राम्जाकोट/ऋषिङ–५ लोचेडाँडाका महिलाहरु आर्थिक आत्मनिर्भरता तर्फ अगाडि बढेका छन् ।
च्याउ खेती मार्फत अर्थाेपार्जन गरेर आर्थिक आत्मनिर्भरता तर्फ मिलिजुली दलित महिला कृषक आमा समूहका आमाहरु अगाडि बढेका हुन् ।

आमा समूहमा आबद्ध २७ महिलालाई ऋषिङ गाउँ पालिकाले एक साताको च्याउ खेती सम्बन्धि तालिम दिएपछि उनीहरु च्याउ उत्पादन तथा विक्रिवितरणमा अग्रसर भएका थिए ।
समूहकी अध्यक्ष कमला नेपालीले तालिमले दिएको ज्ञान र आत्मनिर्भर हुन थपेको उर्जाले आफुहरु च्याउ उत्पादन तर्फ लागेको बताइन् । अध्यक्ष नेपालीका अनुसार तालिम पछि समूहमा आवद्ध महिलाले आफै टनेल बनाएर अन्य उत्पादन प्रक्रिया पूरा गरी उत्पादन सुरु गरेका हुन् । ५० प्रतिशत अनुदानमा च्याउको बीउ गाउँ पालिकाले उपलब्ध गराएको तथा पराल किन्ने, प्लाष्टिक किन्ने काममा समूहको लगानी रहेको बताउँदै नेपालीले समूहको झण्डै ३७ हजार लगानी भएको बताइन् ।

उत्पादन सुरु भएको चौथो दिनसम्ममा ३५ हजार रुपैयाँ बराबरको च्याउ विक्रि गरिएको बताउँदै समूहकी कोषाध्यक्ष केशुमायाँ नेपालीले च्याउ विक्रिका लागि सदस्यहरु पालो गरेर गाउँ डुल्ने गरेको बताइन् । धेरै उत्पादन भएको दिन चार जना र सामान्य उत्पादन हुँदा दुइजना सदस्य ऋषिङ, साभुङ, ध्यानुङ, धारुङ, रुपाटार, पिपलटार लगाएतका ठाउँमा गएर च्याउ विक्रि गर्ने गरिएको छ । निरन्तर उत्पादन गर्दा गाउँमै विक्रिहुन समस्या हुने भएकाले भिमाद वा दमौलीसम्म पठाएर विक्रि गर्ने योजना समूहको रहेको सदस्य सुशिला नेपालीले बताइन् । उनले भनिन्, अहिलेसम्म त गाउँघर मै विक्रि भइरहेको छ । उत्पादन बढ्दै जाँदा समस्या हुनसक्ने भएकाले दमौली, भिमादमा सम्पर्क गरेर एकमुष्ट बेच्ने सोच बनाएका छौं ।
दुइवटा टनेल बनाएर उत्पादन सुरु गरिएको र यसबाट एक पटकमा डेढलाख रुपैयाँसम्मको च्याउ उत्पादन हुने आँकलन गरिएको छ ।
पहिलो पटक भएकाले टनेल निर्माण, अन्य सामग्री खरिदमा लगानी धेरै हुँदा उल्लेख्य नाफा नभएपनि पछि राम्रै नाफा हुने र समूहका आमाहरु आर्थिक आत्मनिर्भरता तर्फ अग्रसर हुने विश्वास समूहको रहेको अध्यक्ष नेपालीले बताइन् ।
