आज माघ ११ गते विहिबार पौष शुक्ल पूर्णिमाको दिनबाट स्वस्थानी ब्रत प्रारम्भ भएको छ । एक महिना चल्ने यो ब्रतमा ब्रतालु महिला हरेक दिन तन र मनले शुद्ध भएर स्वस्थानी देवीको पुजा आराधना गर्दछन् र एकतिस अध्यायमा समेटिएको स्वस्थानी कथा वाचन गर्ने वा अरुलाई वाचन गर्न लगाएर सुन्ने गर्दछन् । भनिन्छ, स्वस्थानी कथा सके ब्रतालु महिला स्वयम्ले वाचन गर्नुपर्छ यदि उनले नसक्ने भए अर्काे कुनै महिलाले वाचन गर्नुपर्छ । सुन्दा सामान्य लाग्छ तर यो कथा महिलाले वाचन गर्नुपर्छ भन्ने कुरा भित्र लुकेको चेतना वास्तवमै प्रशंसा योग्य छ ।
किनभने महिलाहरुले शिक्षा ग्रहण गर्ने मौका समेत नपाउने समयमा आज भन्दा हजारौं वर्ष अगाडि बुनिएको यो कथा महिलाले नै वाचन गर्नुपर्छ भन्नु भित्र महिला पनि पढ्न पाउनु पर्छ÷शिक्षित हुनुपर्छ भन्ने महत्वपूर्ण सन्देश रहेको बुझ्न कठिन छैन ।
माथि नै भनियो, यो कथा आजभन्दा हजारौं वर्ष अगाडि लेखिएको हो। र स्वाभाविक छ, त्यतिबेला लेखिएको कथा चेतनाको स्तर हजारौं गुणा बढेको बर्तमानसंग परिवेश नमिल्ने खालको छ । सात वर्षकी गोमाको ७० वर्षको वृद्धसंग भएको विवाहको प्रसंग स्वस्थानीमा छ । त्यस्तो अनमेल र बाल विवाह अहिले कल्पना गर्न सकिँदैन तर मानिसले आफ्ना सिमाहरु भुल्नु हुँदैन, अभिमानले मानिसलाई पतनको मार्गमा लैजान्छ भन्ने सन्देश स्वस्थानी कथामा दक्ष प्रजापतिको पतन तथा चन्द्रावतीले प्राप्त गरेको दुःख मार्फत कथा वाचक र श्रोताहरुसम्म पुग्ने अपेक्षा गर्न सकिन्छ, जुन यसको अर्काे महत्वपूर्ण पाटो हो ।
स्वस्थानीमा छोराछारी र परिवारको लालनपालन र शिक्षा दिक्षाका लागि आवश्यक रकमको जोहो गर्न विदेशिन र दुर्भाग्यवश उतै मृत्यु वरण गर्न पुगेको युवाको कथा मात्र छैन विपन्न परिवारलाई हाम्रो समाजले गर्ने हेलाँ होचोको सजिव चित्र पनि छ । अनि परस्त्रीमाथी गिद्धे दृष्टि लगाउनेहरु दण्डीत हुन्छन भन्ने दृष्टान्त पनि छ । स्वस्थानीमा रहेका हरेक कथा प्रसंग आँखा चिम्लेर विश्वास गर्ने अनि यो कथामा नकारात्मकता र पूरातन विचार मात्र देख्ने गरी दुइ विचार समूहमा नेपाली समाज विभाजित भएको देखिन्छ ।
तर न त स्वस्थानीका सम्पूर्ण कथा प्रसंग आँखा चिम्लेर विश्वास गर्न लाएक छन् नत यो कथामा रहेका सम्पूर्ण कुरा त्याज्य छन् । नवराजलाई हात्तीले माला लगाएर राजा बनाएको कुरा कथामात्र होला तर त्यस अघि नवराजले आफ्ना बाबुका प्रति देखाएको श्रद्धाभाव के हाम्रो समाजका लागि÷वर्तमान पुस्ताले नवराजबाट लिनु आवश्यक छैन र ? नवराजका बाबु, छोरा र श्रीमतीको सुखका लागि विदेश पसेको कुरा अनि उनको उत्तै मृत्यु भएको कुरा पनि वर्तमानको कटु यथार्थ होइन ?
स्वस्थानीका राम्रा पक्षहरुको अवलम्बन गर्दै नेपाली समाजमा अभिमानी, छुद्र र आमा बाबुको अनादर गर्ने पुस्ता बन्नबाट जोगाउन सकिन्छ । महिला शिक्षाको महत्व आत्मसाथ गर्न सकिन्छ । यही हो, स्वस्थानी कथाको महत्व ।
स्वस्थानी माहात्म्य
previous post