रमेश विकल
माध्यमिक शिक्षा परीक्षा(एसईई) नजिकिँदै गर्दा नतिजामा कसरी सुधार गर्ने भन्ने चिन्ता र चासो सबैजसो प्रधानाध्यापक, शिक्षक, अभिभावक र स्वयम् विद्यार्थीलाई हुने गर्दछ ।
एसईई नजिकिंदै गर्दा विद्यालयहरुले नतिजा सुधारका प्रयासलाई घनीभूत बनाउँदै लगेका छन् । अभिभावकसँग अन्तरक्रिया गर्ने, साँझ विहान अतिरिक्त कक्षा सञ्चालन गर्ने लगाएतका नतिजा सुधारमा केन्द्रीत क्रियाकलापको विद्यालयहरुमा चाप छ ।
२०८१ को एसईईमा ऋषिङ गाउँपालिका भित्रका विद्यालयहरुको औसत नतिजा सन्तोषजनक रहेपनि उत्साहप्रद रहेन । तनहुँ जिल्लाको औसत नतिजा ६४ प्रतिशतभन्दा माथि हुँदा ऋषिङको भने झण्डै ४१ प्रतिशत रह्यो । १० वटा स्थानीय निकाय भएको तनहुँमा एसइई नतिजको औसतमा ऋषिङ नवौं स्थानमा रहेको छ ।
११ वटा माध्यमिक विद्यालय भएको ऋषिङमा शुक्ला माविले ९२ प्रतिशतभन्दा बढी विद्यार्थीलाई ग्रेडेडको सूचिमा पार्न सफल भयो । उता अमर माविका परीक्षामा सामेल भएका विद्यार्थीमध्ये ५.५६ प्रतिशतमात्र ग्रेडेड हुँदा नतिजा सन्तोषजनक रहेन ।

यो वर्ष एसईई नतिजा सुधारका लागि के कस्ता प्रयत्न गर्नु भएको छ ? भनेर हामीले जिज्ञासा राखेका थियौं । विभिन्न विद्यालयका प्रधानाध्यापकले दिएको जवाफको सम्पादित अंशः महेन्द्रोदय मावि ऋषिङ–५ का प्रधानाध्यापक ज्ञानेन्द्र पौडेलका अुनसार यस वर्ष १५ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । अतिरिक्त कक्षा सञ्चालन, कमजोर विद्यार्थीलाई उपचारात्मक शिक्षणको व्यवस्था, शिक्षणमा आधुनिक प्रविधिको प्रयोग गरेर नतिजा राम्रो बनाउने प्रयत्न गरिएको छ । उदार कक्षोन्नति तथा कोभिडका कारण विद्यार्थीको सिकाइमा परेको नकारात्मक असरले अझै नछाडेकाले नतिजामा अपेक्षित सुधार गर्न नसकिएको पौडेल बताउँछन् । पौडेलका अुनसार अभिभावक तथा विद्यार्थीमा सिकाईका प्रति चासो नहुँदा पनि सकारात्मक नतिजा प्राप्त गर्न कठिन भएको छ ।
ऋषिङ–८ मा रहेको शिवसरस्वती माविमा एसईर्ई आवेदन भरेका ५१ जना विद्यार्थी छन् । प्रधानाध्यापक लिलकुमार श्रेष्ठका अनुसार नतिजा सुधारका लागि विद्यालयमै छात्रावास सञ्चालन गरी पठनपाठन गरिएको छ । आवधिक परीक्षाहरुमा परीक्षा अघि सम्बन्धित विषयको विद्यालयमै अतिरिक्त कक्षा सञ्चालन गर्ने गरिएको छ ।
प्रअ श्रेष्ठका अनुसार कमजोर विद्यार्थीका लागि छुट्टै पृष्ठपोषण दिने गरिएको छ । अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा अभिभावकको सक्रिय सहभागिता रहने गरेकाले विगतको भन्दा राम्रो नतिजा आउने कुरामा आफु विश्वस्त रहेको श्रेष्ठले बताए ।
अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक कर्मसिं थापाका अनुसार यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थीसंख्या २३ रहेको छ । अन्य विद्यालयमा जस्तै यहाँ पनि अतिरिक्त कक्षा सञ्चालन भएका छन् । ऋषिङ गाउँ पालिकाले पनि सहयोग गर्ने भएकाले अभिभावकलाई थप कक्षाको आर्थिक भार छैन । भेला तथा छलफलमा अभिभावकको सहभागिता राम्रो रहेपनि घरमा पढ्ने उपयुक्त वातावरण नहुँदा सिकाईमा सुधार हुन नसकेको प्रअ थापाको अनुभव छ । मोवाइलको अधिक प्रयोग अन्यत्र जस्तै आफ्नोमा पनि समस्या रहेकोले विद्यार्थीलाई मोवाइल प्रयोगमा कमी गर्न परामर्श दिने गरिएको थापाले बताए ।
ऋषिङ–१ मा रहेको शुक्ला माविमा भने एसईईमा सहभागी हुने सबै विद्यार्थीलाई विद्यालय छात्रावासमा राखेर पढाउने गरिएको छ । प्रअ केशर थापाका अनुसार कमजोर विद्यार्थीको लागि थप कक्षाको व्यवस्था गरिएको छ । कक्षा १० लगाएत सबै कक्षामा उपस्थिति नियमित बनाउन अनुपस्थित विद्यार्थीका अभिभावकसंग सम्पर्क गर्ने र सोधिखोजी गर्ने गरिएको छ । प्रत्येक आवधिक परीक्षाको नतिजा प्रकाशन गर्दा अभिभावकको उपस्थिति अनिवार्य गरिएको छ । नतिजा सुधारमा यसले पनि सहयोग पुग्ने विश्वास विद्यालयको रहेको छ ।
अभिभावकको राम्रो साथ र सहयोग, लगनशील शिक्षक र अुनशासित विद्यार्थी आफ्नो विद्यालयको सबल पक्ष रहेको बताउँदै प्रअ थापाले गत वर्षको नतिजाले आफुहरुलाई अझ राम्रो नतिजाका लागि जिम्मेबार बनाएको र त्यसमा सबै लागि परेको बताए । विद्यार्थीहरुले भविष्य सोचेर जिम्मेबार हुन सके अझै राम्रो नतिजा दिन सकिने विश्वास प्रअ थापाको छ ।
ऋषिङ–८, गोठादीमा रहेको श्रृङ्ग माविका प्रधानाध्यापक टंकबहादुर थापा अनुसार विद्यालयलाई प्रविधिमैत्री बनाउँदै सिकाई सुधारका प्रयासहरु गरिएका छन् । यस वर्षको एसईई नतिजा राम्रो बनाउन कार्तिकदेखि नै अंग्रेजी, गणित विज्ञानका र सामाजिक विषयको अतिरिक्त कक्षा सञ्चालन गरिएका छन् । आवश्यकता अनुसार अन्य विषयको पनि सञ्चालन गर्ने योजना छ ।अभिभावकसँग मेसेन्जर ग्रुप बनाएर विद्यार्थीको पढाइका बारेमा सोधिखोजी गर्ने गरिएको छ ।
घर बलियो हुन जग बलियो हुनपर्छ भन्ने कुरालाई मनन गर्दै कक्षा ५ र ८ को पनि पूर्व तयारी परीक्षा लिने, अभिभावक अन्तरक्रिया गर्ने गरिएको प्रअ थापाले बताए । दोहोरो पिरियड राख्दा समस्या भएकाले त्यसो नगर्ने नीति लिइएको छ । प्रअ थापाले भने, हामीले राम्रो नतिजाका लागि सकेको प्रयास गरिरहेका छौं ।
