दमौली/सर्वोच्च अदालतका न्यायाधीश र तनहूँ जिल्ला बार इकाइ बीच अन्तरक्रिया तथा परिचय कार्यक्रम सम्पन्न भएको छ ।
उच्च अदालत पोखराको अनुगमनका क्रममा पोखरा हुँदै तनहुँ जिल्ला अदालतको अवलोकन गर्नुभएका सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीसंग नेपाल बार एशोसिएशन तनहूँ बार इकाइले आफ्नै सभाहलमा समग्र अदालत र न्याय प्रशासनको अवस्थाका बारेमा मंगलबार संक्षिप्त अन्तरक्रिया गरेको थियो ।

कानुन व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको सो संक्षिप्त अन्तरक्रिया कार्याक्रममा न्यायका उपभोक्ताले धरौटी स्वरुप राखेको रकम निकाशामा ढिलाइ हुँदा राम्रो सन्देश नगएको, मेलमिलाप प्रक्रियामा आउनु पर्ने उपयुक्त रकम उपयुक्त समयमा नआउँदा मेलमिलाप औपचारिकतामा सीमित बन्दै गएको जस्ता सवाल उठाएका थिए । त्यसै गरी कानुन व्यवासयीहरुले विकास निर्माणका काममा अदालती प्रक्रियाले गराएका ढिलाइलाइ आमनागरिकप्रति सकारात्मक धारणा बन्न नसकेको, छिटोछरितो न्यायिक निर्णय प्रक्रियाको कार्यविधि अवलम्बन गर्ने नीति बनाउन सके विकास अवरुद्ध नहुने तर्फ सर्वोच्च अदालत प्रशासनको ध्यान पुग्नुपर्ने जिज्ञासा राखेका थिए । त्यसैगरी जेन्जी आन्दोलनका क्रममा भएका काम कारवाहीहरु विरुद्ध मुद्दा दायर भएर कारवाही चलेको छ । फिर्ता लिने प्रक्रियामा सहज निकासका लागि सर्वोच्च प्रशासनबाट पहल हुन सकेहुन्थ्यो भन्ने जिज्ञासा पनि राखेका थिए । त्यसैगरी अदालतको सेवा सुविधाका लागि भौतिक पूंर्वाधारको महत्व तर्फ पनि तनहुँका कानुन व्यवसायीहरुले सर्वोच्च अदालत प्रशासनको ध्यानाकर्षण गराएका थिए ।
सबैको जिज्ञासा सुनिसकेपछि सर्वोच्चका न्यायाधीश कुमार रेग्मीले धरौटी रकम सरकारी खातामा आम्दानी बाँधिने हुँदा सर्वोच्च प्रशासनले चाहेर मात्रै सेवाग्राहीलाइ तत्काल उपलब्ध गराउन सकिने अवस्था नरहेको जानकारी दिनुभयो । मेलमिलापको रकमको बारेमा गुनासो सम्बोधन गर्न नीतिगत व्यवस्थापन हुन लागेको भन्दै जिज्ञासु कानुन व्यवसायीहरुलाइ आश्वस्थ पार्नुभयो । विकास निमार्णका योजनाहरु अवरुद्ध हुन नहुने तर्फ अदालत प्रशासन सकारात्मक रहेको स्पष्ट पार्दै संवैधानिक सुरक्षणको प्रत्याभूति रहेको मुआव्जा विना व्यक्तिको सम्पत्ति अधिग्रहण हुने वा मिचिने अवस्थाप्रति अदालत संवेदनशिल बन्नै पर्ने न्यायीक धारणा राख्नु भयो । जेन्जी आन्दोलनको क्रमका घटना सम्बद्ध मुद्दा प्रमाण बमोजिम सुनवाइ गर्नु अदालतको कर्तव्य भएको धारणा राख्दै अन्य सरकारी निर्णयबाट हुने कुरा तर्फ अदालत प्रवेश गर्न नसक्ने अदालती अभ्यास न्यायाधीश रेग्मीले सुनाउनु भयो ।
नेपाल बार एशोसिएशन तनहुँ बार की अध्यक्ष सरीता थापा भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्राममा बरिष्ठ अधिवक्ता कमला मोहन वाग्ले, अधिवक्ता भानुभक्त सुवेदी शिवराज काफ्ले मिलन आले र डम्बरदेव हड्खलेले विशेष रुपमा जिज्ञासा राख्नुभएको थियो । उपाध्यक्ष विष्णुभक्त सिग्देलले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन माधव घिमिरेले गर्नुभएको थियो ।
