दमौली/माघे सङ्क्रान्तिलाई लक्षित गरी देवघाटधाममा आयोजना हुने धार्मिक मेलाको सम्पूर्ण तयारी पुरा भएको छ ।
त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थलमा पर्ने यस पवित्र तीर्थक्षेत्रमा माघे सङ्क्रान्तिका दिन ठूलो सङ्ख्यामा श्रद्धालु पुग्ने अपेक्षा गरिएको छ । देवघाट क्षेत्र विकास समितिका अनुसार यस वर्ष करिब तीन लाख भक्तजनले मेलामा सहभागिता जनाउने अनुमान छ ।
माघ महिनाभर देवघाटमा स्नान गर्दा धार्मिक पुण्य प्राप्त हुने जनविश्वासका कारण हरेक वर्ष माघे सङ्क्रान्तिमा विशेष भीड लाग्ने गर्दछ । यस अवसरलाई ध्यानमा राख्दै सवारी आवागमन व्यवस्थापनका लागि तनहुँ, चितवन र नवलपुरतर्फबाट आउने सवारीसाधनका लागि छुट्टाछुट्टै प्रवेश तथा फिर्ता मार्ग तोकिएको छ ।
श्रद्धालुको यात्रा सुरक्षित र सहज बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरिएको समितिले जनाएको छ ।
मेला अवधिभर तीन सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ । साथै तीर्थक्षेत्रमा धुम्रपान, मदिरा, मासु तथा सुर्तीजन्य पदार्थ पूर्ण रूपमा निषेध गरिएको छ ।
माघे सङ्क्रान्ति लक्षित मेलाको तयारी पुरा
previous post
