दमौली/व्यास नगरपालिका वडा नं. १२ मा अवस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरूका लागि एक विशेष स्वास्थ्य तथा जीवन उपयोगी सिप सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ ।
गत मंगलबार वडा नं. १२ को स्वास्थ्य कार्यालयको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो । किशोरावस्थामा देखिने शारीरिक तथा मानसिक परिवर्तनहरूलाई सही ढङ्गले बुझ्न र उनीहरूलाई सचेत नागरिक बनाउन सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य कार्यालय प्रमुख हरिश्चन्द्र वाग्लेको मुख्य सहजीकरणमा तालिम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
तालिम अवधिभर वाग्लेले किशोर–किबशोरीहरूको समग्र विकास र स्वास्थ्यसँग जोडिएका संवेदनशील विषयहरूमा केन्द्रित भई प्रशिक्षण दिएका थिए । प्रशिक्षणका अवसरमा किशोरावस्थामा आउने शारीरिक, मानसिक तथा संवेगात्मक परिवर्तन र वर्तमान अवस्थामा उनीहरूले सामना गरिरहेका चुनौतीहरू, देश र समाजको भविष्यका लागि किशोर–किशोरीहरूको स्वास्थ्य र शिक्षामा लगानीको आवश्यकता र महत्व, सुरक्षित मातृत्व, परिवार नियोजन, सुरक्षित गर्भपतन तथा यौनजन्य सङ्क्रमण सम्बन्धी जानकारी गराइएको थियो ।
यसका साथै किशोरावस्थाका लागि आवश्यक सन्तुलित पोषण, महिनावारी स्वास्थ्य र सरसफाइको महत्व, मानसिक स्वास्थ्यको संवद्र्धन, आत्महत्या रोकथाम, बालविवाह तथा लैङ्गिक हिंसा न्यूनीकरणका उपायहरू, व्यावहारिक जीवनमा आइपर्ने समस्याहरूसँग जुध्न आवश्यक पर्ने विभिन्न जीवन उपयोगी सिपहरूबारे छलफल भएको थियो ।
तालिमको अन्त्यमा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवाको पहुँच र स्वास्थ्य प्रवद्र्धनमा केवल स्वास्थ्यकर्मीको मात्र नभई स्वयम् किशोर–किशोरी, उनीहरूका अभिभावक र शिक्षकहरूको भूमिका उत्तिकै महत्वपूर्ण हुने कुरामा जोड दिइएको थियो ।
तालिममा सहभागी कक्षा ९ र १० का विद्यार्थीहरूले महिनावारी स्वच्छता, मानसिक स्वास्थ्य र प्रजनन स्वास्थ्य जस्ता खुलेर कुरा गर्न धकाउने विषयहरूमा सही र वैज्ञानिक जानकारी पाउँदा आफूहरू निकै लाभान्वित भएको बताए । विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई जिम्मेवार बन्न सघाउने विश्वास व्यक्त गरे ।
सिद्धेश्वरीमा किशोर–किशोरी लक्षित तालिम
previous post
