गल्बुवेसी/छाव्दी प्रवेशद्वार टोल विकास संस्था व्यास–१ गल्बुबेसीले २०८१ को एसइईमा ग्रेडेड टोल अन्तर्गतका पाँच विद्यार्थीलाई बधाई ज्ञापन तथा सम्मान गरेको छ ।
टोल विकास संस्थाबाट सम्मानित हुनेहरूमा निकेश सिंह गुरुङ, रेजिना लम्साल, मुनभिका गुरुङ, प्रनिशा श्रेष्ठ र सन्चिता अधिकारी रहेको संस्थाका अध्यक्ष रामजी तिमिल्सिनाले तनहुँ आवजलाई जानकारी दिए । तिमिल्सिनाका अनुसार एसईईमा सफल टोलका बालबालिकाको आगामी शैक्षिक यात्राको सफलता र सुन्दर भविष्यको कामना गर्ने उद्देश्यले बधाई तथा सम्मान कार्यक्रम राखिएको हो ।

व्यास नपा– १का वडाध्यक्ष रमेशचन्द्र हड्खलेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडाध्यक्ष हड्खलेले विद्यार्थीलाई सम्मानपत्र प्रदान गरेका थिए । टोल विकास संस्थाका अध्यक्ष रामजी तिमिल्सिनाले अविर र छाव्दीप्रवेशद्वार बालक्लवकी अध्यक्ष सुहाना श्रेष्ठले पुष्पगुच्छा प्रदान गरेर विद्यार्थीलाई बधाई ज्ञापन गरिएको टोल विकास संस्थाले जनाएको छ । बधाई ज्ञापन गर्दै प्रमुख अतिथी हड्खलेले एसईईमा ग्रेडेड विद्यार्थीको आगामी अध्ययनको सुखद् यात्रा सुरुवात भएको बताए ।
कार्यक्रममा शिक्षाविद् चिजकुमार श्रेष्ठ, टोल विकास संस्थाका अध्यक्ष रामजी तिमिल्सिना, गल्बुवेशी टोल सुधार आमा समुहकी अध्यक्ष सीता गोदार र छाव्दी प्रवेशद्वार बाल क्लवका अध्यक्ष सुहाना श्रेष्ठ लगायतले विद्यार्थीलाई अझ मेहनतको साथ अध्ययन गरी टोलको नाम उच्च राख्न आग्रह गरेका थिए ।
रामजी तिमिल्सिनाको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रमको सञ्चालन सचिव गणेश गरुङले गरेका थिए ।