25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
विचार/दृष्टिकोण

आकाश हेर्दै, धान दिवस मनाउँद

रमेश पोखरेल

भोली पन्ध्र असार, गाउँ घरको भाषामा असार महिना भनेको मानो खाएर मुरी उब्जाउने बेला । नेपालमा विगत दुइ दशकदेखि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ । दिवसको अवसर पारेर प्रकाशित तथ्याङ्क अनुसार नेपालले यस आर्थिक वर्र्षको ११ महिनामा झण्डै ४८ अर्ब रुपैयाँको चामल आयात गरेको छ । ६० प्रतिशत भन्दा बढी जनसंख्या कृषि पेसामा रहेको सानो भूगोल भएको हाम्रो देशले मासिक झण्डै ४ अर्बको चामल आयात गर्नपर्नु पक्कै सुखद कुरा होइन् । सुखद नभएपनि वर्षनी चामल आयातको मात्रा बढ्दै गएको तथ्याङ्क पढ्न र सुन्न हामी अभिषप्त छौं ।
१५ असारको अघिल्लो दिनसम्म पनि किसानले धान रोेप्न पाएका छैनन् । यसको कारण हो, आकाशे पानीको भरमा गरिन धान खेती । तीन दशक अगाडीको दीर्घकालिन कृषि कार्यक्रमको असफलता नै त होला अझै नेपाली किसानहरु घान रोप्ने बेला आकाश तिर हेर्न विवश छन् । किनभने आकाशबाट पर्याप्त पानी नआउँदासम्म उनीहरुको खेतमा रोपाईँ हुँदैन । उसका लालाबालासंगै उसको पनि हातमुख जोर्न कठिन हुने दिनु सुरु हुन्छ ।
यो वर्ष औसतभन्दा थोरै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । यद्यपि महाशाखाको पूर्वानुमानमा कति विश्वास गर्नेभन्ने पनि छ । किनभने केही दिन यता दैनिक जसो पूर्वानुमान महाशाखाको नाममा विज्ञप्ती निस्कने तथा उक्त विज्ञप्तीमा भारी वर्षा हुने खबर पढेर पानी पर्ने र रोपाईँ गर्ने कुरामा ढुक्क किसानलाई शायद त्यस्ता विज्ञप्ती आफ्नो विवशतामाथिको भद्दा मजाक लाग्न थालेको छ । हाम्रो मौसम विभागले यो दिनबाट मनसनु भित्रियो, अब देशभर भारी वर्षा हुन्छ भन्न थालेको हप्तौं वितिसक्यो तर अपेक्षित पानी परेको छैन र मध्य असार वित्न लाग्दा समेत किसानहरु खेतमा झर्न पाएका छैनन् ।
बारम्बार राजनैतिक परिवर्तनका लागि आन्दोलन भए । २०६२/६३ को आन्दोलन हुने बेला नेताहरुले भने, अब यो अन्तिम राजनैतिक आन्दोलन हो । अबका दिनमा हामी नागरिकको मुहारमा हाँसो, खुसी ल्याउने काम गछौं । हामीले पत्यायौं र आन्दोलनमा सहाभगी भयौं । राजतन्त्रको अन्त्य भए, देश विकासले फड्को मार्ने तथा संघीयताले हामीलाई अझ दु्रत गतिमा विकास गर्न सहयोग गर्न नेताहरुले बताईरहँदा हामीले उनीहरुका कुरा पत्यायौं । संघीयता कार्यान्वयन संगै तीन तहका सरकार बने । स्थानीय सरकार त झन आफ्नै घर दैलोको थियो । हामीले ठान्यौं, स्थानीय सरकारले त कृषिमा क्रान्तिका कार्यक्रमहरु ल्याउने छ । अब वर्षेनी अर्बौको चामल आयात गर्न नियतीबाट हामीले मुक्ति पाउने छौं । तर भैदियो,सोचे जस्तो हुन्न जीवन भन्ने अरुणा लामाको गीत जस्तो भयो, आम किसानको जीवन । उत्पादनमा वृद्धि गर्ने खालका कार्यक्रमहरु हाम्रो दैलोका सरकारको प्राथमिकतामा परेनन् । किसानलाई समयमा मल, विउर किटनाशक औषधी दिने । सिँचाई सुविधा विस्तार गर्ने । उत्पादित वस्तुको उपयुक्त बजारको व्यवस गर्ने तर्फ हाम्रा जनप्रतिनिधिको ध्यान नै गएन । गाउँ गाउँ र घरघरै पुगेका सडकले बजारबाट चामल, तरकारी लगाएतका वस्तु ल्याउन सजिलो त भयो तर बजारबाट चामल, तरकारी बोकेर आएको गाडीले बजार लाने कुरा भने केही पाएनन् ।
हरेक जसो सरकारले वर्षेनी किसानलाई अनुदान दिने गरेका त छन् तर त्यो अनुदान वास्तविक किसानसम्म पुग्नै पाउँदैन । त्यस्तो अनुदान सहर वा गाउँका टाठाबाठाले कुम्ल्याउन थाले जसले पतन्जलीको पाँच वर्ष पुरानो चामलको भात मिठो हुन्छ भनेर भारतदेखि चामल मगाएर भुजा ज्युनार गर्छन । राज्य संयन्त्रमा पहुँच भएका त्यस्ता व्यक्तिले अनुदान पाउने गरेका छन्, जो चामलको बोट कस्तो हुन्छ भनेर प्रश्न गर्छन् । जसलाई हिलो छुन घिन लाग्छ । जसले आली, गौडा र सामाहा भनेको चिनेको त के नामसम्म पनि सुनेको छैन । यो देखेका वास्तविक किसानलाई दश नङ्ग्रा खियाएर उत्पादन गर्ने जाँगर कसरी चलोस् र उत्पादन बढोस् ।
यसका साथै समयमा मल, बीउ उपलब्ध नहुने रोगका कारण पनि कृषिप्रधान हाम्रो देशको आयातको अधिक अंश चामल हुने गरेको हो । उत्पादनमा बृद्धि, आउँछ समृद्धि भन्ने नारा बनाएर मात्र हुँदैन किसानलाई समयमा मल तथा बीउ उपलब्ध गराउने र मुल कुरा सिँचाईको राम्रो प्रवन्ध गर्ने तथा उत्पादित वस्तुको सहज बजारको व्यवस्था गर्ने काम राज्यले गर्न नसक्दासम्म चामल आयातको नियती हामीले भोगी रहनु पर्छ ।
गत वर्ष १५ असारको अवसरमा सामाजिक सञ्जालमा घाँटीमा धानको बीउको माला लगाएर मपाईँ भावमा उभिएका अनि भव्य महलभित्र गमलामा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका दलका नेतााहरुका तस्विरहरु सार्वजनिक भए । अझ रोप्ने बेलाको धानको बीउ माथि कार्पेट ओछ्याएर भव्य मञ्च बनाएर कार्यक्रम गरी धान दिवस मनाउने नेतृत्व पनि हामीले देख्यौं । गमलामा धान रोप्ने, घाँटीमा धानका बीउको माला लगाउने तथा रोप्ने बेलाको बीउ नष्ट गरेर धान दिवस मनाउने अनि आजको कार्यक्रम भव्य भयो भनेर गजक्क पर्ने नेतृत्व हुँदासम्म हाम्रो चामल आयातको नियति दोहोरिन्छ ।
२०६१ मंसिर २९ मा असार १५ लाई राष्ट्रिय धान दिवस मनाउने निणर्य गर्दैगर्दा शायद यस्ता निर्लज्ज तस्विर पोष्ट्याउने उद्देश्य राखिएको थिएन् । तर १५ असारको महत्व आत्मसाथ गर्न नसकेका र मन्त्री बनेपछि आफुलाई आमनागरिक भन्दा अलग र माथिल्लो दर्जाको नागरिक सम्झने हाम्रा नेतााहरुको सोचका कारण त्यस्ता दृश्यहरु नेपालीले देख्न अभिषप्त भए । के त्यस्तै कृयाकलापले धान उत्पादनमा बृद्धि भएर आत्म निर्भरता र समृद्धि प्राप्त हुन्छ ?
केही वर्ष अगाडिसम्म मकैका भात वा कोदोको ढिँडो खाएर पनि आम नेपाली छाक टार्ने गर्दथे । तर अहिलेको अवस्था त्यस्तो छैन । सुगरका कारण धानको भात खान नहुनेहरु वा सोखले खाने बाहेक कोही पनि मकैको भात वा ढिँडो खान तयार छैन । सुलीमा भएको मकै अनि भकारीमा भएको कोदो बचेर हामीलाई भात खानु छ । त्यसैले धान हाम्रो प्रमुख खाद्यान्न बाली हो । यसको उत्पादन बढाउन सक्दा हाम्रो विदेशी मुद्रा संचिती त बढ्छ नै प्रमुख कुरा खाद्यान्नमा आत्म निर्भर हुन सक्दा आर्थिक विकासमा समेत टेवा पुग्नेछ । धान दिवसको शुभकामना ।

Related posts

महासचिव एण्टोनियो गुटेरेसको नेपाल भ्रमण

admin

उपभोक्ता सचेत बनौं

Deepak Joshi

वर्ष २०७९ लाई फर्केर हेर्दा

admin