दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँको आयोजना तथा आदिकवि भानुभक्त क्याम्पसको सह आयोजनामा प्रधानाध्यापक तथा शिक्षक नायकको गोष्ठी सम्पन्न भएको छ ।
क्याम्पस सभाहलमा आइतबार सम्पन्न गोष्ठीमा फागुन २२ र २३ मा हुन लागेको राष्ट्रिय युवा तथा जुनियर गोष्ठीका सम्बन्धमा छलफल भएको थियो । जुनियर सर्कल स्थापना दिवसको अवसर पारेर हुन लागेको ४२ औं राष्ट्रिय युवा तथा जुनियर गोष्ठी सफलता पूर्वक सम्पन्न गर्न विद्यालयहरुले गर्न सक्ने सहयोगका सम्बन्धमा समेत सो अवसरमा छलफल भएको थियो ।
![](https://tanahunawaj.com.np/wp-content/uploads/2025/02/aadikabi.jpg)
व्यास नपाका प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यमा भएको गोष्ठीमा परिवर्तित जुनियर/युवा निर्देशिकाको विषयमा जानकारी गराउनुका साथै सर्कल सुदृढिकरण, समावेशिता तथा जलवायु परिवर्तन लगाएत विषयमा सामान्य छलफल भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिधि न्यौपानेले जुनियर तथा युवाको राष्ट्रिय स्तरको गोष्ठी तनहुँमा गर्न पाउनु गौरवको विषय भएको उल्लेख गर्दै सफलता पूर्वक गोष्ठी सम्पन्न गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताए । न्यौपानेले नपाको तर्फबाट कार्यक्रमको लागि आवश्यक पर्ने सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
नेपाल रेडक्रस सोसाईटीका जिल्ला शाखा तनहुँका सभापति प्राडा कृष्णप्रसाद गौतमको अध्यक्षतमा आयोजित गोष्ठीमा आदिकवि भानुभक्त क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, नेरेसो गण्डकी प्रदेशका महासचिव रामदक्त पौडेल, तनहुँको उपसभापतिद्धय नारायणी अधिकारी, कमलभक्त पोखेल, मन्त्री सूपचन्द्र हड्ङ्खले, गोष्ठीको आर्थिक समितिका सदस्य विष्णुभक्त न्यौपाने, शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोखेल, सत्यवती माविकी प्रअ पुष्पकला भट्टराई लगाएतले बोल्दै गोष्ठीको सफलताको कामना गरेका थिए ।