
डेनिस कथाकार ह्यान्स क्रिस्टियन एण्डरसन(१८०५–१८७५) को विश्वप्रसिद्ध कथा ‘सम्राटको नयाँ लुगा’ लाई संक्षेपमा प्रस्तुत गरेर आजको विषयवस्तुलाई अगाडि बढाउने छु । कथा संक्षेपमा यस्तो छ, धेरै समय पहिले एकजना सम्राट थिए, जसलाई नयाँ–नयाँ र महँगा लुगा लगाउने निकै सौख थियो । उनलाई राज्य सञ्चालनमा भन्दा आफ्नो पहिरन प्रदर्शन गर्नमा बढी रुचि थियो ।
सम्राटको यस्तो सोख थाहा पाएका दुईजना ठगहरू सहरमा आए । उनीहरूले आफूलाई अद्भुत बुनकर (लुगा बुन्ने व्यक्ति) भनी चिनाए । उनीहरूले दाबी गरे कि उनीहरूले यस्तो विशेष कपडा बुन्न सक्छन्, जुन मूर्ख वा आफ्नो पदको लागि अयोग्य मानिसहरूले मात्र देख्न सक्दैनन् ।
सम्राटले सोचे, “यो त गज्जबको कुरा हो ! यस्तो लुगा लगाउँदा मलाई मेरो राज्यमा को मूर्ख छ र को आफ्नो कामको लागि योग्य छैन भन्ने पनि थाहा हुनेछ ।” उनले ती ठगहरूलाई धेरै धन र रेशम दिएर लुगा बुन्न लगाए । ठगहरूले रित्तो तानमा काम गरेको नाटक गरे । सम्राटले आफ्ना विश्वासी मन्त्रीहरूलाई काम हेर्न पठाए । मन्त्रीहरूले तानमा केही पनि देखेनन्, तर यदि “केही देखिएन” भनौं भने आफू मूर्ख वा अयोग्य ठहरिने डरले उनीहरूले सम्राटसँग झुटो प्रशंसा गरे— “ओहो ! कस्तो सुन्दर बुट्टा, कस्तो राम्रो बुनाई, कस्तो अद्भुत रङ !”
अन्त्यमा सम्राट आफैँ पनि काम हेर्न गए । उनले पनि केही देखेनन्, तर आफ्नो इज्जत जोगाउन उनले पनि लुगाको निकै तारिफ गरे । नयाँ लुगा तयार भएको नाटक गर्दै ठगहरूले सम्राटलाई नाङ्गै “लुगा” लगाइदिए । सम्राट सहरको ठूलो जुलुसमा निस्किए । सडकमा उभिएका सबै मानिसहरूले सम्राटको लुगाको प्रशंसा गरिरहेका थिए, किनकि कसैलाई पनि आफू “मूर्ख र अयोग्य” कहलिनु थिएन ।
त्यसै भीडबाट एउटा सानो बालकले ठूलो स्वरमा भन्योः “तर सम्राटले त केही पनि लगाउनुभएको छैन ।” बिस्तारै यो कुरा भीडभरि फैलियो र सबैले सम्राट नाङ्गै भएको सत्य स्वीकार गर्न थाले । सम्राटलाई आफू ठगिएको र नाङ्गो भएको महसुस त भयो, तर उनले आफ्नो अहंकार जोगाउन झन् ठालु पल्टिएर जुलुस र यात्रा जारी राखे ।
एण्डरसनको यो कथा र वर्तमान नेपाली राजनीतिको परिदृश्य बीचमा अचम्मको समानता भेटिन्छ । कथाले देखाएको शासकको दम्भ, भारदारहरूको चाकरी र जनताको “सामूहिक मौनता” आजको नेपाली समाजको एक तितो यथार्थ हो । नेपाली राजनीतिमा पछिल्लो समय देखिएको ‘अन्धभक्ति’ र ‘बिना प्रश्नको समर्थन’ एउटा गम्भीर रोगका रूपमा देखा परेको छ । विचार र सिद्धान्तभन्दा व्यक्ति पूजामार्फत सञ्चालित हुने यो प्रवृत्तिले लोकतन्त्रको जरा नै खोक्रो बनाउँदै लगेको छ ।
एउटा दुर्गम गाउँमा एकजना चतुर व्यक्ति थिए । उनले गाउँलेहरूलाई विश्वास दिलाएका थिए कि हरेक बिहान उनले डाँडामा गएर चिच्याएपछि मात्र सूर्य उदाउँछ । गाउँलेहरू उनलाई ‘सूर्यदेवको अवतार’ ठानेर पूजा
गर्थे ।
एक दिन ती व्यक्ति बिरामी परे र बिहानै डाँडामा जान सकेनन् । तर सूर्य त सधैँझैँ उदायो । केही सचेत युवाहरूले भने, “हेर्नुहोस्, उनी नगए पनि सूर्य त उदायो नि” तर अन्धभक्तहरूले जवाफ दिए, “मूर्खहरू, हाम्रा नेताजीले सपनामै आदेश दिएर सूर्य उदाएको हो । उनको शक्ति त सुतेका बेला झन् बढी हुन्छ ।”
नेपाली राजनीतिमा अहिले यही ‘सपनाको आदेश’ वाला तर्क हाबी छ । नेताले जस्तोसुकै अलोकतान्त्रिक निर्णय गरोस् वा भ्रष्टाचारको मुद्दामा मुछियोस्, उनका भक्तहरूले त्यसलाई जायज ठह¥याउन अनेकौँ तर्कका खेती गरिरहेका हुन्छन् । कथाका मन्त्रीहरूलाई थाहा थियो कि राजा नाङ्गै छन्, तर उनीहरूलाई डर थियो— “कतै मलाई अयोग्य ठहर गरिने त होइन ?”
नेपाली सन्दर्भः हाम्रा राजनीतिक दलभित्र दोस्रो र तेस्रो तहका नेताहरूको अवस्था यही मन्त्रीको जस्तो छ । पार्टी अध्यक्ष वा शीर्ष नेताले गलत निर्णय गर्दा, भ्रष्टाचारमा मुछिँदा वा असंवैधानिक कदम चाल्दा पनि उनीहरू “मौन” रहन्छन् वा त्यसको बचाउ गर्छन् ,अझ प्रतिरोधमा उत्रन्छन् । उनीहरूलाई डर छ कि सत्य बोल्दा आगामी चुनावमा ‘टिकट’ पाइँदैन वा पाएको पदबाट हात धुनुपर्छ । यसले गर्दा दलभित्र आन्तरिक लोकतन्त्र मर्छ र केवल भक्तिवाद फस्टाउँछ ।
हामीले राजा–महाराजालाई पुज्ने, ढोग्ने अनि जयजयकार गर्ने संस्कार छोड्यौँ, तर त्यो ठाउँमा राजनीतिक दलका ‘महाराज’ हरूलाई प्रतिस्थापन ग¥यौँ । प्रश्न गर्न पाउने व्यवस्था ल्याउन सयौैंले सहादत प्राप्त गरे तर अहिले आएर प्रश्न गर्नुलाई अनुशासनहीनता भन्न थालिएको छ । नेताहरुलाई आलोचनाको आलोक मन पर्न छाडेको छ अथवा भनौं तल्लो तहका नेता कार्यकर्ताले त्यो आलोक मन नपराउने बनाएका छन् ।
कथामा सडकमा उभिएका जनताले राजा नाङ्गै भए पनि ताली बजाए, किनकि उनीहरू अरूभन्दा फरक देखिन डराउँथे । वर्तमान प्रवृत्तिः नेपालमा एउटा दलको समर्थन गरेपछि त्यसको नेताले जे–जे गरे पनि ’जस्तै पनि’ स्वीकार्ने प्रवृत्ति छ । आफ्नो नेता कुनै विवादमा मुछियो भने विरोधिको चाल वा षडयन्त्र भन्ने तर अरु दलका नेताको सानो कमजोरी पाएमा खेदो खन्ने । आजकल यसलाई ‘झोले प्रवृत्ति’ वा ‘अन्धभक्ति’ भनिन्छ, जहाँ सत्यभन्दा ठूलो ‘झण्डा’ र ‘पार्टीको लेपन’ हुन्छ ।
कथाको अन्त्यमा एउटा निर्दोष बच्चाले “राजा त नाङ्गै छन् ।” भनेर सत्य बोल्छ । यो बच्चा आजको सचेत युवा पुस्ता, स्वतन्त्र नागरिक समाज र केही हदसम्म सामाजिक सञ्जालका ती आवाजहरू हुन् जसले दल र तिनका नेताहरूको आडम्बरलाई चुनौती दिइरहेका छन् । जब कसैले साहस गरेर “नेताज्यू, तपाईँ गलत गरिरहनु भएको छ” भन्छ, तब मात्र आम मानिसहरूमा लुकेको सत्य बाहिर आउन थाल्छ ।
कथाको अन्त्यमा राजा लज्जित भए पनि आफ्नो यात्रा जारी राख्छन् । नेपाली राजनीतिमा पनि नेताहरू आफ्ना गल्तीहरू छताछुल्ल हुँदा समेत त्यसलाई स्वीकार्दैनन् । उल्टो, अझ बढी दम्भका साथ आफ्नो झुटो आश्वासन प्रदर्शन गरिरहन्छन् । आत्मरति र अहंकारले अन्धो बनेका उनीहरुको आँखा खोल्ने भनेको प्रश्नले हो ।
जबसम्म नागरिकले राजा नाङ्गै छन् अर्थात् नेतालाई गलत तपाईँ गलत गरिरहनु भएको छ भनेर स्पष्ट बोल्ने हिम्मत गर्दैनन्, तबसम्म देश बर्बादिमा जान रोकिँदैन । त्यसैले नेपाली समाजका लागि आजको आवश्यकता भनेको विनासंकोच विवेकबाट निर्देशित प्रश्न गर्ने बालकको हो ।
