
पृष्ठभूमिः
दशबर्षे सशस्त्र विद्रोहको धरातलमा, २०६२/०६३ को आन्दोलनलाई सुरक्षित अवतरण गर्ने पाँचबुँदै सहमतिमा धोका दिएर नेपालको पहिलो राष्ट्रपति बन्ने उक्साहटमा परेका गिरिजाप्रसाद कोइरालाको राजनीतिक अदूरदर्शितामा नेपाली काँग्रेसलाइ विधान विपरित गणतन्त्रमा धकेल्ने निर्णय र विदेशी शक्तिसंघर्षमा पहिलो संविधान सभा असफल बनाउँदा पनि असंवैधानिक मार्गबाट दोस्रो संविधान सभाबाट जारी गरिएको संविधान आइसियुमा पुगेको विश्लेषण राजनीतिक विश्लेशकहरुबाट भएको छ ।
संविधानको अस्तित्वः
नेपालको संविधानले वर्तमान सरकारलाइ चिन्दैन । आवश्यकताको सिद्धान्त भनौं या ग्रान्डम सिद्धान्त (Grandam principal) का आधारमा शुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार त गठन भयो । साथसाथै २०८२ फागुन २१ गते चुनावको मिति पनि यो अन्तरिम सरकारले तोकेको छ । तर सरकारलाइ त्यो निर्वाचनसम्म जान सरकार गठन गर्नेहरुबाट नै अवरोध हुने उद्घोषहरु भैरहेका छन् । यो संविधान बमोजिमको राष्ट्रपति, सभामुख रहेसम्म संविधानको अस्तित्व देखिइ रहन्छ । तर सरकारले गर्ने कामहरु अब दलहरुलाइ अस्विकार गरेर अगाडि बढ्न जेन जीहरु मध्येको एउटा तप्काले दवाव दिइरहेको छ । अर्को तप्काले आफ्नो पुरानै अडानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचनको माग गरिरहेको छ । भ्रष्टहरुलाई कारवाहीको माग गरिरहेको छ । अब अर्को एउटा तप्का पनि देखिन थाल्यो राजाको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्ने । यो परिवेशमा सरकार गठन गर्नेहरुकै कारण फागुन २१ गते चुनाव हुन सक्ने अवस्था देखिदैन । चुनाव हुन नसक्ने निष्कर्षमा पुग्ना साथ शुशिला कार्कीको नेतृत्वको सरकारको अस्तित्व पनि समाप्त हुन्छ । त्यसपछिको अवस्थाको कल्पना गर्नेहरुले शुशिला कार्कीको नेतृत्वमा सरकार गठन भएकै मितिदेखि संविधान आईसियूमा छ भनि रहेका छन् ।
विभाजित जेन जीः
नेपालको राजनीति अकल्पनिय मार्गतर्फ धकेलिएको छ । संवैधानिक शुन्यता तर्फ धकेलिएको छ । जेन जीको आव्हानमा भएको आन्दोलनको एजेण्डमा मात्रैमा सीमित भएको भए सिंहदरबार, सम्पूर्ण अदालत र सम्पूर्ण जिल्ला प्रशासनहरु जलाइने थिएन । झण्डै ७८ जना जेनजीले शाहदत प्राप्त गर्ने नियति पनि हामीले भोग्नुपर्ने थिएन । अब अहिले आएर ७८ जना योद्धाहरुलाई बली दिएर आएको उपलब्धि संरक्षण गर्नुपर्ने बेलामा जेन जीमा तीन समूह देखा पर्न हुने थिएन । अब मुलुकले कुन दिन यो संविधान खारेज भएको घोषणा गरेको सुन्ने वा बुझ्ने दिन आउन हो ? धेरै प्रतिक्षा गर्नु नपर्ला !
सरकारको अस्तित्वः
यो सरकारको संवैधानिक अस्तित्व पनि देखिदैन । जेन जी आन्दोलनको कारण देशमा आगो लागेपछि संविधान आइसियूमा पु¥याइ आवश्यकताको सिद्धान्त भनौं या ग्रान्डम सिद्धान्तको धरातलमा उभिएको यो सरकारको वैधानिकता सुरक्षा संयन्त्र र मित्र राष्ट्रको समर्थनमा अडेको छ ।
निष्कर्षः
जेन जीको आन्दोलन सत्ता प्राप्तिको लागि थिएन । जेन जीको आन्दोलन राष्ट्रिय अस्तित्वको रुपमा रहेको अदालत, सिंहदरबार र जिल्ला प्रशासनहरु जलाउन थिएन, हुन सक्दैन । साथसाथै जेन जीको आन्दोलनमा सहभागि निहत्था किसोर किसोरीहरुको टाउकोमा निशाना बनाएर गोलि हान्नेहरु नेपालको सुरक्षाकर्मि हुन सक्दैनन् । जे भयो दुर्भाग्य भयो । यो संकट बुझेर राष्ट्रिय मेलमिलापपूर्ण एकता आजको आवश्यकता हो ।