दमौली/जेन–जी आन्दोलनको राप र तापबाट जन्मिएको सुशीला कार्की नेतृत्वको ६ महिने ’गैरदलीय’ सरकारको कार्यकाल भोलि सकिँदैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले भोली पद तथा गोपनियताको सपथ लिएर पदभार ग्रहण गरेसँगै सुशिला कार्कीको सिंहदरबारबाट बहिर्गमन हुनेछ ।
शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने साइत तय भएको छ । पद तथा गोपनियताको सपथ पछि नवनिर्वाचित प्रधानमन्त्री शाहले २ः१५ बजे सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

६ महिनामा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने कार्यभार पाएको कार्की नेतृत्वको सरकारले आफ्नो कार्यभार पूरा गरेको छ । २४ भदौको विध्वंस र सुरक्षा निकायमाथि लागेको दमनको आरोप, कारागार बाहिर रहेको हजारौं कैदीका बीच शान्तिपूर्ण वातावरण बनाउनु सानो चुनौती थिएन ।
सरकार वाहिर रहेका बेला सुशासन र नैतिकताका कुरा चर्काे स्वरमा गर्ने कार्की अनेकौं प्रश्न सहित सिंहदरबारबाट बाहिरिँदै छन् । भाद्र २३ र २४ का घटनाको छानविन गर्न बनेको कार्की आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको महिना वित्न लाग्दा समेत सार्वजनिक गर्न ढिलाइ गरिनु आफैमा दुःखद विषय बन्यो । यसले सुशिलाको नियत माथि थुप्रै शंकाहरु उत्पन्न हुन थालेका छन् ।
काम चलाउन बनिसकेको सरकारले राष्ट्रिय सभामा मनोनय सिफारिस गर्नु आफैमा सुशासनको विरुद्ध हो । अझ आफ्नै स्वकिय सचिवलाई प्रकृति संरक्षण कोषको प्रमुखको जिम्मेबारी दिने कुराले सुशिला पनि राम्रा होइन हाम्रा मान्छेको छनौट र जिम्मेवारी दिने काममा लागेको देखिएको छ ।
कार्यकाल सकिन लाग्दा समेत मन्त्रीहरुको सम्पत्ती सार्वजनिक नहुनुले कार्कीका सुशासन र पारदर्शिता ‘हवाइ गफ’ भएको भन्दै आलोचना गर्नेहरु प्रसस्तै छन् । ‘डिम्ब तस्करी’ मा नाम मुछिएकी सविता भण्डारीलाई महान्यायाधिवक्त नियुक्त गरेको कुरा मात्र होइन्, सम्पत्ती शुद्धिकरण र संगठित अपराध जस्ता गम्भीर मुद्दाका सम्बन्धमा विवादित महान्यायाधिवक्ता कार्यालय बाट भएका निर्णयले विधिको शासनलाई गिज्याएको भान हुन्छ । यि र यस्तै प्रश्नहरुले कार्कीलाई जीवन पर्यन्त पछ्याइ रहने छन् ।
थिती वसाल्ने वाचा सहित मत मागेको र नागरिकले झण्डै दुइतिहाई मत दिएको रास्वपाको एकल सत्तारोहण भोली हुँदैछ । पारदर्शिता, सुशासन, विकास, समृद्धि, विधिको शासन जस्ता मुद्धा उठाएर उदाएको चैत्र १३ गतेबाट शुरु हुने बालेन नेतृत्वको सरकार कति सफल हुन्छ, त्यो भने समयले बताउने छ ।
