Tanahun Awaj
कानुनविचार/दृष्टिकोण

सम्बन्ध विच्छेदः कारण र समाधान

ऋषिराम पोख्रेल अधिवक्ता

पृष्ठभूमिः
सम्बन्ध विच्छेद नेपाली समाजको गम्भिर समस्या बन्दै गएको छ । सामाजिक दाइत्व र कर्तब्यबोध भन्दा अधिकारको प्रयोग फेशनको रुपमा बृद्धि हुँदै जाँदा नेपाली समाज विखण्डन तर्फ उन्मुख छ । सन्तान उत्पादन दरमा ह्रास आइरहेको समाजमा सामाजिक विखण्डनले जन्मेका सन्तान पनि उचित अभिभावकीय संरक्षणको अभावमा पारिवारिक संस्कार, मानवीय मूल्य, मान्यता बुझ्नै नपाउने परिवेशमा धकेलिएका छन् । अभिभावकीय संरक्षण नहुँदा अपराधकर्मिहरुले प्रयोग गर्न सफल हुँदा ती नावालक अपराध अनुसन्धानको दायरामा पुगेका उदाहरणहरु धेरै छन् ।
बढ्दो सम्बन्ध विच्छेदः
विविध कारणले नेपाली समाजमा सम्बन्ध विच्छेदका मुद्धाहरुको संख्यामा बृद्धि भएको छ । अदालतको आधा भन्दा बढी कार्यवोझ सम्बन्ध विच्छेदका मुद्धाहरुले बढाएको छ । पछिल्ला दिनहरुमा एकै दिन सम्बन्ध विच्छेद मुद्दा दर्ता, प्रतिउत्तर र मिलापत्र गर्नेहरुको संख्यामा बृद्धि हुँदै गएको छ ।
सम्बन्ध वि. माग्ने कारणः
सम्बन्ध विच्छेद माग्ने कारणमा मुख्यतः आपसी विश्वासको संकटलाइ मान्नु पर्ने हुन्छ । आपसी विश्वासको संकट हुनुमा विविध कारण देखापरेका छन् ।
क) घरेलुहिंसाः
घरेलुहिंसा सहन नसकेर सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुरुषले महिला माथि गरेका घरेलु हिंसा प्रमुख कारण हुने अवस्थाबाट आजको समाजसम्म आईपुग्दा महिलाले पनि पुरुष माथि गरेका घरेलु हिंसा गरेका घटनाहरु पनि देखापर्न थालेका छन् । तुलनात्मक रुपमा घरेलुहिंसामा पर्नेहरुमा महिला कै संख्या बढी भएको पाईन्छ ।
ख) किसोराबस्थाको घरजमः
विवाह भनेको के हो ? विवाहको परिणाम के हुन्छ ? भन्ने बुझ्दै नबुझी आल्लरे अवस्थाको उमेरमा अर्थात ठेट शब्दमा भन्दा कुरकुरै बैंशमा गरिने अधिकाँश प्रेम विवाहहरु दुर्घटनामा परेको पाइन्छ ।
ग) सञ्जालको प्रभावः
सामाजिक सञ्जालको प्रभावले भैरहेको वैवाहिक सम्बन्ध पनि दुर्घटनामा परेको पाईन्छ भने सामाजिक सञ्जालको सम्पर्कबाट भएका विवाहहरु केही समयको संगत पछि सम्बन्ध विच्छेद गर्न पर्ने अवस्थामा पुगेका पाईन्छ ।
घ) सम्पर्क विहिनताः
नेपाली युवाहरु अधिकाँश बैदेशिक रोजगारीमा छन् । अर्थात महिलाहरु पनि बैदेशिक रोजगारीमा छन् । यो अवस्थाले दैनिक आवश्यक पर्ने शारीरिक सम्पर्कलाई उचित संयमता अपनाउन नसक्ने समूहका जोडिहरु परस्त्री तथा परपुरुषको सम्पर्कमा पुग्दछन् । त्यो सम्पर्क नै सम्बन्ध विच्छेदको कारण बन्न पुगेका घटना पनि समाजमा देखा पर्न थालेका छन् ।
समाधानका उपायहरुः
हरेक दाम्पत्यलाइ सम्झौताको जिन्दगी भनेर बुझ्न जरुरी छ । पुरुष प्रधान समाज अब रहेन । घरपरिवारको जिवनमा पुरुष र महिलाले सहअस्तित्व वोध गर्न सक्नु पर्दछ । सम्वाद र सम्पर्कलाइ निरन्तरता दिएर विश्वासको संकट नआउने दाम्पत्य कायम गर्नुपर्दछ ।
निष्कर्षः
नेपाली पारिवारीक संरचना राम्रो छ । आत्मसंयमताले बचाउन सकिन्छ । सकारात्मक समाधान पहिल्याउने प्रयासमा सम्वाद र सम्पर्कलाई निरन्तरता दिएर आपसी विश्वासको वातावरण निर्माण गरेर प्रेमपूर्ण दाम्पत्य कायम गर्नु पर्छ ।

Related posts

समाजवादी चिन्तकको सम्झना

admin

स्वस्थानी माहात्म्य

admin

चिलिम बन्ने कि सुराही ?

admin