मुलुक अहिले एक महत्वपूर्ण राजनीतिक मोडमा उभिएको छ । हालैको निर्वाचनमार्फत जनताले पुराना राजनीतिक दलहरूको कार्यशैलीप्रति असन्तोष जनाउँदै नयाँ शक्ति, खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन तहको विश्वास सुम्पेका छन्, त्यसले राज्य सञ्चालनमा नयाँ मानक स्थापना गर्ने अपेक्षा गरिएको छ । झन्डै दुई तिहाइको समर्थन प्राप्त बलियो सरकार गठन भएसँगै राजनीतिक अस्थिरताको चिन्ता त हटेको छ, तर जनताका थाती रहेका पुराना र जटिल समस्याको समाधान कसरी हुनेछ भन्ने प्रश्न अहिलेको मुख्य प्रतीक्षाको विषय बनेको छ ।
नयाँ सरकारका सामु नयाँ योजनाहरू ल्याउनुभन्दा पनि विगतदेखि गिजोलिएका र सर्वसाधारणको दैनिक जीवनसँग जोडिएका समस्या सुल्झाउनु प्राथमिक चुनौती
हो । नागरिकका अपेक्षा पूरा गर्ने काममा सरकारको गति कस्तो रहन्छ, त्यसैका आधारमा नागरिकले पुरानो र नयाँ सरकार बीचको भिन्नता खुट्याउनेछन् । सस्तो लोकप्रियताका लागि नयाँ–नयाँ घोषणा गर्नुभन्दा जनमुखी भएर परिणाममुखी काममा लाग्नु नै अहिलेको आवश्यकता हो ।
विगतका सरकारहरूले भौतिक पूर्वाधार र ऊर्जा क्षेत्रमा केही आशालाग्दा काम नगरेका होइनन् । तर, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत आवश्यकताहरूमा भने राज्यको उपस्थिति कमजोर देखिँदै आएको सत्य हो । सरकारी अस्पतालको दुरावस्था र निजी विद्यालयको महँगो शुल्कका कारण आमनागरिक गरिबीको दुष्चक्रमा फस्दै गएका छन् । स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाएर र शिक्षामा व्याप्त दलीय हस्तक्षेप अन्त्य गरेर मात्रै आमजनताले ‘सुशासन’को प्रत्याभूति गर्न पाउनेछन् ।
हाम्रो योजना तर्जुमा गर्ने शैली पनि परिवर्तन हुनु जरुरी छ । सीमित विज्ञ र स्वार्थ समूहको मिलिभगतमा बनाइने योजनाभन्दा अध्ययन र अनुसन्धानमा आधारित सहभागीमूलक योजना प्रणाली अबको प्राथमिकता हुनुपर्छ । भूउपयोग गुरुयोजनाको अभावमा भइरहेको कृषियोग्य भूमिको विनाश र अव्यवस्थित सहरीकरणलाई रोक्न सरकारले ठोस कदम चाल्नै पर्छ ।
अन्ततः, नयाँ सरकारप्रति जनताको असीम विश्वास छ । यो विश्वासलाई जोगाइराख्न सरकारले सस्तो लोकप्रियताको मोह त्यागेर मुलुकको अर्थतन्त्रलाई गति दिने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने दिगो बाटो समात्नु पर्छ । शिक्षित र युवाको बाहुल्य रहेको यो सरकारले परम्परागत बेथितिहरूलाई चिर्दै शासन सञ्चालनको नयाँ प्रतिमान स्थापना गर्न सकोस आम जनताको यही शुभेच्छा र अपेक्षा छ ।
नयाँ सरकार र थिति बसाल्ने चुनौती-सम्पादकीय
previous post
