
नेपाली कांग्रेसको राजनीतिमा गगन थापाको उदय केवल एक व्यक्तिको पदोन्नति मात्र होइन, यो एउटा कालखण्डको अन्त्य र नयाँ युगको सुरुवातको संकेत पनि हो । विशेष महाधिवेशनमार्फत कांग्रेसको बागडोर सम्हाल्न पुगेका थापालाई पार्टीले प्रधानमन्त्रीको ’फेस’का रूपमा अघि सार्नुले नेपाली राजनीतिमा सकारात्मक उर्जा र तरंग पैदा गरेको छ ।
नेपाली कांग्रेसको पुषमा सम्पन्न महाधिवेशनले गगन थापालाई सभापतिमा निर्वाचित गरेसँगै कांग्रेसभित्र ‘पुस्तान्तरण’ मात्र होइन, ‘रुपान्तरण’को बहस पनि उत्कर्षमा पुगेको छ । आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत भएका थापाका अगाडि अवसरका अनन्त बाटाहरु र चुनौतीका भीमकाय पहाडहरु संगै देखिएका छन् ।
गगन थापाको सभापति पदमा आगमनले सुस्ताएको कांग्रेसको संगठनमा नयाँ रक्तसञ्चार गरेको छ । रुख बाहेक अन्य चिन्हमा मत हाल्न हात जाँदैन । रुखमा मत हाल्ने वातावरण छैन भनेर निराश लोकतन्त्रका हिामायती नागरिक फेरी उत्साहका साथ मतदान केन्द्रसम्म पुग्ने भएका छन् । विशेषगरी युवा र तटस्थ मतदाताहरू जो पुराना दलहरूसँग निराश थिए, उनीहरूका लागि गगन एउटा ‘आशाको किरण’ बनेका छन् । ‘गगन लहर’ले राष्ट्रिय स्वतन्त्र पार्टी तिर मोडिन लागेको युवा जनमत कांग्रेसतर्फ नै फर्कने अवस्थामा पुगेको छ । नयाँ नयाँ पार्टीहरुको जन्मले मत विभाजित हुँदा कांग्रेसले अघिल्लो निर्वाचनमा जस्तै प्रत्यक्ष तर्फ जित हात सक्ने अवस्था छैन । यद्यपि शेरबहादुर र उनका अनुयायीहरुले यसलाई गनग विश्व प्रकाशको असफलताको रुपमा व्याख्या गर्नेछन् । तर अघिल्लो निर्वाचनमा कांग्रेसले पाएको समानुपातिक मत जोगाउँदै थपिएका झण्डै ९ लाख युवा मतदाताको मत तान्नु केही मत बढाउनु उनको पहिलो परीक्षा हुनेछ । यदि उनले परम्परागत कांग्रेस र आधुनिक मतदाताबीच सन्तुलन मिलाउन सके भने कांग्रेसलाई पहिलो दल बनाउने लक्ष्य कठिन भएपनि असम्भव भने छैन ।
पार्टीलाई व्यक्तिवादी होइन, पद्धतिबाट चलाउने थापाको उद्घोष उनको राजनीतिक पूँजी हो । तर,झण्डै ८ दशकदेखि एउटै पद्धतिमा अभ्यस्त पार्टी संयन्त्रलाई रातारात बदल्नु फलामको चिउरा चपाउनु सरह हुनेछ । आम कांग्रेसको विश्वास के हो भने गगन फलामका च्यूरा चपाउन तयार भएर अर्थात सोचविचार गरेर नै यहाँसम्म आएका हुन् ।
उनले विधानको पूर्ण पालना र झण्डै २४ घण्टामा १६५ स्थानको टिकट वितरण गर्नु पर्ने तथा सबैको सन्तुलन मिलाउनु पर्ने भएका कारण टिकट वितरणमा सोचे जस्तो हुन नसकेको सत्यलाई स्वीकार्दै आम नेता कार्यकर्तालाई विश्वासमा लिन सक्दा उनको पार्टीलाई पहिलो बनाउने अठोटले पूर्णता पाउन सक्छ ।
शेरबहादुर देउवा पक्षधर मानिने मुख्य हस्तीहरू थापाका लागि सबैभन्दा ठूला आन्तरिक चुनौती हुन् । उक्त समूहले थापालाई सहजै काम गर्न दिने सम्भावना एकदमै कम छ । टपरीभरी भाटको सिता लिएर बसेका देउवा, भातका सिता टिप्न थुप्रै कागहरु आउने कुरामा ढुक्क छन् । सहजै भातका सिता पाउने भएपछि टपरी वरपर घुमिरहने कागहरुको कमि कांग्रेसमा नभएको देखिएकै छ । र तिनै कागहरु गौंडो कुरेर थापाले गर्ने कामहरुमा अवरोध सिर्जना गर्न थाल्नेछन् । थापालाई असफल देखाउन पार्टीका उम्मेदवारलाई हराउने काममा उनीहरु ज्यूज्यानले लाग्ने छन् । नेपाली राजनीतिमा लोग्ने मारेर सौता विधवा बनाउनेहरुको पनि कहाँ कमी छ र ? आफै बसेको पानी जहाजमा प्वाल पार्ने मुसाहरु नेपाली राजनीति र नेपाली कांग्रेसमा धेरै पहिले देखि थिए र अद्यापि छन् । गगनले लोग्ने मार्दा सौतामात्र होइन तिमीपनि विधवा हुन्छौ भनेर बुझाउनु पर्नेछ । जहाज डुब्दा तिमिपनि संगै डुब्छौ भनेर सम्झाउनु पर्नेछ । थापासँग उनीहरूलाई समेत विश्वासमा लिएर अघि बढ्ने व्यवस्थापकीय खुबी हुनुपर्छ । प्रतिपक्षभन्दा पनि आफ्नै भित्रका ‘असहयोगी’लाई व्यवस्थापन गर्नु उनको कार्यकालको सफलताको आधार हुनेछ ।
गगनका चुनौति यतिमै सीमित छैन । एमालेका लागि गगन थापा कडा प्रतिस्पर्धी हुन् भने रास्वपाका लागि उनी ‘अस्तित्वको संकट’ बन्न सक्छन् । केपी ओलीको वाकपटुता र बालेन शाहको ‘पपुलिजम’को बीचमा गगनले आफ्नो ‘भिजनरी’ छवि जोगाउनु पर्नेछ । प्रधानमन्त्रीमा प्रस्तावित तीन व्यक्तिको सामूहिक टेलिभिजन बहस माग भइरहँदा त्यसलाई स्वीकारेर आफ्ना भावि योजनाबारे आम नागरिकलाई जानकारी गराउने र त्यसको कार्यान्वयनमा आश्वस्त तुल्याउने अवसरका रुपमा गगनले लिनु पर्छ । एमालेको संगठनात्मक शक्ति र रास्वपाको क्रेजलाई चिर्न थापाले केवल भाषणमा मात्र होइन, ठोस एजेन्डामा आफूलाई उभ्याउनु पर्नेछ ।
गगन थापालाई अमेरिका समर्थक भनी लगाइने गरेको आरोपलाई उनले आफ्नो कुटनीतिक चातुर्यताले चिर्नु पर्नेछ । नेपाल जस्तो देशको प्रधानमन्त्री बन्ने आकांक्षा राख्ने नेताले भारत र चीनसँग सन्तुलित र विश्वासिलो सम्बन्ध राख्न सक्नुपर्छ । थापाले ‘नेपाल फस्ट’को नीतिलाई व्यवहारमा उतार्न सके भने मात्र उनलाई अन्तर्राष्ट्रिय शक्तिहरूले स्वीकार गर्नेछन् ।
गगन थापाको सफलता केवल उनको व्यक्तिगत सफलता हुने छैन । यो त सिंगो युवा पुस्ताको सफलता हुनेछ । गगनको सफलताले नेपालका पुराना राजनीतिक दलहरू सुध्रन सक्छन् भन्ने एउटा नमुना पेश गर्नेछ । देउवा समूहलाई निशेध गरेर वा घृणा गरेर होइन, उनीहरूलाई सम्मानजनक ‘स्पेस’ दिएर विद्रोही स्वरहरूलाई मत्थर पार्ने प्रयास गगनले गर्नुपर्ने छ ।
तल्लो तहको संगठनः शहरी क्षेत्रमा मात्र होइन, गाउँ–गाउँका कार्यकर्तासम्म पुगेर कांग्रेसको परम्परागत ‘भोट बैंक’ सुरक्षित गर्नेका गगनका लागि अर्काे चुनौति हुनेछ । देशको वर्तमान आर्थिक संकट समाधान गर्ने ठोस र कार्यान्वयनयोग्य योजना जनतामाझ लैजानु उनको अर्काे महत्वपूर्ण काम हुनेछ ।
छिमेकी देशहरू सँगको सम्बन्धमा उत्तेजित नभई परिपक्व र सन्तुलित अभिव्यक्ति दिने कुराले उनलाई सबैको साथ र सहयोग पाउने ठाउँमा लैजाने छ । गगन थापामा बाटोका काँडा हटाउने ल्याकत त छ, तर त्यो ल्याकतलाई उनले अहंकारमा होइन, धैर्यता र दूरदृष्टिमा बदल्न सक्नुपर्छ । गगनलाई सफलता मिलोस्, एउटा लोकतन्त्रवादीका नाताले मेरो शुभकामना ।
