम गर्न सन् १९९५ देखि विश्व मरुभूमिकरण र खडेरी विरुद्धको दिवस मनाउन थालियो । यसको मूल उद्देश्य जमिनमा पानी पुनःभरणको व्यवस्था मिलाउनु र यस जोखिमबाट कोही पनि सुरक्षित छैन भन्ने सत्यलाई आत्मसात गर्नु हो ।
तसर्थ, व्यक्तिगत स्वार्थका लागि गरिने वन विनाशलाई बेलैमा रोकौँ। हाम्रा सहरहरूलाई कंक्रिटको मरुभूमि बन्नबाट जोगाऔँ। पर्यावरण जोगिए मात्र मानव सभ्यता जोगिन्छ । आऔँ, आजैदेखि सचेत बनौँ र आउँदो पुस्ताका लागि एउटा सुन्दर, हरियो र सुरम्य संसार छोडेर जाऔँ ।
